सुर्खेतका गोविन्द तिमिल्सेनाले पछिल्लो सिजनमा ६ क्विन्टल काउली बेचे।
एउटा टनेलबाट दुई क्विन्टल टमाटर पनि यही सिजनमा बेचे।
यस टनेलमा अझै चार क्विन्टल टमाटर फल्ने उनको अनुमान छ।
गोविन्दले तरकारी खेती गरेको १४ वर्ष भयो।
उनी नेकपा माओवादी केन्द्रका नेता हुन्। हाल पार्टीको केन्द्रीय सदस्य छन्। उनी भूमिगत रहनुपर्ने समयमा माओवादी पार्टीमा लागेका थिए।
गोविन्द सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेका बेला भूमिगत थिए। विद्रोही माओवादीको 'जनमुक्ति सेना' को 'ब्रिगेड कमान्डर' तहको जिम्मेवारीमा पुगे।
'एक पटक कैलालीमा भएको लडाइँमा खुट्टामा गोली लाग्यो। शल्यक्रिया गरेर राखिएको रड अझै निकालिएको छैन,' उनले भने।
शान्ति प्रक्रियामा उनी पूर्वलडाकुका शिविरमा पुगे। सेना समायोजनका लागि प्रक्रिया सुरू भयो। उनी आफू नेपाली सेनामा नपर्ने निष्कर्षमा पुगे।
आखिर उनी छनोट प्रक्रियामा सामेल नै भएनन्, राजनीतिक मोर्चा रोजे। केही वर्ष आफ्नो जिल्ला दैलेखमा बसेर पार्टी संगठनको काममा लागे।
दैलेखबाट उनी सुर्खेत सरे। उनी कृषक परिवारका थिए। मुख्य पेसा कृषि नै थियो। जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्थ्यो।
आखिर सुर्खेतमा पनि कृषि नै रोजे अनि २०६६ सालमा सुरू गरे कृषि कर्म।
प्रारम्भमा ६ कट्ठा जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती सुरू गरेका थिए, अहिले १० कट्ठामा गर्दै छन्।
'द्वन्द्वका क्रममा घाइते भएपछि धेरै हिँडडुल गर्न गाह्रो भयो। छोरीको उपचारका लागि ढुक्कै सुर्खेत बस्नुपर्ने भयो। यता आएपछि आर्थिक संकट भयो,' कृषि नै रोज्नुको कारण प्रस्ट पार्दै उनले भने, 'जीविकोपार्जनका लागि कुनै न कुनै काम गर्नै पर्थ्यो। जानेको काम कृषि नै थियो। कोही व्यक्तिबाट उत्प्रेरित भएको होइन। जहानपरिवार पाल्ने उपाय सोच्दै जाँदा तरकारी खेती गर्ने निर्णय भयो।'
खेती सुरू गर्दा उनीसँग पैसा थिएन। ऋण खोजेर साढे एक लाख रूपैयाँ लगानी गरे। उनले ऋण लिएको पैसाले टनेल बनाए। टनेलमा बेमौसमी तरकारी लगाए। बाँकी जमिनमा मौसमी तरकारी लगाए। यसै गरी उनी निरन्तर खेतीमा लागे।
तरकारीले उनलाई अपेक्षित आम्दानी दियो। आर्थिक संकट कम हुँदै गयो।
उनी ६ कट्ठामै खेती गर्दै थिए। करिब डेढ वर्षअघि अर्को ठाउँमा १० कट्ठा जमिन भाडामा लिएर खेती सारेका हुन्।
गोविन्दले नियमित कामदार राखेका छैनन्। परिवारकै चार जना खट्छन्। आवश्यक परे ज्यालामा कामदार लगाउँछन्।
उनकी श्रीमती गीता अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को सुर्खेत जिल्ला अध्यक्ष छिन्। उनी पनि खेतीमा नियमितजसो काम गर्छिन्। उनीहरूको बिहे भूमिगत समयमै भएको हो। गीता सांगीतिक कलाकारका रूपमा पार्टीमा सक्रिय थिइन्।
'पार्टीमा महत्वपूर्ण बैठक वा कार्यक्रम हुँदा मात्र सहभागी हुन्छौं। परिवारले नै खेती धानेका छौं,' गोविन्दले भने, 'कहिलेकाहीँ पार्टीको काममा धेरै समय दिनुपर्यो भने ज्यालादारीमा मान्छे राखेर काम गराउँछौं। हामीले राजनीतिमा भन्दा बढी समय खेतीमा दिएका छौं।'
गोविन्दको तरकारी बारीमा अहिले काँक्रो, करेलो, घिरौंला, चिचिन्डो, फर्सी, लौका, क्याप्सिकम, तोरी, भाजी, सुई साग र पालुंगो छ।
आफ्नो उत्पादन उच्च गुणस्तरको रहेको उनको दाबी छ। गुणस्तर राम्रो भएकैले व्यापार राम्रो रहेको र कहिल्यै घाटा बेहोर्नु नपरेको उनको भनाइ छ। उनी गोबर किनेर ल्याउँछन् र झारपात मिसाएर कम्पोस्ट मल बनाउँछन्। रासायनिक मल प्रयोग गर्दैनन्।
'हामी गोठेमल प्रयोग गरेर अर्गानिक उत्पादन गर्छौं। बजारको कुनै समस्या छैन,' गोविन्दले भने, 'धेरै त बारीबाटै बिक्री हुन्छ। तरकारी टिप्न ग्राहकलाई नै पठाउँछौं, आफैं छानेर टिप्न पाउनुहुन्छ। व्यावसायिक रूपमा खेती गरेपछि आम्दानी भएन भन्नुपरेको छैन। मेरो सामाजिक सम्बन्धका आधारमा पनि व्यवसायमा लाभ भएको छ।'
उनका अनुसार तरकारी खेतीबाट मासिक ५० हजार रूपैयाँ हाराहारी आम्दानी हुन्छ। हाल जमिनको वार्षिक भाडा ८० हजार रूपैयाँ छ।
गोविन्दको व्यावसायिक खेती अरूका लागि पनि प्रेरणादायी रहेको संविधान सभा तथा प्रदेश सभाका पूर्वसदस्य सीता नेपालीको भनाइ छ।
'म मौका परेका बेला उहाँको बारीमा पुग्छु। खेतीमा उहाँहरूको भरपूर सक्रियता देख्छु,' उनले भनिन्, 'राजनीतिमा भएर पनि उहाँहरूले व्यावसायिक खेतीमा राम्रो गर्नुभएको छ। युवाका लागि पनि प्रेरणादायी छ।'
खेती गरेको १४ वर्षमा गोविन्दले एकपटक सरकारी अनुदान पाए।
खेती विस्तार गर्ने क्रममा बेमौसमी खेतीका लागि १० वटा टनेल बनाउँदा कृषि विकास निर्देशनालयले उनको फार्मलाई ५० प्रतिशत अनुदान दिएको थियो। अहिले १२ वटा टनेलमा बेमौसमी तरकारी रोपेका छन्।
जीविकोपार्जनका लागि केही न केही काम नगरी नहुने अवस्थामा ऋण लिएर गोविन्दले सुरू गरेको तरकारी खेती धेरैका लागि प्रेरणाको स्रोत भएको छ।