दुई दशकअघिसम्मको कुरा; पाल्पाका तिनाउ, सत्यवती, रैनादेवी छहरा लगायत ठाउँका किसानलाई पाखो बारीमा परम्परागत खेतीबाट ६ महिना पनि खान पुग्दैन थियो।
बारीका कान्ला र खोरियामा हरिया बुट्यान थिए तर तिनको खासै अर्थ थिएन। मानिसहरू ती बिरूवाका हरिया पात टिपेर चपाउँथे। बिरूवा तेजपात हो भन्नेबाहेक केही पनि थाहा थिएन।
दुई दशकअघि मात्रै उनीहरूले आफ्नो बारीका कान्लाका फैलिएका तेजपातका बोटका बोक्रा दालचिनी अनि त्यसको पात तेजपात भनेर मसलाका लागि बिक्री हुन्छ भन्ने थाहा पाए।
तेजपात भन्नुहोस् कि सिन्कौली; सुनकाउली, दालचिनी वा तेजी, जे भने पनि बिरूवा उही हो।
जसै थाहा पाए, उनीहरू तेजपातका बिरूवा संरक्षण र खेतीमा लागे। केही वर्षयता उनीहरूको आम्दानी बढेको छ, दिनचर्या फेरिएको छ। उनीहरू तेजपात र दालचिनीको व्यावसायिक उपयोगमा लागेका छन्।
पाल्पा जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा बुटवलसँग पायक पर्ने दुई गाउँपालिका तिनाउ र रैनादेवी छहराका किसानहरू अहिले अन्नबाली छोडेर तेजपात र दालचिनीमै लागेका छन्।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ भन्छन्, 'फाटफुट रूपमा बुटवलको बजारमा बिक्री हुने गरेको तेजपात र दालचिनी भारतीय बजारमा बिक्री हुन थालेपछि किसानहरू उत्साहित भएका छन्। बारीमा यसै खेर गएको तेजपात र दालचिनी निकासी भएपछि किसानहरूको आम्दानी र जीवनस्तर पनि बदलिएको छ।'
तिनाउर रैनादेवी दुवै गाउँपालिका तेजपातको पकेट क्षेत्र घोषणा गरिएका छन्। छहराका कम्तीमा १२ सय किसान व्यावसायिक रूपमा तेजपातको खेतीमा लागेका छन्।
तिनाउ गाउँपालिका–३ का वडाध्यक्ष चित्रबहादुर थापाका अनुसार वडाका ९० प्रतिशत किसान तेजपातको व्यावसायिक खेतीमा छन्। किसानको आम्दानीको प्रमुख स्रोत नै दालचिनी र तेजपात भएको छ।
'त्यहाँका किसानले दालचिनी र तेजपात बेचेर वार्षिक २ लाख रूपैयाँसम्म आम्दानी गर्छन्,' उनले भने।
तेजपात र दालचिनी दुवै मसला र जडिबुटीका रूपमा बिक्री हुन्छ। कम परिश्रममा राम्रो आम्दानी हुने भएपछि किसानहरू तेजपात खेतीमा लागेका हुन्।
किसानहरूले तेजपातको बिरूवाको महत्व थाहा पाउँदै गएपछि १२ वर्षअघि तिनाउको दोभानमा 'दालचिनी महोत्सव' आयोजना गरिएको थियो। स्थानीय बासिन्दा तथा सामुदायिक वन अभियन्ता दलबहादुर गुरूङका अनुसार त्यो महोत्सवपछि किसानको आकर्षण बढ्दै गयो। उनीहरू तेजपातका बिरूवा हुर्काउन र संरक्षण गर्न उत्साहित भए।
'पहिले किसानहरूलाई जंगलमा उम्रेका रूख, झरेर जाने पात भन्ने थियो। पात र बोक्रा दुबै बिक्री हुन्छ भन्ने थाहै थिएन,' गुरूङले भने, 'पात र बोक्रा किन्छौं भन्दै व्यापारीहरू गाउँमा पुग्न थालेपछि किसानहरूले महत्व थाहा पाए।'
व्यापारीहरू गाउँ धाउन थालेपछि बारीमा प्राकृतिक रूपमा रहेका तेजपातका बोटको संरक्षण गर्ने र खाली जग्गामा बिरूवा रोपेर हुर्काउने अभियान सुरू भयो।
तेजपात र दालचिनी उत्पादन बढाउन सामुदायिक वन समन्वय समिति, तिनाउले 'एक घर १० दालचिनीको बोट, १० वर्षपछि पेन्सन' भन्ने सन्देश तय गर्यो। तिनाउमा आयोजित महोत्सवले खेती प्रवर्द्धनमा सघाउ पुग्यो।
डिभिजन वन कार्यालय पाल्पाका अधिकृत यमलाल पोखरेलले तेजपातको बोट तिनाउ र रैनादेवी छहरा गाउँपालिकाका अधिकांश किसानको आम्दानीको राम्रो स्रोत भएको बताए।
उक्त कार्यालयको अभिलेखअनुसार गत आर्थिक वर्ष २०७९/८० मा पाल्पाबाट ९५० मेट्रिक टन तेजपात र २२५ मेट्रिक टन दालचिनी बिक्री भयो। उक्त तीन गाउँपालिकाबाट मात्रै वार्षिक ७ करोड रूपैयाँभन्दा बढीको तेजपात र दालचिनी बिक्री हुन्छ।
