हिउँद याममा हिमाली खर्कहरू सुख्खा हुन्छन्। झार सबै सुकेको हुन्छ। अत्यधिक चिसो वातावरणका कारण नयाँ झार उम्रन सक्दैन।
हिउँदमा घरपालुवा खुवाउन हिमाली क्षेत्रका किसानले सुकेको घाँस जोहो गरेर राखेका हुन्छन्। उनीहरूले राखेको पराल, मकैको ढोड र नलले मात्र जनावरलाई पौष्टिक आहार पुग्दैन। जनावर दुब्लाउँछन्, दूध उत्पादन घट्छ।
परम्परागत पशुपालनमा हिमाली क्षेत्रका किसान हिउँदयाममा गोठ बेँसीतिर सार्थे। पानी र प्रशस्त घाँसपात पाइने ठाउँ भए पनि गोठ सार्ने परम्परा हराउँदै गएको छ। पशुपालन गर्नेहरूले लगानीअनुसार प्रतिफल पाउन सकेका छैनन्।
जुम्लाको तिला गाउँपालिका–३, कुडारीका किसान कर्ण हमालले हिउँदमा पशु चौपायालाई पोषणयुक्त आहाराका लागि आधुनिक प्रविधि अपनाएका छन् जसमा घाँस उत्पादन गर्न माटो चाहिँदैन। प्लास्टिकको टनेलभित्र पानीको भरमा घाँस उमारेर जरासँगै जनावरलाई खुवाउँछन्। यसले दानाको काम गर्छ।
‘हिउँदमा भैँसीलाई खुवाउन दाना किन्थें। अहिले दानाभन्दा सस्तो र पौष्टिक आहार आफैं उत्पादन गर्छु,’ उनी भन्छन्, ‘यस्तो आहारा खुवाउँदा भैँसीको दूध बढेको छ। पहिलेभन्दा मोटाएको पनि छ।’
बर्खायाममा खेतबारी र चउरमा घाँस हुन्छ, जनावरलाई आहारको दुःख हुँदैन।
आफूले अपनाएको प्रविधि हिमाली क्षेत्रका किसानका लागि हिउँद याममा उपयोगी रहेको कर्णको भनाइ छ।
माटोबिना घाँस उत्पादन गर्न उनले गोठनजिकै ‘ग्रीन हाउस’ प्रभावको प्लास्टिक टनेल बनाएका छन्। टनेलभित्र हाल ३६ वटा क्रेट राखेका छन्। त्यही क्रेटमा गहुँबाट आधुनिक घाँस उत्पादन गर्छन्।
उनका अनुसार घाँस उत्पादन गर्न गहुँको बिउ राम्ररी सुकाउनुपर्छ। सुकेपछि पखालेर सफा पार्नुपर्छ र १२ घण्टा नुन पानीमा राख्नुपर्छ। यसरी नुनपानीमा राखेपछि बिउमा ढुसी पर्दैन।
बाह्र घण्टा पुगेपछि बोरामा हालेर पानी तर्याउनु पर्छ र करिब ४८ घण्टा बोरामै छाडिदिनुपर्छ। यसो गरेपछि गहुँमा टुसा उम्रन्छ। यसरी टुसाएको बिउ क्रेटमा फिँजाएर टनेलभित्र राख्नुपर्छ। एउटा क्रेटमा आधा किलोका दरले राख्दा ठिक हुन्छ।
क्रेटमा फिँजाएको बिउमा दैनिक कम्तीमा दुई पटक र बढीमा तीन पटक पानी हाल्नुपर्छ। करिब १५ दिनमा जनावरलाई खुवाउने हुने गरी गहुँ उम्रिन्छ।
माटो नराखी यसरी उत्पादित घाँस जरासहित जनावरलाई खुवाउँदा किनुवा दानाभन्दा सस्तो पर्ने र पौष्टिक पनि हुने कर्णको भनाइ छ।
यसरी आहारा उत्पादन गर्न गहुँ, जौ, मकै र कोदो प्रयोग गर्न सकिन्छ। कर्णका अनुसार जुम्लामा एक किलो दाना किन्न ३५ रुपैयाँ खर्च हुन्छ। ग्रीन हाउस टनेलमा ३५ रुपैयाँको उवाबाट ६ किलो आहार उत्पादन हुन्छ।
ग्रीन हाउस प्रभावमा टनेलभित्रको तापक्रम बाहिरको भन्दा बढी हुन्छ। प्लास्टिकको छानोले सूर्यको ताप भित्र पठाउँछ तर जुन दरमा भित्र पठाउँछ त्यो दरमा बाहिर जान दिँदैन। यसकारण टनेलभित्र न्यानो हुन्छ।
