मानबहादुर शाहीले पछिल्लो सिजनमा सात क्विन्टल करेला बेचे। अरू तरकारी पनि बिक्री भयो। सबैको राम्रै मूल्य पाए। अब अर्को सिजनका लागि खाली भएको जमिनमा काम गर्न थालिसकेका छन्।
सुर्खेतको वीरेन्द्रनगर–९ पर्सेनी क्षेत्रमा पर्ने चाँदनी चोकका मानबहादुरसँग अघिल्लो सिजनमा २७ बोट करेलामा मात्र २० क्विन्टल उत्पादन भएको अनुभव पनि छ। त्यति बेला उनले यति धेरै करेला फल्लान् भनेर आशै गरेका थिएनन्।
'करेला उत्पादन सोचेभन्दा राम्रो हुनुको मुख्य कारण जैविक मलको प्रयोग हो,' उनले भने।
नेपाली सेनाबाट सेवानिवृत्त उनले तरकारी खेती गर्न थालेको सात वर्ष भयो। परिवारले गर्दै आएको परम्परागत खाद्यान्न बाली छोडेर तरकारी खेतीमा होमिएका थिए। खेती सुरू गरे पनि नयाँ प्रणाली अवलम्बन गरेनन्। जसले गर्दा मानबहादुरले सुरूका वर्षमा खासै लाभ पनि लिन पाएनन्।
'तरकारी खेतीको प्रणाली परम्परागत नै भयो। सुरूसुरूमा विभिन्न जातका तरकारी लगाएँ। वर्षमा पाँच क्विन्टलसम्म मुस्किलले फल्थ्यो,' उनले भने, 'पछिल्लो समय कृषि प्राविधिकको सल्लाहअनुसार जलवायु अनुकूल हुने कृषि प्रविधि प्रयोग गरेँ। त्यसपछि सोचेको भन्दा राम्रो उत्पादन भइरहेको छ।'
सुरूका केही वर्ष तरकारी रोप्ने, गोडमेल गर्ने, मलको प्रयोग लगायत कुरा पुरानै पद्धतिबाट गरे। अहिले त्यो चलन छाडिसके। प्लास्टिक टनेल समेत बनाएर खेती गरेका छन्।
पहिले खेती गर्दा रोग–कीराले सबभन्दा ठूलो समस्या निम्त्याउँथ्यो। उनले पाँच वर्षयता जैविक मल (घरमै तयार पारिएको झोल मल) प्रयोग गर्दै आएका छन्। बजारमा पाइने विषादी प्रयोग गर्दा फाइदा नभएपछि झोल मल प्रयोग गर्न थालेका हुन्। यसपछि तरकारीमा अन्य विषादी प्रयोग घटेको उनले बताए।
पाँच कट्ठा जग्गामा गरिएको तरकारी खेतीबाट मानबहादुरले वार्षिक साढे दुई लाख रूपैयाँ चोखो आम्दानी गर्छन्। तरकारीबाट हुने कमाइ र आफूलाई आउने पेन्सनले उनको परिवारको हरेक खर्च सजिलै टरेको छ।
'खेतीमा सबै गरी ४० हजार जति खर्च हुन्छ होला। परिवार नै काममा लागेकाले कामदारलाई तलब दिनुपरेन,' उनले भने, 'आम्दानीले सहजै खर्च टरेको छ। कमाउन भनेर कतै बाहिरिनुपरेको छैन।'
पछिल्लो समय मानबहादुर जस्तै चाँदनी चोकका अरू धेरै किसान आधुनिक खेती गर्छन्। यहाँका २५ घरपरिवार किसान जलवायु अनुकूल हुने गरी तरकारी खेती गरिरहेका छन्। उनीहरूलाई घरमै तयार पारिने जैविकले निकै साथ दिएको छ।
सोही गाउँकी विनु शाहीले तरकारी खेती गर्न थालेको दस वर्ष भयो। घर नजिकको चार कट्ठा जमिनमा उनको तरकारी खेती छ। पाँच वर्षअघि पाँच क्विन्टल तरकारी फल्न धौधौ हुन्थ्यो। अहिले त्यही जग्गामा एक सिजनमा २० क्विन्टलसम्म फल्छ। कम्तीमा तीन लाख रूपैयाँको कारोबार भइरहेको उनले बताइन्।
'सुरूमा त उत्पादनै भएन। घरमै बनाएको झोल मल प्रयोग गर्न थालेपछि उत्पादन बढेको हो,' विनुले भनिन्, 'बजारमा पाइने विषादीले फाइदा नगर्ने रहेछ भन्ने त्यसपछि मात्र थाहा पायौं।'
