नेपाली किसानहरूले मध्यपहाडदेखि तराईसम्म धान भित्र्याउने तयारी थाल्दै गर्दा हिमाली भेगका किसान स्याउ टिप्दै छन्। विश्वमा खाइने फलफूलमा स्याउ अग्रपंक्तिमा रहेको मानिन्छ। उपभोक्ताहरूमाझ मुस्ताङको स्याउ प्रसिद्ध छ।
हिमालपारिको जिल्ला मुस्ताङमा स्याउ खेतीमा रमाएका कर्मा गुरुङको स्वभाव पनि स्याउ जस्तै रसिलो छ।
उनको स्याउबारी घुम्न जाने आफन्त र पर्यटकहरू लटरम्म फलेको स्याउका बोट पृष्ठभूमिमा राखेर फोटो खिच्छन्। बारीबाटै स्याउ किन्छन्।
स्याउबारी घुम्न आउनेलाई कर्मा सोध्छन्– यो के फलेको हो?
धेरैको जवाफ हुन्छ– स्याउ।
अनि कर्मा भन्छन्– स्याउ होइन, पैसा फलेको हो।
उनी थप प्रष्ट पार्छन्– यो एउटै हाँगोमा पाँच किलो स्याउ छ। सुनौलो स्याउको बजार मूल्य प्रतिकिलो दुई सय रूपैयाँ छ। एउटै हाँगामा हजार रूपैयाँको स्याउ फलेको छ। त्यसैले भनेको हाँगा हाँगामा स्याउ हैन पैसा फल्छ।
मुस्ताङको घरपझोङ गाउँपालिका–५, ढुम्बाका किसान कर्माको स्याउबारीमा ३५ हजार बोट छन्। गत वर्ष उनले दुई सय टन अर्थात् दुई लाख किलो स्याउ बेचे। यसबाट तीन करोड रूपैयाँ प्राप्त भयो।
यसपालि पनि स्याउ टिप्ने समय भएको छ। कालीगण्डकी करिडोर सडकमा यातायात नियमित भएको छ। कर्मा यति बेला पाकेका स्याउ टिप्दै मेसिनले ‘ग्रेडिङ’ गर्न व्यस्त छन्। ग्रेडिङ गरेर प्याक गर्दै काठमाडौं पठाउँछन्।
कर्माका अनुसार मुस्ताङको स्याउ रसिलो र स्वादिलो त छँदैछ, अर्गानिक भएकाले गुणस्तरमा विश्वभर प्रतिस्पर्धा गर्न सक्छ।
‘भारत र चीनबाट आउने स्याउको परिमाण र मूल्यमा प्रतिस्पर्धा गर्न नसकौँला, तर गुणस्तरमा सक्छौँ,’ उनी दाबीका साथ भन्छन्, ‘हामीले फलाएका स्याउ अर्गानिक छ। गुणस्तरमा विश्वकै एक नम्बरमा आउँछ।’
कर्माले व्यावसायिकरूपमा स्याउ खेती सुरू गरेको आठ वर्ष भयो। उनका बुबाले करिब ५० वर्षअघि गाउँमा स्याउ भित्र्याएका थिए। त्यो समय गाउँका १५ परिवार मिलेर स्याउ रोपेका थिए।
स्याउ फल्यो तर बजार पुर्याउन सडक थिएन। हिँडेर पोखरा आउन कम्तीमा सात दिन लाग्थ्यो। गाउँको स्याउ बजार पुर्याउन सम्भव भएन। बिस्तारै पाँच परिवार किसानले ध्यान दिन छाडे।
दिन बित्दै जाँदा स्याउ खेती तीन परिवारमा सीमित भयो। ती तीन परिवार दाजुभाइ थिए। हुँदाहुँदा कर्माका बुबाले मात्र स्याउ खेती जोगाइराखे।
‘यहाँबाट बोकेर लगेको स्याउ पोखरा नपुग्दै कुहिएर फाल्नुपर्यो। यता बोटमै कुहिएर गयो,’ कर्माले भने, ‘त्यतिबेला अहिलेजस्तो वाइन, ब्रान्डी बनाउने चलन थिएन। स्याउ खेर फाल्नुपरेको सम्झँदा अहिले पनि नरामाइलो लाग्छ।’
उनका बुबा पेम्बा गुरूङले मुस्ताङकै मार्फाबाट स्याउका बिरूवा गाउँमा भित्र्याका थिए। मार्फामा स्याउ प्रवर्धन गर्न २०२३ सालमा सरकारले ‘अर्चाड कम नर्सरी थाक मार्फा’ नामको फार्म खोलेको थियो। यस फार्मको नाम चार पटक फेरिएर हाल ‘शीतोष्ण बागवानी विकास केन्द्र’ भएको छ।