न्यानो भएपछि चिसो मौसममा टनेलभित्र पनि विरुवा उम्रिन्छ।
यसरी घाँस उत्पादन गर्ने प्रविधि ‘हाइड्रोपोनिक्स’ हो। ‘विन्ड पावर नेपाल’ नामको व्यावसायिक कम्पनीले जुम्लामा उक्त प्रविधि परीक्षणमा प्राविधिक गरेको थियो।
स्थानीय ‘हिमाली महिला बचत तथा ऋण सहकारी’ मा आबद्ध केही किसान परीक्षण उत्पादनमा सहभागी भएका थिए।
दाना किन्नुभन्दा सस्तो र पौष्टिक समेत हुने भएकाले हिउँदमा भैंसीलाई खुवाउन ‘हाइड्रोपोनिक्स’ प्रविधिलाई निरन्तरता दिने कर्णको विचार छ।
यसरी उत्पादन गरेको घाँस पकाएर पनि खुवाउन सकिन्छ। उनी भन्छन्, ‘जाडोमा भैँसीलाई चिसो नलागोस् भनेर पकाएर तातै खुवाउने गरेको छु।’
उनी ‘हाइड्रोपोनिक्स’ प्रविधि हरेक किसानको गोठमा हुनुपर्ने निष्कर्षमा पुगेका छन्। भन्छन्, ‘गाईभैँसी पालेर फाइदा लिने हो भने यो प्रविधि हिमाली क्षेत्रका सबै किसानमा पुर्याउनुपर्छ।’
कर्ण क्रेट खाली हुनासाथ नयाँ बिउ उमार्छन्। हाल उनको गोठमा तीन वटा भैँसी र केही खरायो छन्। उनका अनुसार ३६ वटा क्रेट हिउँदभरि खाली नराखी घाँस उमार्दा आहारा पुग्ने गरेको छ।
‘हिमाली महिला बचत तथा ऋण सहकारी’ की सचिव धनलक्ष्मी धितालका अनुसार सहकारीका सदस्य किनानहरू हाइड्रोपोनिक्स प्रविधि उपयोग गर्न चाहन्छन्।
उत्पादनका लागि चाहिने प्लास्टिक टनेल र क्रेटमा सरकारले सहयोग गर्ने हो भने किसानहरू लाभान्वित हुनेछन्। सहकारीमा ६२९ जना सदस्य छन्।
उनी भन्छिन्, गाईभैँसी पाल्ने सबै सदस्य किसानलाई टनेल र क्रेट चाहिएको छ। हाइड्रोपोनिक्स प्रविधि प्रयोग गर्ने हो भने जनावरले हरियो खान पाउँछन्। किसानले महँगो दाना किन्नु पर्दैन।’
सहकारीका प्रबन्धक मुक्तिनाथ योगीका अनुसार परीक्षण उत्पादन सफल भएको छ। अब सबै किसानमा पुर्याउनुपर्छ।
‘जुम्लामा सफल हुने हो कि होइन भन्ने थियो, मजाले सफल भयो। अब किसानले फाइदा लिन पाउनुपर्छ,’ उनी भन्छन्, ‘टनेलमा छिटो र सजिलो गरी चारो (घाँस) उत्पादन हुने भएपछि यहाँका किसानलाई फाइदा हुनेछ, महँगो दाना किन्नुपर्दैन।’
हिमाली क्षेत्रका किसानका लागि ‘विन्ड पावर नेपाल’ ले चार महिनाअघि ‘हाइड्रोपोनिक्स’ प्रविधि परीक्षण थालेको थियो। यो प्रविधि तरकारी उत्पादनमा पनि उपयोगी हुन कम्पनीका अध्यक्ष कुशल गुरुङको भनाइ छ।
उनका अनुसार विन्ड पावर नेपालले काठमाडौंमा उच्च मूल्यका तरकारी यही प्रविधिबाट उत्पादन गर्ने गरेको छ। सन् २०१९ मा परीक्षण उत्पादन गरेकोमा दुई वर्षयता व्यावसायिक खेती गरिरहेको छ। यस प्रविधिबाट थोरै जमिनमा पनि धेरै उत्पादन गर्न सकिन्छ।
‘हामीले काठमाडौंमा हाइड्रोपोनिक्स प्रविधिले १० आना क्षेत्रफलमा गरेको खेतीमा ६ रोपनी जमिनमा हुने जति उत्पादन हुन्छ,’ गुरुङ भन्छन्, ‘सहरबजारमा यस्तो प्रविधिले खेती गर्दा किसानले धेरै प्रतिफल पाउन सक्छन्।’