पाँच कट्ठा जमिनमा तरकारी खेती गरिरहेका नैनसिंह बिसी एक सिजनमा डेढ लाख रूपैयाँसम्मको कारोबार गर्छन्। झोल मल प्रयोग गर्न थालेपछि तरकारीको मूल्य पनि बढी पाउन थालेको उनले बताए।
'बजारको विषादीले छिट्टै फलाएर हानिकारक तरकारी बजारमा पुर्याउने हो। त्यसले खासै मूल्य पनि पाउँदैन,' उनले भने, 'झोल मल प्रयोग गर्यो भने ढिला फले पनि अर्गानिक र राम्रो फल्छ। यसले मल र विषादी दुवैको काम गर्छ।'
चाँदनी चोकका किसानले सहकारी र कृषिसँग सम्बन्धित अरू परियोजनाको सहयोगमा सामूहिक रूपमै तरकारी खेती गरिरहेका छन्। उक्त गाउँमा बनेको लगनशील लघुउद्यमी महिला कृषि समूहमा २५ किसान परिवार आवद्ध छन्।
'पहिला २२ परिवारले तरकारी खेती गर्थ्यौं, अहिले २५ परिवार पुगिसकेका छौं,' समूहकी अध्यक्ष कृष्णा बिसीले भनिन्, 'सहकारीले बनाइदिएका दुइटा ट्यांकीबाट सिँचाइ गर्न सहज भएको छ। सबै कृषक आम्दानीप्रति सन्तुष्ट हुनुहुन्छ।'
केही वर्षयता गाउँमै कृषि प्राविधिक आएर खेतीबारे सिकाउन थालेका छन्। यसपछि रोग र कीराबाट जोगाउनुका साथै उत्पादन बढाउन किसान सक्षम भएको उनले बताइन्।
'सुरूमा त प्राविधिक पाउनै मुस्किल हुन्थ्यो। समूह बनेपछि भने हाम्रो पहलमा सरकारी र गैरसरकारी संस्थाका प्राविधिकहरू गाउँमै आएर सहयोग गर्नुहुन्छ। सल्लाह पनि दिनुहुन्छ,' कृष्णाले भनिन्।
चाँदनी चोकका किसानहरूले वर्षमा चारै सिजन काउली, बन्दा, बोडी, करेला, टमाटर, आलु लगायत तरकारी खेती गर्छन्।
गाउँको कृषि समूहलाई प्राविधिक सहयोग गर्दै आएको ग्रीन रेजिलियन्ट एग्रिकल्चरल प्रोडक्टिभ इकोसिस्टम (ग्रेप) परियोजनाका कृषि प्राविधिक रामदेव शाहका अनुसार सुरूमा तरकारी खेती गरिरहेका किसानले जैविक मलमा विश्वास गरेका थिएनन्। रासायनिक मल प्रयोग गरेर समस्या भोगिरहेका उनीहरूको बारीमै त्यसको प्रत्यक्ष प्रयोग गरेर नतिजा देखाएपछि बल्ल राजी भएका हुन्।
अहिले उनीहरू आफैंले यो मल प्रयोग गरिरहेको उनले बताए।
'गाउँमा पुगेर शत्रुजीव व्यवस्थापन प्रविधि मात्र अपनाएनौं, अनुकूलित खेती पद्धतिमा जैविक मल प्रयोग गर्यौं,' उनले भने, 'पानी, मल र बेर्नामा लाग्ने रोगको औषधि-उपचारमा समेत जैविक विधि अपनाएपछि उत्पादनमा ठूलो परिवर्तन आएको छ। गाउँका किसानका बारीमा तरकारी बाली मात्र होइन, अन्य उत्पादन समेत वृद्धि भइरहेको छ।'
उनका अनुसार घरमै विभिन्न प्रजातिका बोटबिरूवाको प्रयोगबाट बनाइने झोल मल हरेक सिजनको बालीमा अनुकूल हुन्छ। यो मल अमिलो, तीतो, टर्रो स्वाद भएका बोटबिरूवाहरू; बकाइनो, नीम, तीतेपाती, असुरो, बोझो, सुर्ती, केतुके, वनमारा, लहरे तरकारीका पात, गाईभैंसीको पिसाब र गोबर प्रयोग गरेर घरमै बनाउन मिल्छ।
त्यस्तै सुरूमा परम्परागत खेती प्रणालीमा निर्भर चाँदनी चोकका किसानले एकै बारीमा थुप्रै प्रजातिका बाली रोप्थे। यसले विभिन्न प्रकारका रोग लागेर सोचेजस्तो उत्पादन हुन सकेको थिएन।
'कृषिमा जलवायु अनुकूलित पद्धति अवलम्बन गर्दा उत्पादनमा परिवर्तन आएको छ,' कृषि प्राविधिक रामदेवले भने।