मुस्ताङका स्याउबारी यतिबेला फूल फुलेर हिउँजस्तै सेताम्मे छन्।
स्याउका फूलझैँ कपाल फुलेकी मार्फाकी ७६ वर्षीया माइली लालचन आफ्नो स्याउबारी रेखदेख गर्दैछिन्। अचेल उनको मनमा एउटै कामना छ- यी स्याउका फूल नझरून्।
‘यसपालि स्याउमा फूल राम्रो फुलेको छ। पानी परेन भने पोहोरभन्दा धेरै स्याउ फल्छ,’ उनले भनिन्, ‘पोहोर झरीले फूल झार्यो। स्याउ धेरै फलेन। यसपालि पानी नपरे हुन्थ्यो।’
कृषि ज्ञान केन्द्र, मुस्ताङका प्रमुख प्रकाश बस्ताकोटीका अनुसार गत वर्ष मुस्ताङमा स्याउ उत्पादन २५ प्रतिशत घटेको थियो। यति धेरै उत्पादन घट्नु किसानले गरेको लगानी खेर जानु हो भन्ने उनको निष्कर्ष छ।
कृषि ज्ञान केन्द्रको रेकर्ड अनुसार आर्थिक वर्ष २०७८/७९ मा मुस्ताङमा ५८० हेक्टर जमिनबाट ६ हजार ५९९ मेट्रिक टन स्याउ उत्पादन भएको थियो। आर्थिक वर्ष २०७९/८० मा ५८५ हेक्टर जमिनमा ४ हजार ९७५ मेट्रिक टनमात्र उत्पादन भयो।
स्याउमा मात्र होइन, अरू बालीमा पनि उत्पादन घटेको छ। मुस्ताङमा आर्थिक वर्ष २०७८/७९ मा ३१२ हेक्टरमा आलु लगाइएकोमा ९ हजार ६०३ मेट्रिक टन उत्पादन भएको थियो। गत आर्थिक वर्षमा ३१५ हेक्टर जमिनमा ६ हजार ३६३ मेट्रिक टन मात्र आलु भयो।
माइलीका अनुसार बेमौसमी वर्षा र असिनाले स्याउको फूल त झार्ने गरेकै छ, बिरुवा सुक्ने समस्या हुन थालेको छ।
‘उहिले यस्तो (फूल झर्ने र बिरुवा सुक्ने समस्या) हुन्थेन। अहिले त रोग र कीरा कति लाग्छ कति! औषधि हाल्नुपर्छ। अचेल स्याउ फलाउन हैरान छ,’ उनले भनिन्।
मार्फामा मात्र होइन, पूरै मुस्ताङको खेतीमा किसानले अनेक संकट भोग्नुपरेको छ। यस्तो संकट उनीहरूले कहिल्यै कल्पना गरेका थिएनन्।
मार्फाकी माइलीजस्तै कागबेनीकी लक्ष्मी गुरुङको फार्ममा पनि स्याउबारी छ। आलुखेती छ। उवा, फापर लगायतका अन्न पनि लगाउँछिन्। उनको बारी र बगैंचामा पनि नयाँनयाँ संकट देखिन थालेको छ। संकटको उपचार भने फेला परेको छैन।
‘मुस्ताङमा न्यानो बढेर खेतीपातीमा संकट आउन थालेको छ। हिउँ पर्दैन, बेमौसमी वर्षा हुन्छ। यस्तो समस्याको समाधान हामीसँग छैन,’ उनले भनिन्।
मुस्ताङमा गएको फागुनचैतमा मात्र हिउँ पर्यो। हिउँ कम पर्ने र बर्खाको समयमा पानी धेरै पर्ने हुन थालेको छ। यसले गर्दा बालीमा कीराको प्रकोप बढेको किसानहरूको अनुभव छ।
मुस्ताङको कृषि उत्पादन उच्च गुणस्तरीय र स्वस्थकर मानिन्छ तर हरेका वर्ष उत्पादन घट्दो क्रममा छ। फलफूल, आलु र अन्न बालीका समस्या बढ्दो छ।
