पोखराकी मीनाकुमारी गुरूङलाई ‘लाहुरेनी’ भनेर चिनिनु थिएन,आफ्नै पहिचान बनाउन चाहन्थिन्। अलि जान्ने भएदेखि नै उनले आफूभित्र एउटा सपना हुर्काइरहेकी थिइन्।
आफ्नो सपना छोडेर उनी ब्रिटिस लाहुरे श्रीमानसँग कहिले ब्रुनाई बस्नु पर्यो कहिले हङकङ। नौ वर्ष ती देश बसेपछि बेलायत पुगिन्। श्रीमानको पेन्सन भएपछि जापान गइन्। जापानमा काम गर्दै सात वर्ष व्यतीत गरिन्। त्यहीँ पनि आफूभित्र चुपचाप हुर्काएको सपना पछ्याउन पाएकी थिइनन्।
एकदिनको कुरा हो, एकजना जापानीले उनलाई मन बिझाउने गरी वचन लगाए। 'विदेशी भएर पनि जापानीजले जस्तो गर्छ’ भन्ने त्यही सानो वचनले जापानप्रति मिनाको मोह भंग भयो। उनी श्रीमान् र छोरासहित त्यहाँ पुगेकी थिइन्। बाबुछोरा पहिलै बेलायत फर्किएका थिए। उनलाई भने बेलायत जान कत्ति मन थिएन किनभने ब्रिटिस आर्मीकी लाहुरेनी भनेर चिनिनु थिएन।
उनको मनले भनिरहेको थियो- विदेशमा जति दुःख नेपालमा गर्ने हो भने त म राजा बन्छु नि! धेरैलाई रोजगारी पनि दिन सक्छु, यहाँ नोकर किन बसिराख्नु!
अनि मनमा वर्षौंदेखि गढेर बसेको सपना पनि मुर्झायो। त्यो सपना थियो- कृषि फार्म चलाउने।
‘नेपालमा एउटा कृषि फार्म होस् जहाँ सबै किसिमको खेतीपाती गर्न सकूँ, कृषि जैविक विविधताको नमुना देखाउन सकूँ,’ उनले केहीदिन अघि सेतोपाटीसँग भनिन्, ‘मेरो एउटा सपना थियो, इन्टिग्रेटेड फार्मिङको। भिरालो जमिनमा कृषि गरेर देखाउने सपना पालेको वर्षौं भएको थियो।’
मीना आफ्नो त्यही सपना साक्षात् गर्न जापानमा कमाएको १० लाख रूपैयाँ बोकेर पोखरा आइपुगिन्। त्यसपछि सुरू भयो 'लाहुरेनी' पहिचान बदलेर आफ्नै परिचय बनाउने उनको एक्लो संघर्ष।
केही दिनअघि उनले हामीलाई आफ्नो त्यही संघर्षको कहानी सुनाइन्।
लमजुङ कुम्लुङका नौबहादुर गुरूङ ब्रिटिस लाहुरे थिए। मीना पोखरामा कक्षा १० मा पढ्दै गर्दा नौबहादुरसँग उनको बिहे भएको थियो। त्यसपछि छोरा जन्मिए। उनी भने कहिले छोरा छोडेर कहिले लिएर श्रीमानसँगै विदेश गइन्। धेरै वर्ष धेरै मुलुक घुमीघुमी काम गरेपछि नौबहादुरले अवकास पाए। तर पनि उनी नेपाल फर्किने छाँटकाँट देखाएनन्। बरू बलायतमै सेक्युरिटी गार्डको काम खोजे। अझ जापान पुगे। छोराहरूले पनि विदेशमै बस्न रमाइलो माने।
उनीहरूकै पछि लागेर त आफ्नो सपना पूरा हुन्न भन्ने मीनालाई लाग्न थालिसकेको थियो।