केन्द्रका प्रमुख पद्मनाथ आत्रेयका अनुसार केन्द्रले मुस्ताङसहित विभिन्न हिमाली जिल्लामा स्याउका बिरूवा पठाउँछ। मार्फामा पहिलोपटक स्याउ फार्म खोल्दा बुद्धिरत्न शेरचन फार्म प्रमुख थिए। स्थानीयवासी शेरचनलाई गाउँलेहरू ‘स्याउबाजे’ भनेर सम्बोधन गर्थे।
कर्माका बुबाले ढुम्बा गाउँमा स्याउका बिरूवा लैजाँदा केन्द्रमा पासाङ शेर्पा प्रमुख थिए। शेर्पाले नै गाउँलेहरूलाई बिरूवा बाँडेर स्याउ खेतीमा प्रेरित गरेका थिए। त्यसअघि मुस्ताङमा स्याउ थिएन।
मुस्ताङमा स्याउ फार्म खोल्न भारत सरकारले सहयोग गरेको थियो। केन्द्र प्रमुख आत्रेयका अनुसार पहिलोपटक स्याउका बिरुवा पनि भारतको हिमाञ्चलबाट ल्याइएको थियो।
बुबाको निधन भएपछि कर्माले व्यावसायिकरूपमा स्याउ खेतीमा लाग्ने सोच बनाए। बुबाले बनाएर जोगाएको स्याउबारी छोराले फराकिलो बनाए। अहिले उनको स्याउ खेती ६ सय रोपनीमा फैलिएको छ। उनका अनुसार मुस्ताङ जिल्लाभरिमा सबैभन्दा ठूलो स्याउबारी यही हो।
निलगिरि हिमालमुनिको ढुम्बा गाउँमा स्याउ खेती सजिलो थिएन। आधुनिक उपकरण थिएन। बेनी–जोमसोम सडक बनेकै थिएन। कुटो, कोदालोका भरमा कतै ढुंगा पन्छाउँदै त कतै ढुंगाको गारो लगाउँदै स्याउ स्याउबारी बनाएका थिए।
निलगिरि हिमालको हिउँ पग्लेर बगेको खोला थुनेर स्याउमा सिचाइँको प्रबन्ध गरेका थिए।
बुबाको मिहिनेत परेको त्यही स्याउबारी कर्माले विस्तार गरे। जमिन भाडामा लिएर पनि स्याउ रोपे। खेतीमा आधुनिक प्रविधि प्रयोग गरेका छन्। स्याउको जरामै पानी पुर्याउन ‘थोपा सिँचाइ’ प्रविधि अपनाएका छन्। सडक सुविधाले आधुनिक प्रविधि प्रयोग गर्न सजिलो बनाएको छ।
कर्मा भन्छन्, ‘स्याउका रूखलाई जति पानी चाहिने हो त्यति पानी दिन इजरायली प्रविधिको थोपा सिँचाइ प्रयोग गरेको छु। मोटरबाटो गाउँमै जोडिएको छ। आधुनिक प्रविधि प्रयोग गर्न सजिलो भएको छ।’
स्याउ खेती विस्तार गरे पनि उनले राम्रो उत्पादन लिन सकेका थिएनन्। उनका अनुसार स्याउको बिरुवा हुर्काएर फलाउन सजिलो छैन। भन्छन्, ‘स्याउका बिरुवालाई मान्छेका बच्चालाई जस्तो स्याहारसुसार चाहिन्छ।’
उत्पादन सन्तोषजनक नभएपछि कर्माले नेदरल्यान्डका एकजना स्याउविज्ञसँग सम्पर्क गरे। ती विज्ञलाई आफ्नो समस्या सुनाए। उनलाई मुस्ताङ बोलाए।
उनले भने, ‘ती विज्ञले सिँचाइ, गोडमेल, हाँगाको सुरक्षा लगायतका प्रविधि सिकाए। मुस्ताङ क्षेत्र स्याउकै लागि बनेको हो भनेर हौस्याए।’
उनले भनेअनुसार गर्दै जाँदा उत्पादन बढ्न थाल्यो।
कर्माका अनुसार निलगिरि र धौलागिरि हिमालबीच रहेको कालीगण्डकी उपत्यकाको माटो, उत्तरी हावा र हिमालको चिस्यान स्याउका लागि उत्तम छ। जोमसोम वरिपरिका सबै डाँडाकाँडा स्याउ खेतीका लागि उपयुक्त छन्। कालीगण्डकीले बनाएका सबै बगरमा स्याउ उत्पादन हुन सक्छ। मुस्ताङमा व्यक्तिका नाममा जग्गा थोरै छ, सार्वजनिक जग्गा धेरै छ।