विन्ड पावर नेपालले काठमाडौंमा हाइड्रोपोनिक्स प्रविधिबाट सलादका विभिन्न साग उत्पादन गर्ने गरेको छ। उच्च मूल्यका साग उत्पादन गरी भाटभटेनी, सेल्सबेरी र अनलाइनमार्फत बिक्री गर्ने गरेको छ।
‘एउटा प्याकेटमा सय ग्राम सलाद (साग) राख्छौं। एक प्याकेट हजार रुपैयाँमा बिक्री हुन्छ,’ गुरुङ भन्छन्, ‘अहिले दैनिक ८० किलो उत्पादन गर्र्दै छौं, छिटै दैनिक २०० किलो पुर्याउने तयारी छ।’
जुम्लामा हाइड्रोपानिक्स प्रविधि सफल भएको उनको भनाइ छ।
‘जुम्लाका किसान खेतीमा धेरै मेहनत गर्छन् तर लगानीअनुसार प्रतिफल छैन,’ उनी भन्छन्, ‘किसानलाई ग्रीन हाउस प्रविधिमा लैजान सके उत्पादन दोब्बर हुन्छ।’
सहकारीकी सचिव धितालका अनुसार आजकाल जुम्लामा खेती घटेको छ। अधिकांश युवा रोजगारीका लागि भारतमा छन्। गाउँमा बसेका बुढापाकाले लगाएको धेरै फसल खेतबारीमै सुक्ने गरेको छ।
जुम्लाको हिमाली भेगका किसान भदौमा गहुँ छर्छन्। मंसिरमा जौ छर्छन्। बर्खाको धानभन्दा हिउँदको गहुँ, जौ, उवा बढी उत्पादन हुन्छ।
जलवायु परिवर्तनले समयमै पानी नपर्ने र बर्खायाममा आउने बाढीले खेतबारी बगाउने समस्या बढेको अर्का किसान प्रियादेवी न्यौपानेको भनाइ छ।
‘खडेरीले गर्दा पहिले जस्तो अहिले गहुँ, उवा, जौ फल्दैन। बाढीले हाम्रो खेत पनि बगाइदियो,’ उनी भन्छिन्, ‘यस्तै हो भने अब केही वर्षपछि खान पाइँदैन।’
जुम्लाका बासिन्दाहरूका अनुसार तिला कर्नाली नदीमा आउने बाढीले समस्या बढाएको छ।
वि.सं. १९८४ मा तिला कर्नालीमा आएको बाढीले धेरै खेतबारी बगाएको थियो। त्यसपछि २०२८ सालमा त्यस्तै बाढी आएर क्षति गर्यो। फेरि २०७९ सालमा आएको बाढीले पनि धेरैको खेतबारी बगाइदियो।
बाढी र खडेरीले गर्दा किसानले खेती कम गर्दै गएको सहकारीका प्रबन्धक योगीको भनाइ छ।
‘हिउँदमा हिउँ पर्दैन, बर्खामा बाढी आउँछ। यस्तो भएपछि खेती हुँदैन। युवा जति सबै भारत जान्छन्,’ उनी भन्छन्, ‘बाढी, पहिरो र खडेरीबाट बालीनाली जोगाउन नसक्दा किसानको दुःख बढेको छ।’
जलवायु परिवर्तनको जोखिममा रहेका कर्णालीवासीका लागि हाइड्रोपोनिक्स प्रविधि उत्तम विकल्प हुन सक्ने ‘कर्णाली जल परियोजना’ का प्रमुख नरवीर ऐडी बताउँछन्।
अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) को सहयोगमा कर्णालीमा उक्त परियोजना सञ्चालनमा छ। सोही परियोजना अन्तर्गत विन्ड पावर नेपालले जुम्लामा हाइड्रोपोनिक्स प्रविधि परीक्षण गरेको हो।
तिला गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकायाले नयाँ प्रविधिले किसानलाई फाइदा पुग्ने देखिएकाले सरकारको नीति, कार्यक्रम र बजेटमा समावेश गर्ने बताए।
किसानलाई प्लास्टिक टनेल उपलब्ध गराउने, बिउमा अनुदान दिने र प्रविधि सिकाउँदै जाने पनि उनले बताए।