‘महिलाले बच्चा पेटमा बोक्नै पर्यो। जन्माउनु, हुर्काउनु पर्यो। पढाउनु पर्यो। श्रीमतीको कर्तव्य छँदैछ,’ उनले भनिन्, ‘आफ्नो सपना पछ्याउने निर्णयमा पुग्न मलाई धेरै समय लाग्यो। पछि त खोला थुनेर रोक्न सकिँदैन, आफ्नो बाटो लिइहाल्छ, भनेजस्तै भइहाल्यो।’
कृषक बन्ने सपना लिएर उनी जापानबाट आएको १४ वर्षअघि हो।
झ्याम्मै कृषि कर्ममा लाग्नुअघि उनले एक दर्जनजति कृषि फार्मको अवलोकन भ्रमण गरेकी थिइन्। अधिकांशमा मल व्यवस्थापनमा कमजोरी देखिन्। त्यसमाथि किसानहरू घाँस खेती नै गर्ने रहेनछन्।
जापानमा उनी बसेको ठाउँ त्यहाँको सरकारले कृषिका लागि छुट्याएको प्रदेश थियो। उनले कृषिमा काम गरिनन् तर त्यहाँको कृषि फार्म देखेकी थिइन्। त्यहाँ जैविक विविधता त थिएन तर व्यवस्थित तरिकाले खेती गरेको देखिन्थ्यो। उनले आफ्नो सपनालाई पनि त्यसरी नै व्यवस्थित गर्ने सोचेकी थिइन्।
उनका केही साथीहरू अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मा काम गर्थे। साथीहरूसँग कृषिको कुरा गरिन्। इन्टरनेटमा कृषिसम्बन्धी खोजी गरिन्। कृषि विज्ञहरूसँग छलफल गरिन्।
त्यसपछि उनले पोखराको हेम्जामा २५ रोपनी जमिन भाडामा लिइन् र उच्च प्रोटिनयुक्त डाले र भुइँ घाँस रोपेर कृषियात्रा सुरू गरिन्।
घाँस उनले यसै रोपेकी थिइनन्। घाँस खुवाउने वस्तुभाउ किन्ने उनको योजना थियो। पशुपालक कृषकले पनि घाँसखेती गर्ने चलन कम छ। उनलाई भने वस्तुभाउको लागि चाहिने घाँस खेती आफै गर्नुपर्छ भन्ने बोध भइसकेको थियो। जसै घाँस काट्ने हुन थाल्यो उनले ७ लाख खर्चेर भैँसीहरू किनिन्।
‘एक मुठी गुणस्तरीय घाँसले एउटा बाख्रो अघाउन सक्छ, एक पाँजो घाँसले गाईभैंसीको पेट भरिन्छ भनेर धेरै किसानलाई थाहा छैन,’ उनले भनिन्, ‘मैले भने पहिला घाँस रोपेर भैँसी किनेँ।’
केही वर्षमा उनले भाडामा लिएको २५ रोपनी जमिनमा भैंसीपालन र कृषिबाट नाफा कमाउन थालिन्।
नाफाको पैसाबाट पोखरा महानगर–२५, झिझिर्कामा ३० रोपनी भिरालो जमिन सहितको डाँडा किनिन्। जमिनमा साँघुरा पाटा थिए। ती पाटा अलिक फराकिला पारिन्। भैँसीगोठ, बाख्रागोठ र टनेलसहितको खेती उनले कल्पना गरेकी थिइन्।
अनि त्यहाँ जैविक विविधता झल्कने खेतीको डिजाइन गरिन्।
त्यहाँ पनि सुरूमा उनले घाँसै रोपिन्। करिब ३० हजार रूपैयाँमा विविध प्रजातिका घाँसका विरूवा किनेकी थिइन्। प्रोटिन र भिटामिनको मात्रा मिलाउने गरी घाँसका बिरूवा छनौट गरेकी थिइन्।