सरकारले यस्तो सार्वजनिक जग्गा उपयोग गर्ने नीति ल्याउनुपर्ने कर्माको धारणा छ।
‘सरकारले सबै सार्वजनिक जग्गामा सामूहिक खेती गर्न दिनुपर्छ। कालीगण्डकी उपत्यका बनेकै स्याउ रोप्नका लागि हो,’ उनी भन्छन्, ‘अहिले पनि नेपालमा ११ अर्बको स्याउ विदेशबाट आयात हुने गरेको छ। मुस्ताङका सबै ठाउँम स्याउ रोप्ने हो भने नेपालले विदेशबाट कमसल स्याउ किन्नु पर्दैन। निर्यात गर्न सक्छ।’
स्याउ उत्पादन ४० प्रतिशत घट्यो
कृषि ज्ञान केन्द्र, मुस्ताङका अनुसार यसपालि जिल्लामा स्याउ उत्पादन ३० देखि ४० घटेको छ। गत वर्षको तुलनामा एकैपटक यसरी उपत्पादन घट्नुको कारण हावापानीमा आएको परिवर्तन हो।
कृषि ज्ञान केन्द्रको रेकर्डअनुसार गत वर्ष मुस्ताङबाट ६ हजार पाँच सय टन स्याउ बिक्री भएको थियो। त्यसबाट किसानले करिब ६० करोड रूपैयाँ भित्र्याएका थिए। यसपालि चार हजारदेखि साढे चार हजार टनमात्र उत्पादन हुने अनुमान रहेको केन्द्रका प्रमुख प्रकाश बस्ताकोटीको भनाइ छ।
‘किसान र हाम्रो (कृषि ज्ञान केन्द्र) कारणले उत्पादन घटेको होइन। जलवायु परिवर्तनका कारणले हो,’ उनी भन्छन्, ‘हाम्रो काबुबाहिरको परिस्थितिले मुस्ताङमा उत्पादन घटेको छ। किसान दुःखी छन्।’
बस्ताकोटीका अनुसार गत वर्ष हिउँदमा हिउँ परेन। हिउँले बनाउने चिस्यान हुन पाएन। चैत अन्तिम सातादेखि वैशाखभरि भएको वर्षाले स्याउको फूल धेरै झार्यो। यस कारणले पनि उत्पादन घट्यो।
हिमालपारि अत्यन्तै कम वर्षा हुने भएकाले त्यो क्षेत्रलाई ‘रेन स्याडो जोन’ भन्ने गरिएको थियो। अहिले मुसलधारे वर्षा हुन थालेको स्थानीय किसानहरू बताउँछन्। बेमौसमी वर्षा र बढ्दो तापक्रमले स्याउलाई मात्र होइन, मुस्ताङमा हुने सबै प्रकारका फलफूल र तरकारीबालीमा असर पारेको बस्ताकोटीले बताए।
उनले भने, ‘यसपालि स्याउ मात्र होइन, मुस्ताङमा आलु उत्पादन पनि घट्यो। सुख्खा बढेपछि बालीनालीमा कीरा बढ्छ। पानी बढी हुँदा पनि रोगको संक्रमण बढ्छ।’
मुस्ताङमा केही वर्ष अघिसम्म नदेखिएका रोग र कीरा देखा पर्न थालेका छन्। अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने भएकाले मुस्ताङको खेतीपातीमा रासायनिक मल र विषादी प्रयोग निषेध छ।
कर्मा भन्छन्, ‘मुस्ताङका किसानले वातावरणमा असर पार्ने केही काम गरेका छैनन् तर दुःख हामीले नै पाउनुपरेको छ।’
गत वर्षको तुलनामा उनको बारीमा पनि फल घटेको छ तर केही नयाँ बोटले उत्पादन दिन सुरू गरेकाले उनी यस वर्ष पनि दुई सय टन बेच्ने तयारीमा छन्।
