लुम्बिनी प्रदेशको पाल्पा जिल्लाका रिब्दीकोट गाउँपालिका र रैनादेवी छहरा गाउँपालिका सुन्तला खेतीमा प्रख्यात छन्। रिब्दीकोट गाउँपालिकाका आठ वटा वडामध्ये चारवटा वडा र रैनादेवीका केही वडाका किसानहरू केही वर्ष यता व्यवसायिक रूपमा सुन्तलाखेतीमा लागेका छन्।
उनीहरूको आम्दानीको मुख्य स्रोत नै सुन्तला हो।
स्थानीय किसानहरूका अनुसार खेतबारीमा फल्ने धान, मकै र गहुँबाट हुने आम्दानीको तुलनामा त्यति नै क्षेत्रफलमा लगाइएको सुन्तलाबाट निकै बढी आम्दानी हुन्छ। श्रम पनि कम पर्छ।
अन्न खेतीबाट भन्दा सुन्तलाबाट घरखर्च धान्न सजिलो हुने भएपछि किसानहरू सुन्तलाखेतीमा आकर्षित भएका हुन्।
रिब्दीकोट र रैनादेवी छहराका अधिकांश किसानले पाखोबारीमा लगाएका बगैँचाबाटै वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गरेका छन्।
किसानहरू कात्तिक लागेपछि फाटफुट रूपमा सुन्तला बेच्न सुरु गर्छन्। मध्य मंसिरमा आइपुग्दा उनीहरू सुन्तला टिपेर बजार पुर्याउने प्रबन्ध गर्न व्यस्त हुन्छन्। पाकेका सुन्तलाले बगैँचा पहेँलै भएको छ।
यही मौकामा रिब्दीकोट गाउँपालिका–७, पालुङ मैनादीमा शनिबार (भोलि) सुन्तला महोत्सव हुँदैछ। रिब्दीकोटमा पहिलोपटक सुन्तला महोत्सव हुने लागेको हो।
रिब्दीकोट गाउँपालिकाभरिमा ७ नम्बर वडाका अधिकांश अधिकांश किसान सुन्तलाखेतीमा लागेका हुनाले यही वडामा महोत्सव आयोजना गरिएको हो।
महोत्सव आयोजना गर्न वडा कार्यालय र ‘मैनादी कृषि सहकारी संस्था लिमिटेड’ ले सहकार्य गरेका छन्।
रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीका अनुसार सुन्तला खेतीप्रति किसानहरूको आकर्षण बढ्दै गएकाले खेतीमा निरन्तरताका लागि प्रोत्साहन गर्न र सुन्तलाको बजारीकरणमा सहयोग पुर्याउने उद्देश्यले एक दिनको महोत्सव आयोजना गरिएको हो।
महोत्सवमा दाना सुन्तलासँगै सुन्तालका परिकारहरू पनि राखिनेछन्। किसानले सुन्तलाखेतीको माटो शिविर र प्लान्ट (बिरुवा) क्लिनिकको अवसर पनि पाउने छन्।
किसानलाई सुन्तलासँगै गर्न सकिने अन्य खेती सुन्तलाखेतीको प्रविधिबारे जानकारी गराइनेछ। सुन्तला बगैँचा अवलोकनको कार्यक्रम पनि छ। विषादी प्रयोगबारे चेतनामूलक कार्यक्रम पनि हुनेछ। उत्कृष्ट कृषकहरूलाई सम्मान गरिनेछ।
सुन्तला खाने प्रतियोगिता पनि हुनेछ। यो प्रतियोगिता कसले धेरै सुन्तला खान सक्ने भन्ने हो। महोत्सवको आकर्षणमध्ये यो पनि एउटा हो।
गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले सानै भए पनि स्थानीय सरकारको सहयोगले कृषकहरूलाई प्रोत्साहन मिल्ने विश्वासले महोत्सव आयोजना गरिएको बताइन्।
वडा नम्बर ७ का वडाध्यक्ष दानबहादुर कुँवरका अनुसार वडामा दुई सयभन्दा बढी किसानहरू व्यवसायिक रूपमा सुन्तला खेतीमा लागेका छन्। धेरैजसो किसानले सुन्तलाखेती बढाउँदै लगेपछि सहकारी संस्था मार्फत बजारीकरणको प्रबन्ध गरिएको छ।
मैनादी कृषि सहकारी संस्थाका अध्यक्ष वेनबहादुर पुनका अनुसार गत वर्ष वडा नम्बर ७ को पालुङ मैनादीबाट मात्रै पनि पौने दुई करोड रुपैयाँको सुन्तला बिक्री भएको थियो।
‘गत वर्षको तुलनामा यस वर्ष फल दिने बोट धेरै छन्। फल पनि राम्रो छ,’ पुन भन्छन्, ‘यस वडाबाट मात्रै कम्तीमा सवा दुई करोड रुपैयाँको सुन्तला बिक्री हुने अनुमान छ।’
गाउँपालिका अध्यक्ष कार्कीका अनुसार रिब्दीकोट गाउँपालिकाबाट गत वर्ष साढे चार करोड रुपैयाँको सुन्तला बिक्री भएको थियो। गाउँपालिकाभरिमा कम्तीमा १५ सय किसान व्यवसायिक सुन्तला खेतीमा लागेका छन्।
हाल किसानहरूले बोटबाटै प्रतिकिलोग्राम ६५ देखि ७० रुपैयाँमा सुन्तला बेचिरहेका छन्।
यहाँको सुन्तला बुटवल, भैरहवा, पोखरा, काठमाडौं र जनकपुरसम्म पुग्ने गरेको छ। रिब्दीकोटमा करिब ४५ वर्षअघि एक–दुई परिवारले व्यावसायिकरूपमा सुन्तलाखेती सुरु गरेका थिए। हाल सुन्तला नै अधिकांश किसानको आम्दानीको मुख्य स्रोत बनेको छ।
बारीमा आउने व्यापारीले ढुवानीको प्रबन्ध आफैँ गर्छन्। बाँकी सुन्तला बजार पुर्याउन सहकारी संस्थाले समन्वय गर्छ।
‘सहकारी संस्थाले बजारीकरणको जिम्मा लिएपछि सजिलो भएको छ,’ स्थानीय किसान कान्ताकुमारी कुँवर भन्छिन्, ‘छोराहरूले सुन्तलाका बिरुवा रोपिदिएका थिए। अहिले मैले पेन्सन बुझेजस्तै गरेर पैसा पाएकी छु।’
कान्ताकुमारीले गत वर्ष दुई लाख रुपैयाको सुन्तला बेचेकी थिइन्। यस वर्ष आम्दानी बढ्ने उनको अपेक्षा छ। अर्की किसान माया कुँवरले आफूले वार्षिक पाँच लाख रुपैयाँको सुन्तला बेच्ने गरेको बताइन्।
सुन्तलाखेती रिब्दीकोट गाउँपालिकाको पहिचान बनेको छ। किसानको प्रोत्साहनका लागि गाउँपालिकाले प्रति किलोग्राम दुई रुपैयाँ अनुदान उपलब्ध गराउँदै आएको छ।
आगामी वर्षदेखि बिरुवा खरिद गर्न, बिरुवा रोप्ने खाडल खन्न र रोग कीरा नियन्त्रण गर्न पनि सहयोग गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष कार्कीको भनाइ छ।
सुन्तला खेती गर्ने किसानहरूको तथ्यांक संकलन, उत्पादन, कारोबारको अवस्था र मूल्य निर्धारण लगायतमा पनि सहकारी संस्थामार्फत सहयोग गर्ने योजना छ।