लमही नगरपालिका–४, सेमरहवास्थित राप्ती नदीको बगरमा तरबुजा लटरम्म फलेको छ। कान्छी चौधरी धमाधम तरबुजा टिप्दै छिन्। तरबुजा लिन व्यापारी त्यही आइपुगेका छन्।
करिब १८ कट्ठा जमिनमा चौधरी परिवारले तरबुजा र तरकारी खेती गरेको छ।
वर्षातमा राप्ती नदीमा आउने बाढीले त्रासदी पैदा गरे पनि सुक्खा मौसममा राप्ती नदीको उकास क्षेत्र अर्थात् बगर स्थानीय किसानका लागि वरदान साबित हुने गरेको छ।
कान्छीका अनुसार उनको परिवारले तरबुजा र तरकारी खेतीबाट सालिन्दा चारदेखि पाँच लाखसम्म आम्दानी गर्ने गरेको छ। बगरमा यसरी खेती गर्नुलाई यहाँका किसनाहरू ‘बगर खेती’ भन्छन्।
बगरखेती नै उनको परिवारको आम्दानीको मुख्य स्रोत हो। वर्षामा ठूलो पानी पर्दा बाढी आउँछ, आसपासका बासिन्दालाई दिनुसम्म दुःख दिन्छ तर हिउँदमा बगरले जाँगर हुनेलाई राम्रो आम्दानी दिन्छ।
सेमरहवाकै राजबहादुर कुमालले पनि करिब पाँच कट्ठा बगरमा तरबुजा र तरकारी लगाएका छन्। खेतीले उत्पादन दिन थालेको छ। उनले यो वर्ष निकै राम्रो आम्दानी हुने अपेक्षा गरेका छन्।
‘जाँगर लगाएर काम गर्नेलाई यही बगरबाट पनि राम्रो कमाइ हुन्छ,’ राजबहादुर भन्छन्, ‘खेतीको समय र बगरमा फल्ने बाली चिनेर काम गर्दा राम्रो फाइदा हुन्छ।’
केही वर्षयता राप्ती तटीय क्षेत्रका किसानले बगरमा खेती गरेर निकै राम्रो आम्दानी लिने गरेको उनको भनाइ छ।
लमही नगरपालिका–६, बलरामपुरकी कुसुम चौधरीको परिवारले बगरखेती गरेर राम्रो आम्दानी गर्ने गरेको छ।
कसुमले यो वर्ष तरबुजा, लौको र फर्सी लगाएकी छन्। मकै पनि रोपेकी छन्। तरबुजा, लौको र फर्सीबाट आम्दानी हुन थालेको छ। मकै फल्ने बेला हुँदै छ।
उनलाई एकपटक जमिन भिज्ने गरी पानी परिदिए हुन्थ्यो भन्ने लागेको छ। पम्पिङ सेटबाट सिँचाइ गर्ने व्यवस्था छ तर आकाशको पानीले जमिन मजाले भिज्ने थियो, खर्च पनि जोगिने थियो भन्ने उनको कुरा छ।
‘पम्पिङ सेट त छ तर मोटर चलाउँदा खर्च लाग्छ। ठूलो पानी परे खर्च हुने थिएन,’ उनले भनिन्।
पम्पिङ सेटबाट सिँचाइ गरेरै पनि यस वर्ष कम्तीमा तीन लाख रुपैयाँ बचत हुने उनको अनुमान छ।
बगरखेती गर्ने यहाँका प्रत्येक किसान परिवारले सालिन्दा कम्तीमा दुई लाख रुपैयाँ आर्जन गर्ने गरेको कुसुमको भनाइ छ। वर्षातको समयमा राप्ती नदीमा आउने बाढीले तटीय क्षेत्रको जमिन डुबाउँछ। केही पनि उत्पादन हुँदैन। डुबेको जमिन हिउँदमा बगर हुन्छ। जाँगर हुनेलाई त्यही बगरमा तरबुजा र तरकारी खेती गर्दा छोटो समयमा राम्रो आम्दानी हुन्छ।
कुसुमका अनुसार नदीले छोडेको उकास जमिनमा सिँचाइ गर्न सजिलो हुन्छ। सुक्खा मौसममा तरकारीले बजार र मूल्य राम्रो पाउँछ।
‘यो सुक्खा समयमा बालुवामै फल्ने जातको तरकारी र अन्नको खेती गर्न जान्नुपर्छ,’ उनी भन्छिन्, ‘समय मिलाएर खेती गर्नेले एकै सिजनमा चारपाँच लाख रुपैयाँ आम्दानी गर्छन्।’
राप्ती तटीय क्षेत्रका सबैजसो किसानले अहिलेको सिजनमा बगरमा लौको, फर्सी, काँक्रो, भिन्डी, खुर्सानी खेती गरेका छन्। कतिपयले मकै पनि लगाएका छन्।
