उद्योगीहरूले धान चामलको अवैधानिक आयात बढेको गुनासो गरेका छन्।
नेपाल चामल, तेल, दाल उद्योग संघका पदाधिकारीहरूले अवैधानिक आयात बढेको तर वैधानिक आयात गर्न नपाएको गुनासो गरेका हुन्।
अहिले २५ केजीका दैनिक आठ हजार बोरा चामल भन्सार छलेर आएको आशंका चामल तेल दाल उद्योग संघका अध्यक्ष कुमुल दुगडको छ।
यसरी अवैधानिक ढंगले आयात हुँदा उद्योगहरू सञ्चालनमा भने समस्या देखिएको उनले बताए।
'अवैधानिक आयात निकै बढेको छ, यस्तो आयात रोकिएन भने उद्योग चलाउन समस्या पर्छ। वैधानिक आयात गर्नको लागि सरकारले पहल गरिदिनु पर्यो,' दुगडले भने।
सहरी क्षेत्रमा बढी मात्रामा प्रयोग गरीने मसिनो चामल भारतबाट नै आयात गर्नु पर्ने बाध्यता भएको उनीहरूले बताएका छन्। तर, भारतले गत वर्षदेखि चामलको वैधानिक आयात बन्द गरेको र धानको लागि नेपाललाई कोटा लगाएको छ।
कोटा लगाएको धानमा पनि शुल्क लगाएको र अन्य शर्तहरू पनि राखेको कारण धान आयात समस्या भएको उनीहरूले बताएका छन्।
गत आर्थिक वर्षमा भारतले नेपाललाई ६ लाख टन धान भन्सार छुटमा उपलब्ध गराएको थियो।
चालु वर्षमा भने धानमा भन्सार छुटसहितको कोटा उपलब्ध गराएको छैन। व्यवसायीहरूले धानमा गत वर्षको जस्तै भन्सार छुटको लागि पहल गर्न र कम्तीमा ६ लाख टन आयात खुलाउनको लागि आग्रह गरेका छन्।
उनीहरूले मसिनो चामलको लागि दुई महिनाको मात्रै मौज्दात रहेको भन्दै समयमा पहल गर्न सरकारलाई आग्रह गरेका छन्।