कपिलवस्तुको शुद्धोधन गाउँपालिका–३, लवनीका किसान रामसेवक यादव हरेक वर्ष दुईपटक खेतमा आगो लगाउँछन्। मंसिरमा धान र चैत–वैशाखमा गहुँ भित्र्याएपछि खेतमा रहेको बाँकी नलमा आगो लगाउँछन्। यसो गर्दा उनलाई अर्को बालीका लागि खनजोत गर्न सजिलो हुन्छ।
पहिले हँसियाले काटेको धान र गहुँ खेतमै सुकाएर मुठा पार्दै खलोमा ल्याउने र अन्न झार्ने चलन थियो। अहिले कम्बाइन हार्वेस्टरले क्षणभरमै धान र गहुँको नल र दाना छुट्ट्याउँछ। कम्बाइन हार्वेस्टरले धान र गहुँको बोट अर्थात् नलको आधा भाग खेतमै छोडिदिन्छ।
खेतमा रहेको नल ननिकाल्दा खनजोत गर्न कठिन हुन्छ। काटेर निकाल्न खर्चिलो हुन्छ। यसकारण नल नष्ट गर्न खेतमा आगो लगाउने चलन सुरु भएको हो।
रुपन्देही, कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका दक्षिणी भेगमा धान र गहुँको नलमा आलो लगाउनु सामान्य भएको छ।
यसरी आगो लगाउँदा खेत, आली र कान्लामा उम्रेका काँडा प्रजातिका झारपात नष्ट हुन्छन् र बाली नोक्सान गर्ने किराफट्यांग्रा पनि मर्छन् भन्ने किसानहरूको बुझाइ छ।
‘मेसिनले धान काटेर नल ननिकाली जोत्दा ट्याक्टरमा नल बेरिन्छ। काटेर निकाल्न खर्चिलो हुन्छ। आगो लगाएपछि सबै एकै पटक जलेर खेत सफा हुन्छ,’ रामसेवक भन्छन्, ‘आगो लगाइदिएपछि झुसिलकिरा र फट्यांग्रा मर्छन्। काँडा पनि डढेर खेत सफा हुन्छ। अर्को बाली लगाउन सजिलो हुन्छ।’
कृषि विज्ञानका जानकारहरूका अनुसार आगो लगाउँदा खेतमा राम्रो हुन्छ भन्ने धारणा गलत हो। नलमा आगो लगाउँदा माटोमा भएका उपयोगी जीवहरू नष्ट हुन्छन् र माटोको उर्वराशक्ति कम हुँदै जान्छ, उब्जनी घट्छ।’
कृषि ज्ञान केन्द्र रुपन्देहीका प्रमुख शिवप्रसाद अर्यालका अनुसार खेतमा आगो लगाएपछि माटो खुकुलो बनाउने सूक्ष्म जीवहरू नष्ट हुन्छन् र माटोको उर्वराशक्ति घट्दै जान्छ।
माटोमा बालीबिरुवालाई चाहिने पोषक तत्वसँगै अनगन्ती सूक्ष्म जीवहरू हुन्छन्। तीन जीवले माटोमा रहेको खाद्यतत्व टुक्र्याएर बिरुवाले ग्रहण गर्न सक्ने बनाउँछन्।
‘नलमा आगो लगाउँदा उब्जनी घट्छ भन्ने कुरा किसानलाई बुझाउन सकिएको छैन। खेतभरि फैलिने गरी नलमा आगो लगाउँदा मित्र जीवहरू नष्ट हुन्छन्,’ उनी भन्छन्, ‘सूक्ष्म जीव डढेर नष्ट भएपछि बिरुवाले माटोमा भएको खाद्यतत्व लिन सक्दैन। यसो भएपछि उब्जनी घट्छ।’
आगो लगाउँदा खेतमा भएका किरा फट्यांग्रा नष्ट हुन्छन् र खरानीले माटो खुकुलो हुन्छ भन्ने भ्रम किसानहरूमा व्याप्त छ।
आगो लगाउँदा जमिनको सतहमा रहेको नाइट्रोजन, फस्फोरस, पोटास लगायतका पोषक तत्व पनि नष्ट हुन्छन्। झारपात र बुटा डढेको खरानीमा बालीनालीलाई चाहिने सबै तत्व हुँदैन।
वातावरण क्षेत्रका जानकार युवराज कँडेलका अनुसार खेतमा गहुँ र परालको नलमा आगो लगाउँदा पर्यावरणीय सन्तुलनमा असर पर्छ।
वर्षायाममा पानीसँगै रहेका सूक्ष्म जीव र गँड्यौला, भ्यागुता, खुम्ले किरा, घोँगी जस्ता प्राणी धान काटेपछि ओसिलो ठाउँ खोज्दै धानको बोटको फेदमा बस्छन्। आगो लगाएपछि ती सबै मर्छन्।