घाँस हुर्किन करिब चार वर्ष लाग्यो। २०७४ सालमा झिझिर्कामा गोठ बनाउन थालिन्। आफ्ना लागि सानो घर बनाइन्। तरकारी खेतीका लागि टनेल बनाइन्। फलफूलका विरूवा रोपिन्। कुखुरा पालिन्। रैथाने मौसमी बाली त छँदैछ।
उनी कुनै पनि रासायनिक मल प्रयोग गर्दिनन्। भैंसी र बाख्राको मल साथै गड्यौलाले बनाउने मल प्रयोग गर्छिन्।
उनको बारीमा बहुप्रजातिको खेतीका अतिरिक्त डिलमा सयपत्री फूल पनि छन्। सिस्नो झ्याङ छ। मकैबारीमा आलु र लट्टे छन्।उनका अनुसार यी सबै बालीका आआफ्ना विशेषता छन्, एकले अर्को बिरूवालाई सहयोग गर्ने खालको।
‘हाम्रो सबै खेती प्रणाली एउटा इकोसिस्टममा चलेको छ। एउटाका लागि अर्को परिपूरक छ। सबै खेतीपाती अर्गानिक गर्छौं। बिउ रैथाने छ,’ मीना भन्छिन्, ‘विषादी पनि जैविक नै हुन्छ। वातावरणमा असर नपुर्याउने हाम्रो उद्देश्य हो।’
उनले सुरूमै रिसर्च गर्न हिँड्दा धेरै किसानको गोठबाट चौपायाको पिसाब बगेर खेर गएको देखेकी थिइन्। मलखाद पनि खुला आकाशमुनि थिए। आफूले त्योभन्दा अघि गरेको रिसर्चका आधारमा उलाई लागेको थियो, यसरी राखेको मलको नाइट्रोजन हावामा उडेर नष्ट हुन्छ, फस्फोरस बगेर खेर जान्छ।
यो गल्ती उनले आफ्नो गोठमा हुन दिने कुरै भएन। उनले अहिले मल ड्रमभित्र राख्छिन्। पशुचौपायाका पिसाब बगेर खेर नजाने व्यवस्था मिलाएकी छन्। त्यो पिसाब र मल आवश्यकता अनुसार प्रयोग हुन्छ। बालीमा कीरा लाग्दा चौपायाको पिसाबबाट जैविक विषादी बनाउँछिन्।
भैंसीको मल र बारीबाट निस्कने जैविक फोहोर गड्यौलालाई दिन्छिन्। गड्यौलाले खाएर निस्केको मल अति उपयोगी हुन्छ भन्ने उलाई थाहा छ। त्यस्तै उनले गोबरबाट ग्यास पनि निकालेकी छन्।
अहिले उनको फार्ममा दूध दिने जातका ७० वटा बाख्रा छन् तीनमध्ये हाल ५० वटाले दूध दिन्छन्। बाख्राको दूधबाट चिज बनाउँछिन्। एउटै बाख्राले दिनको दुई लिटर दूध दिन्छ। लेकसाइडका ‘भेगन’ रेस्टुरेन्ट उनका ग्राहक हुन्।
हाल सात वटा भैंसी छन्। भैंसीको दूध, घिउ, मोही सबैको माग छ। भैंसी पाल्नुको मुख्य उद्देश्य चाहिँ मलका लागि पर्याप्त गोबर जम्मा गर्नु हो।
हाल घाँसका लागि बारीभरि रोपेको किम्बु पाकेको छ। किम्बुबाट जाम र जेली बनाउँछिन्, किम्बुकै ‘होममेड वाइन’ पनि बनाउँछिन्। उनी रेशम खेती गर्ने योजनामा पनि छिन्। रेशम कीरा पाल्न किम्बुको बोट चाहिन्छ।
