पाल्पाको माथागढी गाउँपालिका वडा नं. ४ झडेवाकी रिता बराललाई यति बेला काफल टिप्न र बिक्री गर्न भ्याइनभ्याई छ। आफ्नै बारीका कान्लामै काफलका प्रशस्त बोट उम्रिएकाले उनलाई काफल टिप्न जंगल जानु पनि पर्दैन।
केही वर्ष पहिले उम्रिएका बोटलाई हुर्काएकी रिताले चारपाँच वर्षदेखि नियमित आम्दानी लिन थालेकी हुन्।
‘बारीका कान्ला र डिलमा १०/१२ वटा काफलका बोट छन्, तिनै बोटमा फलेका काफल टिपेर बिक्री गर्छु,’ उनले भनिन्।
गत वर्ष ३० हजारभन्दा बढीको काफल बिक्री गरेकी उनले यस वर्ष ५० हजार बढीको काफल बिक्री गर्न सकिन्छ कि भन्ने आश लिएकी छन्।
फागुनको अन्तिम साताबाट टिप्न सुरू गरेको काफलबाट अहिलेसम्म ४० हजारसम्म आम्दानी गरेको उनले बताइन्।
‘एक दिन बिराएर चार पाँच पाथी काफल टिपेर बिक्री गर्न सकिन्छ,’ रिताले भनिन्।
वडा नं. ४ मकलेकी देवीसरा कामु पनि पछिल्लो दुई महिना काफल टिपेर बिक्री गर्नमै व्यस्त छन्। दैनिक दुई तीन पाथी काफल टिपेर बजार पुर्याउने देवीसराले यस वर्ष ३० हजारभन्दा बढी आम्दानी गरेको बताइन्।
‘चैत नलाग्दैबाट काफल टिपेर बेच्न थालेको हो, अझै १०/१२ दिन बिक्री गर्न सकिन्छ,’ देवीसराले भनिन्।
पानी पर्न थालेपछि नपाक्दै झर्ने र बोटमै बिग्रिन थाले पनि यसवर्ष चैत वैशाखमा पानी नपरेकोले राम्रो फल लागेको देवीसराले बताइन्। पहाडी क्षेत्रमा फागुन अन्तिम सातादेखि जेठसम्म काफल फल्ने सिजन हो। अहिले पहाडी क्षेत्रका वन जंगलमा पाकेका काफल तराईका बजारमा बिक्री भइरहेको छ।
तराईमा बसोबास गर्नेहरूले पहाडी क्षेत्रमा फल्ने मौसमी फलफूल तथा कन्दमूलहरू चाख मानेर खाने गर्छन्।
अर्कोतर्फ काफल टिप्ने र बिक्री गर्नेहरूको पनि घरखर्च चल्ने गरेको छ। माथागढी वडा नं. ४ का ज्ञानबहादुर कामु काफल बिक्री गरेरै बर्सेनि छोराछोरीको कपी किताब र नुन तेलको जोहो गर्न सजिलो भएको बताउँछन्।
‘एकदिनमा १०/१२ माना काफल टिपेर बिक्री गर्छु, त्यही पैसाले छोराछोरीलाई कपी किताब र स्कुलको ड्रेस किनिदिएँ, घरमा चाहिने नुन तेल किन्न पनि सजिलो भएको छ,’ उनले भने।
उनीहरूले टिपेको काफल गाउँमै व्यापार गर्नेहरूले खरिद गरेर बजार पठाउने गरेका छन्।
माथागढी ४ देउगिरमा पसल सञ्चालन गर्दै आएका बालकृष्ण न्यौपाने आफैले मात्र दुई महिनामा २५ लाखभन्दा बढिको काफल खरिद गरेर बुटवल पठाएको बताए।
‘फागुनको २२ गतेबाट काफल खरिद गरेर बुटवल पठाउन सुरु गरेको थिएँ, बैशाख २९ गतेसम्म २५ लाखको काफल बुटवल पुर्याएछु,’ उनले भने।
गाउँका किसानबाट खरिद गरेको काफल बुटवल, मुर्गिया, देवदहसम्म पुर्याउने गरेको बालकृष्णले बताए।
‘माथागढीको वडा नं. ४ मा मात्रै एक सय जति किसानले नियमित रूपमा काफल टिपेर ल्याउनुहुन्छ, यहाँ खरिद गरेको काफलमा १०/१५ रुपैयाँ नाफा लिएर बुटवल पठाउने गर्छु,’ उनले भने।
दैनिक दुई क्विन्टलदेखि पाँच क्विन्टलसम्म काफल खरिद गरेर बिक्री गर्ने बालकृष्णले बताए।
‘अहिलेसम्म एकै जनाबाट डेढलाख सम्मको काफल खरिद गरेको छु, ज्यामिरेकी कमला पौडेल क्षेत्रले एउटै बोटबाट ३६ हजारको काफल बिक्री गर्नुभयो, यो गाउँ काफलको लागि राम्रो मानिन्छ,’ बालकृष्ण भन्छन्।
माथागढी वडा नंं ४ झडेवा, देउगिर, मकले लगायतका गाउँको काफल मिठो र रसिलो हुने भएकोले मूल्य पनि राम्रो हुने गरेको बालकृष्णले बताए।
‘सिजनको सुरूमा एक मानालाई नै एक सय रुपैयाँमा खरिद गरेको थिएँ, अहिले उत्पादन धेरै भएकोले ६०/७० रुपैयाँमा एक माना किन्छु, बुटवल लगेर बिक्री गर्दा ८० देखि एक सय रुपैयाँसम्म पर्छ,’ उनले भने।
गाउँपालिकाले वडा नं. ४ लाई काफलको पकेट क्षेत्र घोषणा गर्ने तयारी गरेको छ।
गाउँपालिकाका प्रवक्ता समेत रहेका वडा नं. ४ का वडा अध्यक्ष शंकर दर्लामीले गाउँमा काफल उत्पादन राम्रो हुँदै गएकोले पकेट क्षेत्र घोषणाको तयारी गरिएको बताए।
‘अहिलेसम्म किसानहरूलाई प्रोत्साहित गर्न काफल टिप्न र संकलन गर्न क्यारेट उपलब्ध गराएका छौं, अब पकेट क्षेत्र नै घोषणा गरेर किसानहरूलाई थप आकर्षित गर्न सकिन्छ कि भनेर योजना बनाइरहेका छौं,’ वडा अध्यक्ष दर्लामीले भने।
वडा अध्यक्ष दर्लामीले किसानले बढी आम्दानी लिन सकून् भनेर काफलका बोटको संरक्षण गर्न सिकाउने गरेको बताए।
गर्मीयाममा फल्ने काफल स्वास्थ्यका लागि पनि राम्रो मानिने भएकोले काफल पाइने वडालाई पकेट क्षेत्र बनाएर उत्पादन बढाउने गाउँपालिकाबाटै योजना बनाइएको वडा अध्यक्ष दर्लामीको भनाइ छ।