श्रीनगर एग्रिटेक इन्डष्ट्रिजले बुटवलमा अत्याधुनिक मासु प्रशोधन केन्द्र (स्लटर हाउस) र कोल्ड स्टोर निर्माण गर्ने भएको छ।
कम्पनीले १८ करोड लगानीमा बुटवल औद्योगिक क्षेत्रभित्र पूर्वाधार निर्माण कार्य अगाडि बढाइएको हो।
गुणस्तरीय मासु उत्पादन गर्न मासु प्रशोधन उद्योग तथा कोल्ड स्टोर निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष सतिश चन्द्र श्रेष्ठले जानकारी दिए।
'हाम्रो उद्योग रुपन्देहीमा छ। यहाँ चल्ला, अन्डा उत्पादन हुन्छ। चल्ला किसानलाई बिक्री गर्ने गरेका छौं र त्यही किसानले पालेको चल्ला खान योग्य भएपछि उनीहरूबाटै खरिद गरेर मासु प्रशोधन गरी बिक्री गर्ने लक्ष्य छ,' उनले भने।
मासु प्रशोधन उद्योगबाट दैनिक ३ हजार कुखुरा अर्थात् ६ हजार किलो मासु तयार गरी बजारमा पठाउने लक्ष्य रहेको छ। त्यस्तै, कोल्ड स्टोरको क्षमता २ सय टनको हुने श्रेष्ठले जानकारी दिए।
मासु प्रशोधन उद्योगबाट फ्रोजन मिट, हड्डी नभएको र हड्डी भएको मासु, किमा, ससेज, पखेटालगायतका मासु उपलब्ध हुने जनाइएको छ।
वाणिज्य विभागबाट नेपाल गुणस्तर (एनएस) चिन्ह लिएर प्रशोधन केन्द्र सञ्चालनमा ल्याइनेछ।
उनका अनुसार प्रशोधन तथा कोल्ड स्टोरको लागि कम्पनीले चीन र भारतबाट मेसिन (सेमि अटोमेटिक प्लान्ट) ल्याउन प्रक्रिया अघि बढाइसकेको छ। आगामी वैशाख महिनाभित्रै बजारमा प्रशोधित मासु पठाउने लक्ष्य कम्पनीले राखेको छ।
दुई दशकयता कृषिजन्य उद्योग तथा उत्पादनको क्षेत्रमा सक्रिय श्रीनगरले रुपन्देही र पाल्पामा चल्ला, अण्डा उत्पादन गर्ने ह्याचरी फार्म साथै दाना उद्योग सञ्चालन गर्दै आएको छ।
कृषि क्षेत्रमार्फत् अर्थतन्त्रमा योगदान पुर्याउने उद्देश्यले सन् २००२ मा स्थापना भएको कम्पनीमा हाल ३ सय जनाले रोजगारी पाएका छन्। श्रीनगरले १५० कुखुरा पालक किसानहरूसँग प्रत्यक्ष जोडिएर काम गरिरहेको छ।
कम्पनीको उत्पादन ४० भन्दा बढी जिल्लामा वितरण तथा खपत हुँदै आएको छ।