उनले सकेसम्म रैथाने बाली लगाएकी छन्। सबै बिरूवा रैथाने छन्। काब्रो पनि रोपेकी छिन्। पशुचौपायालाई काब्रोको घाँस खुवाउँछिन्। कोपिलाबाट आफ्ना लागि अचार बनाउँछिन्। कोइरालो पनि छ। आफूलाई अचार र वस्तुलाई घाँस काम लाग्छ।
मीनाले बारीमा सुन्तला, अम्बा, एभोकाडो र आँप रोपेकी छन्। सिताके च्याउ लगाएकी छन्। च्याउ चिसो राख्न टेन्टभित्र एसी जडान गरेकी छिन्। टेन्टमै कुलर राखेकी छिन्। हाल सात हजार मुढामा सिताके च्याय लगाएकी छन्। उनको सबैभन्दा ठूलो लगानी सिताके च्याउमै छ।
‘च्याउमा मात्र अहिलेसम्म ७० लाखरूपैयाँ लगानी भइसक्यो। आम्दानी दिन थालेपछि दुई वर्षमा लगानी उठ्छ। बजारमा सिताके च्याउको माग राम्रो छ, मूल्य पनि राम्रो छ,’ उनले भनिन्।
हिउँदको सुख्खामा पशुचौपायालाई पौष्टिक हरियो खुवाउन उनले झ्याउ जस्तै देखिने ‘एजुला डक्यु’ नामको घाँसको खेती गरेकी छन्।
यो बिरूवा पानीमाथि तैरिएर हुकिर्ने हुन्छ। उनले एउटा सानो पोखरीमा यो घाँस हुर्काएकी छन्। यो बिरूवाले हावाबाट नाइट्रोजन लिन्छ। प्रोटिनको मात्रा अत्यधिक हुन्छ। यसलाई उनी दानाको रूपमा प्रयोग गर्छिन्।
मीना सबै आवश्यक वस्तुहरूको आफै खोजी गर्दै आफै जोहो गर्दै कृषि कर्ममा लागेकी छन्। कहिलेकाहीँ सरकारी मान्छे उनको काम हेर्न आउँछन् र फोटो खिचेर लैजान्छन्।
‘सरकारले कृषि जैविक विविधताको अभ्यास गर्दैन, गर्नेलाई प्रोत्साहन पनि गर्दैन,’ उनी भन्छिन्, ‘सरकार यहीँ आएर हेर्ने हुन्, फोटो खिचेर पोस्ट गर्ने हुन्।’
सरकारले कृषिमा जोड दिने कुरा गरे पनि पशुपालन गर्नेले घाँसको खेती पनि गर्नुपर्छ भनेर नसिकाएकामा उनलाई चित्त बुझेको छैन।
‘न घाँसखेती सिकाउँछ न बालीनालीका रोग नियन्त्रण र मल व्यवस्थापन गर्न सिकाउँदैन। प्रविधि त झन् परको कुरा,’ उनले भनिन्।
कृषि विज्ञहरू उनलाई रासायनिक मल प्रयोग गर्न र रैथाने बिउको सट्टा हाइब्रिड बिउ प्रयोग गर्न सुझाब दिन्छन्। मीना यस्तो सुझाबलाई फाल्तु ठान्छिन्।
‘केही समय उत्पादन बढाउला तर दीर्घकालीन हुँदैन। हाइब्रिडमा आफैले बिउ बनाउन मिल्दैन। हाइब्रिड बनाउने पनि रैथाने बिउबाटै हो,’ उनी भन्छिन्, ‘हाम्रो रैथाने बिउ बदलिँदो हावापानी अनुकूल छ, स्वास्थ्यलाई फाइदा त कतिकति।’
झिझिर्कामा गरेको खेतीलाई उनले ‘माया इको भिलेज एकीकृत कृषि फार्म’ नाम दिएकी छन्।
