किसानहरूलाई थाहा छ, बर्खे धानको तुलनामा चैते धानको उत्पादन बढी हुन्छ। तै पनि बर्खे धानको तुलनामा चैते धानको खेती साह्रै कम छ।
सिँचाइको सुविधा पुगेको खेतमा हिउँदे बाली उठाएर चैते धान रोप्न सकिन्छ तर किसानहरूले चैते धानको खेती झन्झटिलो मान्ने गरेको प्राविधिकहरूको अनुभव छ।
एक–दुई वर्ष मकै खेती छोडेर चैते धान रोपेका रूपन्देहीका केही किसान फेरि मकै खेतीमै फर्केका छन्।
देवदहका टंक पराजुलीले गत वर्ष दुई बिघा खेतमा चैते धान रोपेका थिए। यसमध्ये एक बिघा उनको आफ्नै खेत थियो, अर्को एक बिघा लिजमा लिएका थिए। उनले ८० क्विन्टल धान उत्पादन गरेका थिए।
यस वर्ष चैते धान रोपेनन्, मकै छरे। उनले धान नरोप्नुको मुख्य कारण स्याहार्ने बेलाको झन्झट नै हो।
‘बर्खे धानभन्दा त चैते धान राम्रो फल्छ तर स्याहार्ने बेलामा दुःख भयो,’ टंकले भने, ‘खेतमा धान पाकेर काट्ने बेला भएपछि पानी पर्न सुरू भयो। काटेको धान भिजेर खेतमै नष्ट भयो।’
काटेको धान भिजेपछि चामल टुक्रा हुने समस्या भएको उनले बताए।
उनले भने, ‘केही धान खेतमै उम्रिए पनि दुई बिघाबाट ८० क्विन्टल धान भित्र्याएका थियौं तर धान कुट्दा चामल टुक्रा भयो।’
उनले गत वर्ष चितवनबाट बिउ लगेर चैते धान रोपेका थिए। यस वर्ष कृषि ज्ञान केन्द्रले अनुदानमा बिउ दिए पनि उनले धान रोपेनन्।
टंकका भाइ तिलकले दुई वर्षअघि खेतमा लगाएको मकैमा दाना लागेन। अर्को वर्ष परीक्षणका रूपमा चैते धान रोपे। खेतमा पानी तान्ने बोरिङ मेसिन थियो, सिँचाइको समस्या भएन।
राम्रो हेरचाह गरे। धान पनि निकै राम्रो फलेको थियो तर दिउँसो काटेको धान उठाउन नभ्याउँदै राती पर्न थालेको पानीले १० कट्ठा खेत डुबाइदियो। यस वर्ष उनले त्यस्तो जोखिम लिने आँट गरेनन्, बरू मकै नै लगाए।
‘परीक्षण गरेर हेर्छु भन्ने ठानेर चितवनबाट बिउ ल्याएर चैते धान रोपेका थियौं। बाला राम्रो लागेको थियो। काटेकै दिन पानी परेर सबै डुबायो,’ उनले भने, ‘एक वर्ष मकैको दान लागेन, अर्को वर्ष काटेको धान उठाउन पाइएन।’
एक वर्ष दान नलागे पनि यसपालि मकै खेतीमै फर्केको उनले बताए। उनका अनुसार मकैका दाना नलाग्ने घटना एक वर्ष मात्रै भएको हो, धान त फेरि पनि नाश हुन सक्छ।
कृषि प्राविधिकका अनुसार बर्खे धानको तुलनामा चैते धानले सूर्यको ताप र प्रकाश पर्याप्त पाउँछ। गोडमेल, मल र सिँचाइ राम्रो हुँदा बर्खे धानको तुलनामा २० प्रतिशतसम्म बढी उत्पादन हुन्छ। बढी उत्पादन हुने भए पनि झरीको समयमा थन्क्याउनु पर्ने हुँदा निकै झन्झटिलो भएको र कहिलेकाहीँ थन्क्याउनै नपाएको किसानहरूको गुनासो छ।
जिल्लामा धान उत्पादन बढाउने उद्देश्यले तत्कालीन ‘जिल्ला कृषि विकास कार्यालय, रूपन्देही’ ले २०७२ सालमा किसानहरूमाझ चैते धान रोप्ने अभियान सुरू गरेको थियो। किसानलाई प्रेरित गर्न मल र बिउ अनुदानमा दिने र प्रविधिमा सहयोग गर्ने कार्यक्रम ल्याएको थियो।