जिल्लाकै ठूलो स्याउ फार्म चलाएका कर्माले ‘कृषि जैविक विविधता प्रणाली’ अपनाएका छन्। मल आफैँले उत्पादन गरेका छन्। स्याउबारीका परागसेचनका लागि मौरी पालेका छन्। कीरा भगाउन र मार्न स्थानीय जैविक विषादी प्रयोग गर्ने गरेका छन्।
भन्छन्, ‘मलका लागि चार सय वटा च्यांग्रा पालेको छु। सय घार मौरी पालेको छु।’
उनलाई च्यांग्रा र महबाट पनि आम्दानी हुन्छ। स्याउको रसबाट बनेको मह गुणस्तरीय हुने भएकाले राम्रो आम्दानी हुन्छ।
कृषि ज्ञान केन्द्रका प्रमुख बस्ताकोटीका अनुसार जिल्लाको सबै कृषि उत्पादन जैविक (अर्गानिक) छ। कुनै किसिमको रासायनिक वस्तु प्रयोग भएको छैन। उच्च हिमाली क्षेत्रमा उत्पादित कृषिबाली जैविक, स्वादिलो र पौष्टिक तत्वले भरिपूर्ण रहेको उनको भनाइ छ।
‘मुस्ताङमा जैविक खेती मात्र हुन्छ। हामीले जैविक खेतीमा जोड दिएका छौँ,’ उनी भन्छन्, ‘यहाँको उत्पादन स्वादिलो र पौष्टिक हुन्छ।’
शीतोष्ण बागवानी विकास केन्द्र मार्फाका प्रमुख आत्रेयले पनि मुस्ताङको कृषिमा जलवायु परिवर्तनको असर परेको बताए। मुस्ताङमा तापक्रम र वर्षा बढ्दै जाँदा कृषि बालीमा रोग र कीराको असर पनि बढ्न थालेको छ।
भन्छन्, ‘मुस्ताङको तल्लो भागमा सिजनमा हिउँ पर्न छाडेको छ। पानी नै नपर्ने ठाउँमा अत्यधिक पानी पर्न थालेको छ। मुस्ताङका खाद्यबालीका अधिकांश प्रजातिलाई चिसो चाहिन्छ तर हिउँ नपर्दा उत्पादनमा घट्न थालेको छ।’
सरकारलाई कर, किसानलाई मार
हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरले कृषि उत्पादन घट्न थालेको छ तर सरकारले चालु वर्षदेखि कर थप गरेको छ। सरकारले बजेटमार्फत कृषि उत्पादनमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि कृषकहरू थप मारमा परेको कर्माको भनाइ छ।
‘सरकारलाई उत्पादन घटेकोमा चिन्ता छैन,’ उनी भन्छन्, ‘नेपाली उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा उल्टै भ्याट लगाएर हामीलाई निरूत्साही पारेको छ।’
कर्माले चालु आर्थिक वर्षमा कम्तीमा ५० लाख रूपैयाँ भ्याट तिर्नुपर्नेछ।
जैविक विधिबाट उत्पादित खाद्यवस्तु ‘ब्रान्डिङ’ गरेर अन्तर्राष्ट्रिय बजारमा पुर्याउन सरकारले सहयोग गर्नुपर्ने उनको भनाइ छ। उनका अनुसार विदेशबाट आउने स्याउमा अत्यधिक विषादी प्रयोग भएको पाइएको छ।
‘हाम्रो स्याउ अर्गानिक हो। स्वादिलो छ भनेर विदेशमा बेच्ने हाम्रो योजना छ। यसमा सरकारको सहयोग चाहिन्छ,’ कर्मा भन्छन्, ‘जलवायु परिवर्तनको मारमा परेका किसानलाई सरकारले सबै किसिमले सहयोग गर्नुपर्छ।
ढुवानीमा अझै छ समस्या
अहिले पनि स्याउ ढुवानीमा समस्या छ। थोरै वर्षा हुनासाथ बेनी–जोमसोम सडक अवरूद्ध हुन्छ। ढुवानीको गाडी एक दिन रोकिँदा पनि स्याउ बिग्रने जोखिम हुन्छ।
बेनी–जोमसोम सडक पूरै कालोपत्र भएपछि मुस्ताङको स्याउ सजिलै ढुवानी हुने र ढुवानी खर्च कम भएर मूल्य पनि केही कम हुने उनको विश्वास छ।
तस्वीर सौजन्य : कर्मा गुरुङ