बगर क्षेत्र यति वेला हराभरा देखिन्छ।
लमही नगरपालिका र गढवा गाउँपालिकाका विभिन्न गाउँका करिब तीन सय किसान बगरखेतीमा लागेका छन्। उत्पादित तरकारी र तरबुजा बेच्न बजारको समस्या छैन।
धेरैजसो तरकारी बगरबाटै बिक्री हुन्छ। व्यापारीहरू गाडी लिएर आउँछन्,’ राजबहादुर भन्छन्, ‘अहिलेको गर्मीमा तरबुजाको माग धेरै छ। लमही र भालुवाङ बजारकै माग धान्न मुश्किल छ। बढी भयो भने घोराही र तुलसीपुरका व्यापारीलाई सम्पर्क गर्दा भइहाल्छ।’
कृषकलाई अनुदान
बगरखेती गर्ने किसानलाई स्थानीय तहहरूले अनुदान दिने गरेका छन्। किसानलाई तालिमको व्यवस्था पनि छ।
गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोखरेलका अनुसार वडा नम्बर ७ को मोतीपुर तथा वडा नम्बर ५ का धर्मपुर र पर्सिया गाउँका किसान बगरखेतीमा लागेका छन्।
‘बगरखेतीमा लागेका किसानलाई उत्पादनका आधारमा अनुदानको व्यवस्था गरेका छौं। तालिमको व्यवस्था पनि छ,’ पोखरेल भन्छन्, ‘अनुदान र तालिमबाट किसानहरू लाभान्वित भएका छन्। अझै मिहिनेत गर्ने ऊर्जा पैदा भएको छ।’
गढवा गाउँपालिकाले पाँच कट्ठाभन्दा बढी जमिनमा खेती गर्ने किसानलाई प्रतिकट्ठा पाँच हजारका रुपैयाँका दरले अतिरिक्त अनुदान दिने गरेको पोखरेलले बताए। उनका अनुसार चालु आर्थिक वर्षमा अनुदानका लागि पाँच लाख रुपैयाँ विनियोजन गरिएको थियो।
गढवा गाउँपालिकामा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हेफर इन्टरनेशनलको सहयोगमा ‘साझेदारी परियोजना’ कार्यान्वयन भएको छ।
यस परियोजनामा गाउँपालिकाको समेत योगदान हुने गरी हेफर इन्टरनेशनलले आठ करोड रुपैयाँ दिएको छ।
साझेदारी परियोजना अन्तर्गत बाख्रापालन, भैंसीपालन र तरकारी खेतीमा काम भइरहेको गाउँपालिका अध्यक्ष पोख्रेलले बताए। गढवा गाउँपालिकाले कृषि उत्पादन बिक्रीमा सहयोग पुर्याउन चालु आर्थिक वर्षमा ‘कृषि एम्बुलेन्स’ चलाएको छ।
एम्बुलेन्सले किसानका बाख्रा र तरकारी बजार पुर्याइदिन्छ। सिँचाइका लागि पनि किसानले सहयोग पाउँछन्। जोत्न हाते ट्रयाक्टर पनि दिने व्यवस्था छ।
लमही नगरपालिकाले पनि बगरखेती गर्ने किसानलाई बिउमा अनुदान दिने गरेको छ।
कृषि शाखाकी प्राविधिक गंगा चौधरीका अनुसार बगरखेती गर्ने किसानले बिउमा ५० प्रतिशत अनुदान पाउँछन्। लमहीका किसानले पनि बगरखेतीको तालिम पाउँछन्।
राप्ती गाउँपालिकाका वडा नम्बर ३ को वशन्तापुर, वडा नम्बर ७ का भानपुर र अर्नानपुर तथा वडा नम्बर ६ को बग्रापुर क्षेत्रका किसान बगरखेतीमा लागेका छन्।
यहाँका किसानले तरबुजा, लौको र बदामको खेती गरेका छन्।
राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्टका अनुसार गाउँपालिकाले कृषि कानून पारित गरेको छ र राजपत्रमा प्रकाशित हुने चरणमा छ। कानून कार्यान्वयन भएपछि अति विपन्न परिवार र मुक्त कमैया परिवार कृषिमा जोडिनेछन्।
राप्ती गाउँपालिकाका किसानले पनि बगरखेतीमा अनुदान पाउँछन्। टनेल बनाउन अनुदान छ।