सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल दोब्बर मूल्यमा बिक्री वितरण गरेको भेटिएको छ।
रासायनिक मल तथा विषादी बिक्री वितरणको अनुमतिसमेत नलिएका व्यवसायीले किसानलाई अनुदानको मलमा कालोबजारी गरेको भेटिएको पोखरा महानगरका कृषि महाशाखा प्रमुख मनहरी कडरियाले बताए।
‘पोखरामा रासायनिक मलमा कालोबजारी भएको गुनासो आएपछि हामीले अनुगमन गरेका थियौं, अनुगमन गर्दा स्वीकृति नै नलिइकन अनुदानको मल दोब्बर मूल्यमा बेचेको भेट्यौं,’ उनले भने।
महानगरका उपप्रुमख एवं अनुगमन समिति संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा बुधबार पोखराका ५ वटा कृषि पसलमा अनुगमन भएको थियो। अनुगमनका क्रममा पोखराको मालेपाटनमा रहेको कोइराला कृषि सामग्री भण्डारले अनुमति नलिइकन दोब्बर मूल्यमा मल बिक्री गरेको पाइएको कडरियाले बताए।
मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा पोखरा महानगरले रासायनिक मलको मूल्य निर्धारण गरेको छ। पोखराको मालेपाटनमा सरकारले अनुदान उपलब्ध गराएको रासायनिक मलको मूल्य प्रतिकिलो १९ रुपैयाँदेखि २१ रुपैयाँ तोकिएको छ। मल बिक्री गर्ने अनुमति नै नपाएका व्यवसायीले प्रतिकिलो ४० रुपैयाँमा बेचेको भेटिएको छ।
कडरियाका अनुसार मल बिक्री गर्न सरकारबाट अनुमति लिनुपर्छ भने पोखरा महानगरमा दर्ता गर्नुपर्छ। यस्तै, मलको स्टक, लागत र खरिद बिक्रीको विलसमेत भेटिएको छैन।
कोइराला कृषि सामग्री भण्डारले जस्तै पोखरा–५ मालेपाटनकै आर्दश कृषि सामग्री, सुरक्षा कृषि सामग्री भण्डार, शोभा ट्रेडर्स कृषि औजार भण्डारले पनि अनुमति नलिइकन दोब्बर मूल्यमा मल बिक्री गरेको भेटिएको छ।
उनीहरूले अनुमति बिना नै बिक्री गरिरहेको रासायनिक मल फिर्ता गर्न र सम्पूर्ण कागजातसहित बिहीबार जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिएको कडरियाले बताए।
पोखरा महानगरपालिका मल वितरण व्यवस्थापन समितिको साउन १२ गते बसेको बैठकले सरकारी अनुदान प्राप्त मलको मूल्य तोकेको थियो।
समितिले मल डिपोदेखि बिक्री केन्द्रको दूरीका आधारमा प्रतिकेजी १९ रुपैयाँ ४५ पैसादेखि २१ रुपैयाँ ५ पैसासम्म मूल्य निर्धारण गरेको छ। डिएपीको ४८ रुपैयाँ ४५ पैसादेखि ५० रुपैयाँ ५ पैसा तोकिएको छ। पोटासको मूल्य ३६ रुपैयाँ ४५ पैसादेखि ३८ रुपैयाँ ५ पैसासम्म निर्धारण गरिएको छ।
मल बिक्रेताले प्लाष्टिक झोलाको २ रुपैयाँसम्म लिन पाउनेछन्। पोखराका २६ वटा वडाका ६७ केन्द्रलाई अनुदानको मल बिक्री वितरणको अनुमति दिएको महानगरले जनाएको छ।
पोखरा बजारमै रासायनिक मलमा कालोबजारी भेटिएको भन्दै आवश्यक अनुसन्धान गरेर कारबाही गर्न प्रशासनलाई आग्रह गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताइन्। मल बिक्री वितरणको अनुमतिसमेत नलिएका र तोकिएको भन्दा बढी मूल्य लिएका व्यवसायीलाई कारबाही हुने भन्दै उनले यसबारे सूचना दिन पनि आग्रह गरेकी छिन्।