राम्रो तेजपात प्रतिकिलो ५० रूपैयाँ र दालचिनी प्रतिकेजी कम्तीमा सय रूपैयाँमा बिक्री हुन्छ। गुणस्तर राम्रो मानिए दालचिनी अझै बढी मूल्यमा बिक्छ।
रैनादेवी छहरा गाउँपालिका–७, बल्ढेङगढीमा पत्रकार भुवन कार्कीले तेजपात खेती गरेका छन्। उनका अनुसार गत वर्ष दालचिनी प्रतिकेजी १४५ रूपैयाँमा बिक्री भएको थियो। यसपालि भने घटेर सय रूपैयाँ भएको छ। पात प्रतिकेजी औसत ४५ रूपैयाँमा घरबाटै बिक्री हुँदैछ।
'केही वर्षयता बिचौलियाहरूका कारणले किसानहरू मर्कामा पर्न थालेका छन्,' उनले भने।
दालचिनी र तेजपात सामान्यतया गाउँघरका भान्सामा पाक्ने चिया, माछमासु र पुलाउमा मसलाका रूपमा प्रयोग हुन्छ।
जिल्ला वन अधिकृत पोखरेलका अनुसार तेजपातमा भिटामिन ए, भिटामिन सी र फोलिक एसिड पाइन्छ। प्रचुर मात्रामा औषधीय गुण हुन्छ। तेजपात क्यान्सर र मधुमेहको समस्यामा फाइदाजनक हुने अनुसन्धानबाट देखिएको छ।
कपर, पोटासियम, क्याल्सियम र आइरनजस्ता तत्व पाइने भएकोले तेजपात कब्जियत र पाचनसम्बन्धी अन्य समस्या समाधानमा पनि उपयोगी हुन्छ।
नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वैकल्पिक चिकित्सा तथा आयुर्वेद विभागले २ ग्राम तेजपात र २ ग्राम दालचिनी उमालेर चियाजस्तै गरी पिउँदा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढ्छ भनेको छ। आयुर्वेदिक औषधिसँगै सुगन्धित तेल बनाउन पनि दालचिनी र तेजपात प्रयोग हुने गरेको छ।
गैरकाष्ठ मानिने तेजपात समुद्री सतहबाट ४५० मिटरदेखि २ हजार १०० मिटरसम्म खेती गर्न सकिने अधिकृत पोखरेलले जानकारी दिए। खास गरी चुरेक्षेत्र र मध्यपहाडमा निकै राम्ररी फस्टाउँछ।
उत्तरी र पश्चिमी मोहडाका छहारी परेका भागहरूमा राम्ररी फस्टाउने भएकाले तेजपातका लागि पाल्पाको भूगोल र हावापानी उत्तम रहेको उनको भनाइ छ।
लामो समयदेखि पाल्पाको रैनादेवी छहर–८, खुर्सानेमा तेजपात खेती गर्दै आएका किसान प्रेम घिमिरे अन्न नफल्ने सेपिला भागहरू तेजपातले भरिन थालेको बताउँछन्।
'बिरूवा रोपेर हुर्काउन धेरै सीप र मेहनत आवश्यक पर्दैन। जंगली जनावरले पनि खाँदैन। चाँडै आम्दानी हुन थालिहाल्छ,' उनले भने।
यहाँका किसानहरूले तेजपात र दालचिनी नेपालमै प्रशोधन गर्ने उद्योग नहुँदा भारतीय व्यापारीहरूलाई सस्तोमा बेच्नुपरेको गुनासो गरेका छन्।
'नेपालमा दालचिनी प्रशोधन गर्ने उद्योग छैन। बिचौलियाको माध्यमबाट सस्तोमा भारत जान्छ,' पत्रकार तथा किसान कार्कीले भने, 'त्यही दालचिनी भारतमा प्रशोधन भएर महँगो मसलाको रूपमा नेपाल आउँछ।'
डिभिजन वन कार्यालयका अनुसार पाल्पाका किसानको निजी जग्गाबाट मात्र पछिल्लो पाँच वर्षमा ५ हजार ८६६ मेट्रिक टन तेजपात र १ हजार ४९५ मेट्रिक टन दालचिनी भारत निकासी भएको छ। नेपालमै प्रशोधन गर्न सकिए उत्पादन अझै बढ्ने किसानहरू बताउँछन्।
तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले पाल्पामा तेजपात खेतीको निकै राम्रो सम्भावना देखेका छन्। पूर्वको इलाम चियाको केन्द्र भएजस्तै पाल्पा जिल्ला तेजपातको केन्द्र र यसकै पर्यटकीय स्थल बन्न सक्ने उनी बताउँछन्।
'त्यसको सुरूआत तिनाउबाटै गर्ने योजनामा छौं,' उनले भने।
सामान्यतया तेजपातको बिरूवा रोपेको ३ वर्षमा बिक्रीका लागि पात टिप्न मिल्छ। दालचिनी ६ वर्षदेखि निकाल्न सकिन्छ। तेजपात बहुवर्षीय बिरूवा हो। एकपटक हुर्केपछि वर्षौं आम्दानी लिन सकिन्छ। रूखका हाँगा छाँट्दा पनि प्रशस्त नयाँ हाँगा पलाउँदै बोट झाँगिन्छ। पात छिप्पिएपछि टिप्न मिल्छ। बिरूवा रोप्न र हुर्काउन खास प्राविधिक ज्ञान आवश्यक पर्दैन।