लक्ष्मी भन्छिन्, ‘मुस्ताङको कृषि जैविक विविधता प्रणाली नै लोप हुने खतरा आइसक्यो।’
मुस्ताङमा स्याउको विरुवा माघ–फागुनमा रोपिन्छ। वैशाखमा फूल फुल्छ। असोजमा स्याउ पाक्छ। उवा मंसिरमा रोपिन्छ। फापर साउनमा रोपेर असोजमा भित्र्याइन्छ। आलु वर्षको दुई बाली हुन्छ।
यी उत्पादनका लागि मुस्ताङले बजार खोज्नु पर्दैन। व्यापारीहरू बारीमै पुग्छन्। आन्तरिक पर्यकटहरूले घर लैजान किन्छन्। सबै खाले बालीमा रोगले सताउने गरेको मुस्ताङका कृषकको अनुभव छ। कीरामा बालीमा विषादी प्रयोग बढ्दै गएको छ। बाहिरबाट पोषक पदार्थ दिनुपरेको छ। समस्या रोगकीरा मात्रै होइन। बेमौसमी वर्षा, हिउँ पर्ने घट्दो क्रम र बढ्दो न्यानोपन किसानले समाधान गर्न नसक्ने समस्या हुन्।
त्यसैले विज्ञहरू भन्छन्, मुस्ताङको कृषिमा बढ्दो संकट किसानको काबुबाहिर छ।
नेपालमा सबैभन्दा धेरै पानी पर्ने मानिएको पोखरामा वर्षा हुने क्रम घट्दै जाँदा मुस्ताङमा बढ्दै छ।
वर्षा नहुँदा अहिले पोखराको आकाश धुवाँ र तुवाँलोले ढाकेको छ। हिमाल छेकिएको छ। पोखरामा वर्षा गराएर आकाश सफा राख्ने वायु हिमाल नाघेर मुस्ताङ पुगेको छ, उतै वर्षा हुन थालेको छ।
अत्यधिक चिसो हुने मुस्ताङ ‘चिसो मरूभूमि’ भनेर चिनिन्छ। हिमपात हुने तर पानी नपर्ने भएकाले ‘रेन स्याडो जोन’ मानिन्छ। चिसो मौसम र हिउँ मन पराउने बालीले मुस्ताङको माटो मन पराउँथ्यो।
अहिले यो प्राकृतिक अवस्था उल्टो देखिन थालेको छ। मुस्ताङका किसानको अनुभव जल तथा मौसम विज्ञान विभागको जोमसोम स्टेशनले पुष्टि गरेको छ।
सन् १९८१ देखि २०२२ सम्मको तथ्यांकअनुसार जोमसोमको तापक्रम वार्षिक शून्य दशमलव ००८२ डिग्री सेल्सियसले बढेको छ। यस अवधिमा वर्षा पनि वार्षिक ३ दशमलव ३४ मिलिमिटरले बढेको देखिन्छ।
नेपालका अन्य भूभागमा वर्षिक वर्षा घट्दै गएको देखिँदा मुस्ताङमा आश्चर्यजनक रूपमा वर्षा वृद्धि भएको जलवायु परिवर्तन विज्ञ जगदीश पराजुलीको भनाइ छ।
‘मुस्ताङ चिसो मरुभूमि हो। हिमपात घट्नु र तापक्रम बढ्नु हिमाली क्षेत्रका आमसमस्या हुन्,’ उनले भने, ‘नेपालका अन्य ठाउँमा वर्षा घट्दै गएका बेला मुस्ताङमा बढ्नु अनौठो छ।’
उनका अनुसार यस्तो समस्याले कृषि जैविक विविधता निमिट्यान्न पार्न सक्छ।
पराजुली संयुक्त राष्ट्रसंघको जलवायु परिवर्तन सम्बन्धी अन्तरसरकारी निकाय (आइपिसिसी) ले प्रकाशन गरेको छैटौं प्रतिवेदनका सहलेखक पनि हुन्।
