अर्घाखाँचीको पाणिनी गाउँपालिका २ पोखराथोकस्थित शीतभण्डारमा अघिल्ला वर्षदेखिकै ढुसी पूर्ण रूपमा नष्ट नभएकोले यसवर्ष पनि सुन्तलामा ढुसी लागेर नष्ट भएको कृषि विज्ञहरूले बताएका छन्।
पाणिनी गाउँपालिका-२ पणेना, सिम्ले र पोखराथोकका किसानले गत पुसमा बोटबाट टिपेको सुन्तला पोखराथोकमा रहेको शिवशक्ति शीतभण्डारमा राखेका थिए। पर्याप्त सुन्तला पाइने मंसिर पुस महिनामा सस्तोमा बिक्री गर्नुभन्दा माघ फागुन महिनामा केही महंगो मूल्यमा बिक्री गर्ने चारजना किसानले ९० मेट्रिकटन सुन्तला क्यारेटमा राखेर शीतभण्डारमा भण्डारण गरेका थिए।
तर शीतभण्डारमा राखेको ९० मेट्रिकटन मध्ये ६३ मेट्रिकटन सुन्तलामा ढुसी लागेर नष्ट भएपछि किसानहरु मारमा परेका छन्। तीन वर्ष पहिले लुम्बिनी प्रदेश सरकारको आर्थिक सहयोगमा पाणिनी गाउँपालिकाले तीन सय मेट्रिकटन क्षमताको शीतभण्डार निर्माण गरेको थियो।
सोही शीतभण्डार किसानहरूले गठन गरेको शिवशक्ति मिश्रित किसान समूहले सञ्चालन गर्दै आएको छ। शिवशक्ति मिश्रित किसान समूहले सुन्तलासँगै आलु पनि शीतभण्डारमा भण्डारण गर्दै आएको थियो। यसवर्ष पनि सुन्तला भण्डारण गर्नु पहिले शीतभण्डारमा आलु राखिएको थियो।
कात्तिक महिनामा आलु बजारमा पठाएपछि शीतभण्डार सफा गरेर चार जना किसान रेवतीराज पौडेल, मानबहादुर श्रेष्ठ, चिरञ्जीवी पौडेल र खगेन्द्र पौडेलको गरी ९० मेट्रिकटन सुन्तला शीतभण्डारमा राखिएको थियो। तर भण्डारमा राखेको १ महिनामै सुन्तलामा नीलो र हरियो ढुसी लागेर ६३ मेट्रिकटन सुन्तला नष्ट भएको किसान रेवतीराज पौडेलले बताए।
ढुसी लागेर सबैभन्दा धेरै मानबहादुर श्रेष्ठको सुन्तला नष्ट भएको छ। श्रेष्ठले स्थानीय किसानसँग खरिद गरेर साढे ४७ टन सुन्तला शीतभण्डारमा राखेका थिए। त्यस्तै रेवतीको साढे १८ टन, चिरञ्जीवीको १६ टन र खगेन्द्रको साढे ७ टन सुन्तला शीतभण्डारमा राखिएको थियो।
शीतभण्डारमा राखेको ६५ प्रतिशत बढी सुन्तलामा ढुसी लागेर नष्ट भइसकेको छ। बाँकी रहेको सुन्तलामा पनि दिनहुँ ढुसी लाग्ने क्रम बढिरहेको रेवतीले बताए। हरेक वर्ष शीतभण्डारमा राखेको सुन्तलामा ढुसी लागेर किसानहरूको आर्थिक नोक्सान भइरहेपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का कृषि विज्ञ सहितको टोलीले शीतभण्डारको स्थलगत अवलोकन गरी अनुसन्धान गरेको हो।
शीतभण्डारको अवलोकन गर्दा शीतभण्डारमा अघिल्ला वर्षदेखि नै रहेको ढुसीको पूर्ण रूपमा सफाइ नहुँदा र भण्डारणको क्रममा सुन्तलामा चोटपटक लाग्दा ढुसी फैलिएर सुन्तला नष्ट भएको नार्कका वरिष्ठ वैज्ञानिक उमेशचन्द्र आचार्यले बताए।