‘धान काट्ने समय गँड्यौलाको प्रजनन समय पनि हो। खेत ओसिलो हुँदा सतहमा हुने गँड्यौला, भ्यागुत्ता र अन्य उपयोगी जीवहरू धान काटेपछि माटोमुनि घुस्रिएर बस्छन्। यी जीवले माटो खुकुलो बनाउँछन्,’ कँडेल भन्छन्, ‘यी जीवन नष्ट हुनु किसानका लागि ठूलो क्षति हो। यस्तो क्षतिको परिणाम बिस्तारै देखिन्छ।’
माटोको उर्वराशक्ति बढाउन गँड्यौला अत्यन्त उपयोगी जीव हो। कृषिविज्ञहरू गँड्यौलालाई ‘प्राकृतिक हलो’ भन्छन्। गँड्यौलाले माटो खुकुलो बनाउन मद्दत गरेको हुन्छ। जमिनका मसिना वनस्पति खान्छ र त्यसले दिने मल बालीका लागि धेरै लाभदायक हुन्छ।
धानको र गहुँको नलमा गरी वर्षमा दुई पटक आगो लगाउँदा खेतमा गड्यौँला घटेको उनले बताए। उनका अनुसार हिउँद याममा नलमा आगो लगाउँदा जमिनको पाँच इन्च गहिराइसम्म रहेका जीवाणुहरू तापले नष्ट हुन्छन्।
आगो लगाउँदा प्वालमा बस्ने सर्प र माटो मुनि बसेका कछुवा पनि मर्ने गरेका छन्। वायुप्रद्रूषण पनि बढ्छ।
हिउँद याममा हिमाली क्षेत्रबाट चिसो छल्न तराई झरेका चराचुरुङगी तराईका समथर फाँट र सिमसारमा चर्छन्। धान काटेपछि खेतमा झरेको धान, किराफट्यांग्रा, मसिना वनस्पति इत्यादि खान खेतमा आउने चरा पनि देखिन कम भएको छ।
तराई क्षेत्रका खेतमा आगो लगाउने प्रवृत्तिका कारण चराको प्रजनन् र विकासमा असर पारेको कँडेलको भनाइ छ।
‘आहार नपाइने क्षेत्रमा चराचुरुंगी बस्दैनन्’ उनी भन्छन्, ‘माटो उर्वर बनाउन र वातावरण स्वच्छ राख्न चराचुरुंगी र मसिना जीवनहरू आवश्यक हुन्छ।’
कृषि ज्ञानकेन्द्र नवलपरासीका प्रमुख रवीन्द्र चौवेका अनुसार किसानहरूले खेतमा आगो लगाउँदा खेतीबालीको चक्रमा पनि असर पर्छ। पशुआहारको अभाव पनि बढ्छ।
‘बाली स्याहारेपछि तुरुन्तै खेत जोतेर धान र गहुँको नल खेतमै कुहाउन सके प्रांगारिक मल बन्थ्यो। आगो लगाएपछि त भएको मल र रासायनिक तत्व पनि नष्ट हुन्छ,’ चौवे भन्छन्, ‘सजिलोको लागि आगो लगाउँदा कृषि उत्पादनमा नराम्रो असर पर्छ।’
कृषि ज्ञानकेन्द्रले खेतमा आगो लगाउँदा हुने असरबारे बुझाउन चेतनामूलक कार्यक्रम गर्ने गरेको भए पनि किसानहरूले बेवास्ता गरेको उनको भनाइ छ।
कम्बाइन हार्वेस्टरले छाडेको लामो नल स्ट्रारिपर (भुसा काट्ने) मेसिनले काटेर पशुआहारको रूपमा प्रयोग गर्ने किसानहरू पनि छन् तर यस्तो संख्या नगन्य छ।
चौवेका अनुसार आगो लगाउनुको साटो नल काट्न प्रोत्साहनका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना र स्मार्ट कृषि कार्यक्रम मार्फत किसानहरूलाई अनुदानमा स्ट्रारिपर दिने गरिएको छ।
स्ट्रारिपर प्रयोग गर्न पनि किसानहरू अनिच्छुक देखिएको उनले बताए।
लवनीका अर्का किसान जयप्रकाश चौधरीका अनुसार नल काटेर भुसा बनाउनु निकै खर्चिलो हुन्छ। खेतमै डढाएपछि सबै झन्झट सकिन्छ। खेतमा आगो लगाउँदा धुवाँले वातावरण प्रदूषण हुन्छ भन्ने थाहा भए पनि उब्जनी घट्छ भन्ने जानकारी नभएको उनको भनाइ छ।
हिउँदमा तराईको आकाशमा बाक्लो तुवाँलो लाग्ने गर्छ। वातावरणविदहरूका अनुसार नलमा आगो लगाउनुले पनि यस्तो तुवाँलो लाग्ने गरेको हो। तुवाँलो लाग्ने क्रम हरेक वर्ष बढ्दो छ। यसले मानव र अन्य प्राणीको श्वासप्रश्वासमा असर पुर्याउँछ।