उनको फार्ममा दुईवटा टनेल च्याउका लागि र सात वटा टनेल वटा गोलभेंडाका लागि छन्। बिरूवा उत्पादन गर्न आफ्नै नर्सरी छ। यसका लागि छुट्टै टनेल छ।
उनका अनुसार कृषि फार्ममा हालसम्म चार करोडरूपैयाँ लगानी भएको छ, टनेलमा मात्र तीन करोड। उनले यति ठूलो लगानी एकैपटक गरेकी होइनन्। यहाँसम्म आइपुग्न उनले हजारौं पाइला यात्रा गरेकी छन्। परिवारबाट आर्थिक सहयोग लिएकी छैनन्। जापानबाट ल्याएर हेमजामा रोपेको १० लाखरूपैयाँ फुल्दैफल्दै बढेको उनले बताइन्।
‘एकैचोटी झ्याम्म चार करोड लगानी गरेको होइन नि! पहिले जग्गा किनेँ, त्यसपछि घाँस रोपेँ, घाँस हुर्केपछि, बाख्रा पाल्न थालेँ, फलफूल लगाएँ,’ उनले भनिन्, ‘स्टेप बाइ स्टेप यहाँ आइपुगेको हो। अझै धेरै टाढा पुग्नु छ।’
हाल उनलाई कृषि फार्मबाट वार्षिक सरदर २० लाख रूपैयाँ आम्दानी हुन्छ। खर्च पनि ठूलै छ। फार्ममा दैनिक सात जनाले काम गर्छन्। सिजनमा त दैनिक ५० जनासम्म पनि हुन्छन्। अझै दुई वर्षपछि मात्र नाफा सुरू हुने उनले बताइन्।
उनका अनुसार कृषिका लागि सूर्यको प्रकाश सिधा पर्ने ठाउँ चाहिन्छ। पहाडमा कता फर्केको पाखो छ, त्यो ख्याल गर्नुपर्छ।
उनी भन्छिन्, ‘नेपालको मान्छेले सितिमिति माइक्रो क्लाइमेट वास्ता गर्दैन। एकैचोटी कृषि गर्छु भनेर आउँदा गर्ल्यामगुर्लुम ढल्छ।’
यसरी उनी अहिले कृषि विविधतामा आफै ‘विज्ञ’ सरह बनेकी हुन्। केही सरकारी कार्यक्रममा तालिम दिन पनि गइन्। अब त्यस्ता किसानलाई आफ्नै फार्ममा ल्याएर प्रयोगात्मक विधिबाट सिकाउने योजनामा छिन्।
कृषक अत्यन्त संवेदनशील हुनुपर्ने मीना बताउँछिन्। उनका अनुसार पहिला प्यासन (धैर्य) चाहिन्छ अनि आफूले गर्न चाहेको खेतीबारे जानकारी लिनुपर्छ।
एकैचोटी धेरै गर्ने होइन, बिस्तारै बढाउँदै जानुपर्छ। निरन्तर हेरचाह गर्नुपर्छ।
‘ढुसी लाग्यो, कीरा लाग्यो भने बाली एकै दिनमा सखाप हुन सक्छ, एक दिन पनि छाड्न हुँदैन,’ उनी भन्छिन्, ‘छोराछोरी हुर्काए जस्तै हो बालीनाली पनि।’
उनको फार्मसँगै एउटा सामुदायिक वन जोडिएको छ। यसले उनलाई फाइदा भएको छ।
‘कृषि फार्मको नजिक वन हुनु राम्रो हो। जंगलबाट चराचुरूंगी आओस्, वन्यजन्तु आएर फार्ममा घुमोस्,’ उनी भन्छिन्, ‘फार्मका कीराफट्यांग्रा चराले खान्छ, जनावर हिँड्दा फार्मको माटो राम्रो हुन्छ। वनको शक्ति हाम्रो फार्ममा आइपुग्छ।’
बर्खायाममा उनको फार्ममा जुगा लाग्छ। उनका अनुसार जुगा माटाको स्वास्थ्य थाहा पाउने ‘इन्डिकेटर’ हो। जुगा हुनुको अर्थ माटाको स्वास्थ्य राम्रो हुनु हो।