जिल्ला कृषि विकास कार्यालयले चैते धान खेतीमा कृषक र कृषक समूहलाई प्रोत्साहित गर्न प्रतिहेक्टर पाँच हजार रुपैयाँ नगद अनुदान दिएको थियो। उपकरणमा पनि केही अनुदान दिएको थियो।
बिउ, सिँचाइका लागि बोरिङ, हाते ट्याक्टर, गोडमेल गर्ने मेसिन, धान काट्ने मेसिन लगायतमा अनुदान पाएपछि किसानहरू समूहमा र व्यक्तिगत रूपमा चैते धान खेतीमा लाग्न थालेका थिए।
उक्त कार्यालयका अनुसार २०७२ सालमा रूपन्देहीमा ४५ हेक्टर क्षेत्रफलमा चैते धानको खेती भएको थियो। त्यस वर्ष राम्रो उत्पादन भएपछि २०७३ सालमा क्षेत्रफल बढेर ७५ हेक्टर भयो।
२०७२ सालमा अभियान सुरू गर्दा जिल्ला कृषि विकास कार्यालयले रूपन्देहीमा चैते धान खेतीको क्षेत्रफल दस वर्षमा एक हजार हेक्टर पुर्याउने लक्ष्य लिएको थियो।
लक्ष्यअनुसार खेती विस्तार भएन। अभियान सुरु गरेको नवौं वर्ष, २०८० मा कुल ५४ हेक्टर क्षेत्रफलमा मात्रै चैते धान रोपिएको कृषि ज्ञान केन्द्र, रुपन्देहीले जनाएको छ। गत वर्ष ६० हेक्टरमा रोपिएको थियो।
केन्द्रका सूचना अधिकारी राजेन्द्र यादवका अनुसार यस वर्ष पनि किसानलाई बिउमा अनुदान उपलब्ध गराइएको थियो। बिउ, सिँचाइ, उपकरण लगायतमा अनुदान हुँदा पनि कृषकहरू चैते धान रोप्न उत्साहित भएनन्।
रुपन्देहीमा किसानलाई प्रोत्साहनका लागि कृषि ज्ञान केन्द्रले नै पनि तीन हेक्टर क्षेत्रफलमा चैते धान रोप्ने गरेको छ।
सूचना अधिकारी यादव स्थानीय तहले भौतिक पूर्वाधारमा बढी बजेट विनियोजन गर्ने गरेकाले कृषि क्षेत्र ओझेलमा परेको बताउँछन्।
‘स्थानीय तहहरूले कृषिलाई प्राथमिकता नदिएको जस्तो लाग्छ,’ उनी भन्छन्, ‘काम गर्ने जनशक्ति पनि अभाव छ। युवा जनशक्ति विदेश पलायन हुँदा समग्र खेती नै घट्दै गएको छ।’
कृषि विकास निर्देशनालय, लुम्बिनीका सूचना अधिकारी डिल्लीराज पौडेलका अनुसार बाह्रै महिना सिँचाइको सुविधा हुने तराईका जिल्लामै चैते धान लगाउने क्रम घटेको छ।
लुम्बिनी प्रदेशका सबै जिल्लाबाट प्रष्ट तथ्यांक आउन बाँकी रहे पनि प्रदेशभरिमा यस वर्ष बढीमा तीन हजार २०० हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको अनुमान छ।
सबभन्दा बढी चैते धान खेती बर्दियामा हुने गरेको छ जहाँ यस वर्ष एक हजार ५०० हेक्टर क्षेत्रफलमा रोपिएको छ।
पहाडी जिल्लाहरूमध्ये पाल्पामा ६ सय हेक्टर, गुल्मीमा तीन सय हेक्टर र प्यूठानमा करिब ७० हेक्टर क्षेत्रफलमा चैते धान रोपिएको छ। यी जिल्लामा कृषि ज्ञान केन्द्रमार्फत बिउ र प्रविधिमा अनुदानको कार्यक्रम छ।
बर्खे धानको तुलनामा उत्पादन बढी हुने भए पनि किसानहरूले भित्र्याउने बेलामा झन्झट मान्ने गरेका छन्।
झन्झट घटाउन र उब्जनी जोगाउनमा भने ठोस कार्यक्रम छैन।