मुस्ताङको मौसमी प्रणालीमा देखिएको परिवर्तनले नै बालीनालीमा संकट ल्याएको कृषि ज्ञान केन्द्र मुस्ताङका प्रमुख बस्ताकोटीको भनाइ छ। गत वर्ष वैशाखमा स्याउ फुलेकै बेला पानी धेरै परेर फूल र परागकण झारेको उनले बताए।
‘गत वर्ष वैशाखमा अत्यधिक बेमौसमी वर्षा भयो। अहिले पनि बेलाबखत पानी परेकै छ,’ उनले भने, ‘पानीले स्याउका फूलबाट परागकण बगाइदिन्छ। असिना पर्यो भने फूल झारिदिन्छ।’
बेमौसमी वर्षाले परागसेचन प्रक्रिया घटाउने र रोगकीराका प्रकोप बढाउने गरेको बस्ताकोटी बताउँछन्। प्रकोपमा परेको बिरूवाले राम्रो उत्पादन दिन सक्दैन।
आर्थिक वर्ष २०७७/७८ मा टुकुचेको करिब सय हेक्टर जमिनमा रोपिएको स्याउ अपेक्षितभन्दा आधा मात्र उत्पादन भयो। त्यसको कारण थियो ‘दादे रोग’ अर्थात् ‘एप्पल स्क्याप’।
टुकुचेमा रोग पहिचान गरेर उपचार हुँदै गर्दा अर्को वर्ष मार्फाका स्याउबारीमा त्यही रोग फैलियो।
आर्थिक वर्ष २०७७/७८ मा त्यही रोगले मार्फामा स्याउ उत्पादन आधा घटाएको बस्ताकोटीले बताए। उनका अनुसार दादे रोग ढुसीजन्य हो। जमिनमा पानीको मात्रा धेरै हुँदा र धेरै दिन आकाश नखुल्दा यो रोग लाग्छ।
वर्षा धेरै भयो भने मुस्ताङका स्याउबारीमा स्याउमा दादे रोग देखापर्छ। यसले सुरुमा पात नष्ट गर्छ अनि फल। यसले स्याउको आकार बिगारिदिन्छ। स्याउको बाहिरी भागमा खटिरा जस्तो दाग बनाउँछ।
मुस्ताङका स्याउबारीमा देखिएको दादे रोग नयाँ होइन। पहाडमा यसअघि नै देखिएको रोग हिमाली क्षेत्रमा सरेको हो। पहाडका कीराले पनि हिमाली क्षेत्रमा प्रकोप फैलाउन थालेका छन्।
नेपालको हिमालपारि बढेको न्यानोपन र वर्षासँगै दादे रोग भित्रिएको हो।
कृषि ज्ञान केन्द्रका प्रमुख बस्ताकोटीका अनुसार वर्षाले ढुसीजन्य रोग र तापक्रम वृद्धिले बालीमा शत्रुजीवको प्रकोप बढाएको छ।
हिमाली भेगमा फल्ने उच्च गुणस्तरीय र स्वस्थकर जौ, उवा र फापरमा ‘कटन बलुम’ र ‘फौजी कीरा’ ले दुःख दिन थालेको छ। न्यानोपन बढेकै कारण यी कीरा मुस्ताङमा सक्रिय भएका हुन्।
‘कीराले फुल कोरल्न तापक्रम पुग्नुपर्छ। चिसो ठाउँमा कीरा देखिनु तापक्रम बढेको सूचक हो,’ बस्ताकोटीले भने।
उनका अनुसार बालीमा रोगको बढ्दो प्रकोपसँगै विषादीको प्रयोग पनि बढेको छ। कृषि ज्ञान केन्द्रले किसानलाई विषादी प्रयोगको तालिका दिन थालेको छ।
मुस्ताङको स्याउखेती तल्लो भेगबाट माथिल्लो भागतिर सर्दै गएको छ। केही वर्षअघिसम्म स्याउ फल्ने गरेको तल्लो भागमा अहिले फल्न छाडेको छ। कृषि ज्ञान केन्द्रका अनुसार ५० वर्षअघिसम्म तल्लो मुस्ताङका कोबाङ, कुञ्जो लगायतका ठाउँ स्याउ खेतीका लागि उत्तम थिए। अहिले त्यहाँ स्याउ फल्दैन।