‘हरेक वर्ष सुन्तलामा ढुसी लागेर नष्ट भयो भनेपछि शीतभण्डारमै गएर हेर्यौं, त्यहाँ पुगेर हेर्दा दुइटा कारणले ढुसी फैलिएको देखियो। एउटा कारण भण्डारणको क्रममा सुन्तलामा चोटपटक लागेकोले ढुसी फैलिएको पाइयो भने, अर्को कारण अघिल्ला वर्षदेखिकै ढुसी पूर्ण रूपमा सफा नभएको पाइयो। शीतभण्डारलाई राम्रोसँग सरसफाइ गरेर ट्रिटमेन्ट गर्न पाएको भए किसानहरूले यसरी नोक्सान बेहोर्नु पर्ने थिएन,’ आचार्यले भने।
आचार्यले शीतभण्डारमा हरियो र निलो दुई प्रकारको ढुसी फैलिएको र अब कुनै पनि सामग्री भण्डारण गर्दा ढुसीलाई पूर्ण रूपमा नष्ट गरेर मात्र भण्डारण गर्न सुझाव दिइएको बताए। आचार्यको नेतृत्वमा लुम्बिनी प्रदेशको कृषि विकास निर्देशनालय र कृषि ज्ञानकेन्द्र अर्घाखाँचीको टोली अनुसन्धानको लागि शीतभण्डारको स्थलगत अवलोकनमा पुगेको थियो।
शिवशक्ति मिश्रित किसान समूहका अध्यक्ष समेत रहेका रेवतीराज पौडेलले अघिल्ला दुई वर्ष सुन्तलामा ढुसी लागेर नष्ट भएपछि यसवर्ष गत मंसिर लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयले विज्ञ प्राविधिक ल्याएर सुन्तला भण्डारण गर्ने तरिका सिकाएको र सोही अनुसार नै सुन्तला भण्डारण गरिएको बताए।
‘निर्देशनालयबाट आउनुभएका विज्ञ प्राविधिकले शीतभण्डारमा सुन्तला राख्ने तरिका सिकाउनुभएको थियो, उहाँहरूले भने अनुसार नै राख्दा पनि सुन्तला जोगाउन सकिएन, वर्षभरिको मेहनत शीतभण्डारमा कुहिँदा ठूलो आर्थिक नोक्सान बेहोर्नुपर्यो,’ रेवतीले गुनासो गरे।
रेवतीले फागुनदेखि कात्तिक महिनासम्म आलु राखिएको शीतभण्डारलाई पटकपटक औषधी छर्केर सरसफाइ गरे पनि ढुसी लागेर सुन्तला नष्ट हुँदा चिन्तित बनाएको बताए।
गतवर्ष भन्दा यसवर्ष सुन्तलाको उत्पादन नै १५ प्रतिशत घटेको अवस्थामा अधिकांश सुन्तला नष्ट भएपछि वर्षभरीको लगानी डुबेको बताए।
उनले सरकारसँग राहतको माग समेत गरेका छन्।
लुम्बिनी प्रदेश कृषि विकास निर्देशनालयका प्रमुख रामप्रसाद पाण्डेले ढुसीका कारण सुन्तला नष्ट हुँदा किसानहरू मर्कामा परेकोले राहतको लागि प्रदेश सरकारलाई सिफारिस गरिने बताए।
पाणिनी गाउँपालिकाको पणेना, सिम्ले, पोखराथोक, पटौटी, मैदान लगायतका गाउँहरू सुन्तलाको खेती हुने क्षेत्र हुन्। यहाँका किसानको आम्दानीको प्रमुख स्रोत नै सुन्तला खेती हो। पाणिनी वडा नंं २ को पणेनामा मात्रै दुई सय र वडा नं १ सिम्लेमा ४९ जना किसानले सुन्तला खेतीबाटै वर्षमा एक लाख रुपैयाँदेखि २८ लाखसम्म आम्दानी गर्दै आएका थिए। सिम्लेमा सुन्तलाबाटै वार्षिक १० लाख भन्दा बढी आम्दानी गर्ने २५ परिवार छन्।
युवाहरू सुन्तला खेतीतर्फ आकर्षित हुँदै गएपछि ४७ घरपरिवार रहेको सिम्लेमा दुइटा कृषक समूह गठन गरी सुन्तलाको उत्पादन वृद्धि, भण्डारण र बिक्री वितरणको लागि सहजीकरणको काम भइरहेको थियो।