उनले ‘फार्म स्टे’ को अवधारणा पनि ल्याएकी छन्।
पर्यटकीय सहर पोखरा आउने पर्यटकलाई फार्ममा आकर्षित गर्न फार्म स्टेको अवधारणा ल्याएकी हुन्।
उनी चाहन्छिन्– यहाँबट पर्यटकले अन्नपूर्ण हिमशृंखला हेरून्; जे खान मन लाग्छ, बारीबाट आफै टिपेर ल्याऊन्, माटोमा खेलून्।
कृषिविज्ञहरूपनि मीनाले गरेको जस्तो कृषि जैविक विविधता प्रणाली नै अबको कृषिको भविष्य हो भन्ने रहेछन्।
‘जैविक विविधता, अनुसन्धान तथा विकासका लागि स्थानीय पहल (लिबर्ड)’ का कार्यक्रम निर्देशक सन्तोष श्रेष्ठ खेतीपातीमा परम्परागत ज्ञान, बिउ, सिप र अनुभव महत्वपूर्ण हुने बताउँछन्।
हजारौं वर्षदेखिको हाम्रो ज्ञान र सिपबारे ध्यान दिन उनी सुझाउँछन्। रैथाने बालीबाट पनि उत्पादन बढाउन सकिने लिबर्डका कृषि विज्ञ श्रेष्ठको भनाइ छ।
‘हाम्रो वातावरणमा आइरहेको परिवर्तनका कारणले पनि कृषिमा विविधता आवश्यक परेको छ,’ उनी भन्छन्, ‘वातावरणका लागि मात्र होइन, खाद्य सुरक्षाका लागि अब विविधतामा नगई नगई सुखै छैन।’
‘फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन (एफएओ)’ की रक्षा शाह विश्वभरका कृषि वैज्ञानिक र अनुसन्धानकर्ता अबको भविष्य कृषि जैविक विविधतामा मात्र सुरक्षित रहेको निष्कर्षमा पुगेको बताउँछिन्।
‘एकले अर्काको परिपूरक हुने गरी खेतीपाती गर्न सकिन्छ। नेपालको परम्परागत खेती प्रणाली यस्तै थियो,’ उनी भन्छिन्, ‘हाम्रो परम्परागत खेती प्रणालीमा सुधार गरेर उत्पादन बढाउन सकिन्छ।’
वैज्ञानिक र अध्येताहरूका यस्तो निष्कर्ष र मीनाको कृषि कर्म ठ्याक्कै मिल्छ। यस्तो कुरा सुन्दा मीनालाई आफूले गरेको ठूलो सन्तुष्टि मिल्छ।
यस्तो लाग्छ- लाहुरेनी परिचय बल्ल बदलियो। बल्ल आफ्नो सपना पूरा भयो।
मीना अहिले अनुभवले कृषि जैविक विविधताकी ‘विज्ञ’ समान बनेकी छिन्। पशु–चौपायामा र तरकारीमा लाग्ने रोगकीराबारे जानकार भएकी छन्। उपचारको मौलिक तरिका जानेकी छन्। उनको कृषि फार्ममा सानोतिनो अनुसन्धान नै चलेको छ
पोखरामा किसान बनेर आउँदा उनी साह्रै कम बोल्ने स्वभावकी थिइन्। हेमजामा कहिलेकाहीँ सरकारी मान्छे आउँदा पनि उनी बोल्न रूचाउँदिन थिइन्।
जापानमा कपालको स्याहार गर्न नभ्याएर ‘ब्वाइज् कट’ काटेकी थिइन्। छिमेकीहरू खुसखुस गर्थे– जापानबाट के दशा लागेर यहाँ आएकी होली!