तल्लो मुस्ताङबाट मार्फा पुगेको स्याउले अहिले जोमसोम पार गरिसकेको छ। उपल्लो मुस्ताङमा स्याउ खेती हुन थालेको छ।
मुस्ताङमा स्याउ प्रबर्द्धन तथा अनुसन्धान गर्न २०२३ सालमा स्थापना भएको ‘अचार्ड कम नर्सरी मार्फा’ चारपटक नाम परिवर्तन गरेर अहिले ‘शीतोष्ण बागवानी विकास केन्द्र’ नामले क्रियाशील छ।
शीतोष्ण बागवानी विकास केन्द्रले स्याउको नर्सरी बनाउन र फार्म खोल्न हाल उपल्लो मुस्ताङमा जग्गा खोजेको प्राविधिक भीमसेन भण्डारी बताउँछन्।
‘जलवायु परिवर्तनले तल्लो मुस्ताङमा स्याउ उत्पादन घट्यो। स्याउमा अनेक समस्या आयो,’ उनले भने, ‘हामीले पनि नर्सरी र फार्म चलाउन उपल्लो मुस्ताङतिर जग्गा हेरेका छौं।’
मुस्ताङका किसानको दुःखमा सरकार उदासीन रहेको अगुवा किसान कर्मा गुरुङको गुनासो छ। घरपझोङ गाउँपालिका–५, ढुम्बाका किसान कर्माको स्याउबारी सम्भवतः मुस्ताङ जिल्लामा सबैभन्दा ठूलो हो। उनीसँग तरकारीखेती मौरीपालन र पशुपालन पनि छ।
जलवायु परिवर्तनले संकटमा परेका किसानलाई सरकारले राहत र क्षतपूर्ति दिनुपर्ने तथा वैकल्पिक व्यवस्था गर्नुपर्ने उनको माग छ।
‘पानी र असिनाले स्याउको फूल झारेर सोत्तर बनायो भने किसानलाई राहत दिनुपर्छ,’ उनको माग छ, ‘हिमालका किसानले गरेको दुःख सरकारले देख्न सक्नुपर्छ।’
कागबेनीकी उद्यमी लक्ष्मी गुरुङको पनि माग उस्तै छ।
‘नेपाल सरकार र विकसित मुलुकले जलवायु संकट भोगेका नेपाली किसानलाई क्षतिपूर्ति दिनुपर्छ,’ उनले भनिन्।
उनी गत वर्ष दुबईमा भएको जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप–२८) भाग सहभागी भएकी थिइन्। त्यहाँ उनले मुस्ताङका किसानले भोग्नुपरेको जलवायु संकटको विवरण सुनाएकी थिइन्।
‘हामीले गर्दा जलवायु संकट आएको होइन। यो संकट त धनी देशहरूले भोग्नुपर्ने थियो,’ उनी भन्छिन्, ‘उनीहरूले गर्दा हामीले दुःख पाएका छौं। क्षतिपूर्ति पाउनु हाम्रो अधिकार हो।’
कोप–२८ मा विकसित देशका प्रमुखहरूले संकटमा परेका समुदायलाई सहयोग गर्ने आश्वासन दिएका भए पनि कुनै सहयोग नपाएको उनको भनाइ छ।
‘हाम्रो सरकारले त मतलब राखेन भने अरूले झन् किन राख्थे र,’ उनले निराशा प्रकट गरिन्, ‘किसानले थातथलो छोड्नुपर्ने अवस्था आइसक्यो, कोही मतलब गर्दैन।’
मुस्ताङका किसान आफ्नो दुःखमा सरकारको साथको प्रतीक्षामा देखिन्छन्।