अहिले जनप्रतिनिधि र कृषि विज्ञले समेत उनको तारिफ गर्छन्।
पोखरा महानगर कृषि महाशाखा प्रमुख मनहर कडरिया मीनाकुमारीले कृषि जैविक विविधतायुक्त कृषि थालेदेखि नै उनीबारे चासो राखिरहेका छन्।
‘मीनाकुमारीले गर्नुभएको कृषि प्रणालीले रैथाने बालीको संरक्षण गर्छ, रैथाने ज्ञान र सीपको पनि संरक्षण हुन्छ, उनले भने, कृषिमा आत्मनिर्भर बन्नका लागि मात्र होइन, बिउ सुरक्षा र वातावरणका लागि पनि यस्तो प्रणाली अपनाउनुपर्छ ।’
सुख र सम्पन्न परिवारमा रहेकी मीनाकुमारीले कृषिमा लागेर उदाहरणीय कृषक बनेकी कडरियाको मूल्याङ्कन छ। स्वअध्यन र कृषिमा लाग्दालाग्दै कृषि प्राविधिक भन्दा बढी कृषिबारे उनी जानकार रहेको कडरिया बताउँछन्।
‘जंगलमा बाँदर मात्र छन्, अरू केही छैन भनेर निराशा बढेका बेला उहाँले नमुना ‘एग्रो बायोडाइभर्सिटी’ प्रमाणित गरेको देखाउनुभएको छ,’ उनले भने, ‘यो सानोतिनो साहस र लगावबाट सकिँदैन।’
मीनाकुमारीले गरेको कृषि कर्म देखेर पोखरा–२५ का वडाध्यक्ष मोती तिमिल्सिना पनि दंग छन्। महानगरमा भएका अरू कृषि फार्मभन्दा फरक तरिकाले उनी लागेको उनको ठहर छ। तिमिल्सिनाले उद्यमी बन्न चाहनेहरूका लागि मीनाकुमारी प्रेरणाको स्रोत बनेको बताए।
‘उहाँ (मीनाकुमारी) उद्यमीहरूको प्रेरणाको स्रोत हुनुहुन्छ, कृषिमा उहाँको लगाव देखेर हामीलाई पनि काम गर्न हौसला आउँछ,’ उनले भने, ‘आफुले जानेकार कुरा अरूलाई सिकाउनुहुन्छ, एकदम गहिरिएर कृषिमा लाग्नुभएको छ ।’
कृषिमा लाग्न चाहने युवालाई उनको फार्म हेर्न आफूले सिफारिस गर्ने गरेको उनले बताए।
‘काम गर्ने हो भने नेपालमै पनि सकिन्छ, विदेशिनुपर्दैन भन्ने उदाहरण उहाँ हुनुहुन्छ,’ उनले भने, ‘कृषि क्षेत्रमा देखिएको निराशा उहाँले चिर्नुभएको छ ।’
मीना कुमारी कृषिसम्बन्धी नेपाल सरकारको नीतिमा सन्तुष्ट छैनन्।
कृषिमा सरकारी अनुदान, कृषि नीति र किसानबीच कुनै सम्बन्ध नरहेको उनको अनुभव छ।
उनले एउटा अनुभव सुनाइन्।
उनलाई ८५ प्रतिशत अनुदानमा एउटा सोलार ड्रायर दिने खबर आयो। उनले १५ प्रतिशत मूल्य तिर्नुपर्थ्यो। उनी राजी भइन्। अनुदानमा लिएको सोलार ड्रायरको सरकारी मूल्य ६८ हजार रूपैयाँ भनियो, त्यसको १५ प्रतिशत तिरिन्। त्यही ड्रायरको बजारमूल्य ३५ हजार रूपैयाँ रहेछ। सरकारबाटै किसान कसरी ठगिन्छन् भन्ने उनले थाहा पाइन्।
उनले यो कुरा फार्म हेर्न आएका कृषिका एक कर्मचारीलाई भनिन्। ती कर्मचारीले सबैभन्दा सस्तो कोटेसन छानेर खरिद गरेको भनेछन्। उनी त्यो ड्रायर चलाउँदै छिन्। उनका अनुसार उनीसँगै लगेका कतिले बेचे, कतिको बिग्रेर थन्केको छ।
‘सरकारी अनुदानका सबै सामग्रीको कथा ड्रायरको जस्तै हो भन्ने मलाई लाग्छ,’ उनले भनिन्, ‘यो सबै कमिसनको खेल हो। सरकारमा बस्ने मान्छेलाई कमिसन मात्र चाहिन्छ। किसानलाई ज्ञान र प्रविधि चाहिएको छ।’
किसानलाई सरकारले सम्मान नै नगर्ने उनको ठहर छ। उनले विदेशमा भने कृषकको सम्मान उनीहरूलाई सरकारको साथ राम्रो भएको देखेकी छन्।
‘बेलायती सरकारले अर्गानिक खेतीमा लागेका किसानलाई लगानीको १५० प्रतिशत अनुदान दिन्छ। खाद्य वस्तु उत्पादन गर्नेलाई स्थानीय सरकारले अनुदान दिन्छ। विद्यार्थीले सिक्ने ठाउँ पायो भनेर शिक्षा मन्त्रालयले अनुदान दिन्छ। स्वास्थ्य मन्त्रालयले स्वस्थ खाद्य वस्तु उत्पादन गरेको भनेर अनुदान दिन्छ। सबै निकायले दिने यस्तो अनुदान जोड्दा लगानीको १५० प्रतिशत हुन्छ। यति अनुदान दिने सरकारी नीति नै हुन्छ,’ उनले भनिन्, ‘नेपालमा भने अनुदान दिएको अनेक शीर्षकमा ३० प्रतिशत रकम त सरकारले नै राख्छ। विभिन्न तहका सरकारलाई कर तिर्नुपर्छ। अनुदान लिएर केही फाइदा हुँदैन।’
त्यसैले आफूले सरकारको साथ सहयोग नलिइ आफ्नै बुतामा यत्रो कृषि फार्म चलाएको मीनाले बताइन्।
यो सबै एक्लै गरेपछि उनलाई लाग्छ कृषि कर्ममा एक्लै लाग्नु निकै कठिन काम हो। परिवारको भौतिक र भावनात्मक साथ सहयोग पाइलापाइलामा खड्किने गरेको छ। यस्तो सहयोग आफूले पाइरहेको उनी बताउँछिन्।
कहिलेकाहीँ मीनाका कान्छा छोरा उनलाई नेपालमा ‘दुःख’ नगर्न र बेलायत फर्किन आग्रह गर्छन्। तर माइला छोरा आमालाई आफ्नो इच्छाअनुसार काम गर्न दिनुपर्छ भन्छन्।
जेठाले नेपाल आएरै आमालाई सहयोग गरेका थिए। श्रीमान् नौबहादुर भने बेलायतै आऊ भनिरहन्छन्। उनी एकपटक मीनाको फार्म हेर्न भनेर नेपाल आएका थिए।
‘आम्मामा! कति काम गर्न सकेको हो, कसरी भ्याउँछ्यौ भनेर श्रीमान छक्क पर्नुभयो,’ उनले भनिन्, ‘त्यसपछि 'किन यति दु:ख गर्नु नगर न' भनिहाल्नु पो हुन्छ कि भनेर मेरो काममा इन्टरफेयर (हस्तक्षेप) नगर्नू, है भनिहालेँ मैले त।’
यसरी खेतीपाती गर्दा उनले नेपालमा कुनै दुःख अनुभव गरेकी छैनन्।
‘नेपालमा जस्तो नेचुरल लाइफ (प्राकृतिक जीवन) अरू देशमा कहाँ पाइन्छ र!’ उनले भनिन् ‘मलाई त यही हो सुख!’
मीना वर्षमा एकपटक बेलायत जान्छिन्। दुई साता जति बसेर फर्किन्छिन्। बेलायतमा भएका साथीहरू नेपालमा ‘दुःख’ नगर्न सुझाब दिन्छन्।
‘साथीहरू यति राम्रो दिमाग भएकी मान्छेले बेलायतमै काम गरेको भए महिनाको एकदुई लाख कमाइहाल्थ्यौ भन्छन्। हातखुट्टा पटपट फुटाएर आली–कान्ला गरेर हिँडेकी छ्यौ भन्छन्,’ मीना हाँस्दै सुनाउँछिन्, ‘म पनि के कम! तिमीहरूलाई लाहुरेनी भनेर आफन्तले मात्र चिन्छन्, मलाई आफ्नै कर्म गरेकी मान्छे भनेर धेरैले चिन्छन् भनिदिन्छु।’