कृषि गणना २०७८ अनुसार १० वर्षमा कृषि गर्ने जग्गा घटेको छ। कृषक परिवारको संख्या बढेको छ।
कृषि गणना २०६८ को तुलनामा कृषक परिवारको संख्या करिब तीन लाख बढेको छ। कृषि कार्य गरिरहेको जग्गा भने तीन लाख हेक्टरले घटेको छ।
कृषि गणना २०७८ अनुसार नेपालमा जम्मा ४१ लाख ३० हजार ७८९ कृषक परिवारले २२ लाख १८ हजार ४१० हेक्टर जग्गामा कृषि कार्य गरेका छन्। कृषि गणना २०६८ अनुसार ३८ लाख ३१ हजार ९३ कृषक परिवारले २५ लाख २५ हजार ६३९ हेक्टर जग्गामा कृषि कार्य गरेका थिए।
तर, कृषक परिवारको संख्या भने सहरमा केन्द्रित भएको छ। नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका भित्रका किसान परिवार सहरमा पर्छन्।
२०७८ को कृषि गणना संघीयतापछिको पहिलो गणना हो। ७५३ पालिकाबाट नै कृषिका तथ्यांक समावेश गरिएको छ। यो तथ्यांकले किसान परिवारको संख्या सहरमुखी भएको र कृषि जग्गा गाउँमा रहेको देखिन्छ।
को हुन् कृषक परिवार? कसलाई कृषक परिवार भन्ने? राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक बद्रिकुमार कार्कीले कृषक परिवार पहिचान गर्ने क्रममा चार भागमा विभाजन गरेर परिभाषा गरेको बताए जस अनुसार:
हिमाल र पहाडका जिल्लामा कम्तीमा ४ आना र तराईका जिल्लामा कम्तीमा ८ धुर क्षेत्रफलमा बाली लगाएको परिवार
जुनसुकै उमेरका कम्तीमा १ वटा गाई–भैँसी जस्ता ठूला चौपाया पालेको परिवार
कम्तीमा ५ वटा भेडा–बाख्रा जस्ता साना चौपाया पालेको परिवार
चार, माउ चल्ला गरी कम्तीमा २० वटासम्म पाल्तु पन्छी (कुखुरा, हाँस, आदि) पालेको परिवार
यस आधारमा ४१ लाख तीस हजार कृषक परिवार नेपालमा रहेका छन्।
कृषक सहरमा
कृषि गणनाको तथ्यांकअनुसार धेरै कृषक परिवारहरू सहरमा छन्। ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा मात्रै पाँच प्रतिशत अर्थात् दुई लाख ६८ हजार किसान परिवारको संख्या छ। २७६ नगरपालिका भित्र ५१ प्रतिशत अर्थात् २१ लाख २१ परिवार र ४६० गाउँपालिका भित्र जम्मा १८ लाख ४१ हजार अर्थात् ४४ प्रतिशत कृषक परिवार छन्।
सबैभन्दा बढी कृषक परिवार रहेका स्थानीय तहहरूका महानगर, उपमहानगर तथा जिल्लाको सदरमुकाम भएको नगरपालिका छन्। त्यस्तै सबैभन्दा कम कृषक परिवार रहेको स्थानीय तहमा भौगोलिक रूपमा दुर्गम जिल्लाका स्थानीय तहहरू छन्।
सबैभन्दा धेरै कृषक परिवार बस्ने र सबैभन्दा कम कृषि परिवार बस्ने १०/१० पालिकाहरू
सबैभन्दा धेरै कृषक परिवार रहेको पालिकाहरू | सबैभन्दा कम कृषक परिवार रहेका पालिकाहरू |
पालिकाको नाम | कृषक परिवार संख्या | पालिकाको नाम | कृषक परिवार संख्या |
पोखरा महानगरपालिका | ३७ हजार १५६ | नार्पा भूमि गाउँपालिका | १११ |
भरतपुर महानगरपालिका | ३७ हजार ९४ | चामे गाउँपालिका | १७८ |
घोराही उपमहानगरपालिका | २५ हजार ४०७ | छार्का ताङसोङ गाउँपालिका | २८४ |
तुलसीपुर उपमहानगरपालिका | २५ हजार २१६ | नासोँ गाउँपालिका | ३०९ |
धनगढी उपमहानगरपालिका | २० हजार चार | मनाङ ङिस्याङ गाउँपालिका | ३५३ |
मेचीनगर नगरपालिका | १८ हजार ११२ | लो–घेकर दामोदरकुण्ड गाउँपालिका | ३५३ |
भिमदत्त नगरपालिका | १६ हजार ६३२ | लोमन्थाङ गाउँपालिका | ३९६ |
हेटौँडा उपमहानगरपालिका | १६ हजार ३७ | साइपाल गाउँपालिका | ४३४ |
बराहक्षेत्र नगरपालिका | १५ हजार २७९ | थासाङ गाउँपालिका | ४८७ |
बाणगंगा नगरपालिका | १५ हजार १७२ | डोल्पो बुद्ध गाउँपालिका | ५२७ |
किन बस्दैनन् गाउँमा कृषक?
स्थानीय तहअनुसार पहिलो पटक कृषि गणना गरिए पनि नगरपालिका तथा सहर केन्द्रित कृषक परिवारको तुलनामा गाउँ केन्द्रित कृषक परिवारको संख्या कम देखिएको छ।
सहरी क्षेत्रमा कृषि जग्गा कम हुनुका साथै घर घडेरी तथा अन्य औद्योगिक क्रियाकलापमा जग्गाको प्रयोग हुने गर्छ।
तर, गाउँमा जग्गा बाँझो राखेर पनि तुलनात्मक रूपमा सुलभ ठाउँमा कृषि गर्न चाहने भएकोले गाउँपालिकामा कृषि परिवारको संख्या कम देखिएको बताउँछन् पूर्व कृषि सचिव योगेन्द्र कार्की।
उनी गाउँमा कृषक कम हुनुका मुख्यतया: तीन कारण देख्छन्। कृषि उपजले मूल्य नपाउनु, बाटो तथा बिजुलीको सुविधा नहुनु, मल बिउँ र सिँचाइको अभाव हुनु।
'अहिले गाउँको धेरै जनसंख्या विदेशमा छन् विदेशबाट आएर कृषि गर्छ भने पनि उसले सुगम खोज्छ' कार्कीले भने 'जहाँ बाटोको सुविधा छैन आफ्नो उत्पादनले मूल्य पाउँदैन र बजारको पहुँच छैन भने त्यहाँ कृषि गर्दैन बरु बाँझो छोड्छ।'
उनी गाउँको कृषि जग्गा उपयोग गर्नको लागि सरकारले नयाँ रणनीति बनाउनु पर्ने तर्क गर्छन्।
'अहिले पनि हामीले कहाँ कस्तो उत्पादन गर्न उपयोगी हो भन्ने विषयमा किसानलाई जानकारी दिन सकेका छैनौँ' कार्कीले भने 'जहाँ जे उत्पादनको बढी सम्भावना छ त्यसलाई प्राथमिकता दिएर बहुखेतीहरू गर्न सकियो भने गाउँको जग्गा व्यावसायिक कृषि गर्नको लागि सहयोग पुग्छ।'
खाद्यको लागि कृषि अभियानका संयोजक उद्धव अधिकारी कृषि उपजको सुरक्षा नहुनुको कारणले गर्दा गाउँमा कृषि गर्नेको परिवार घटेको बताउँछन्।
'हेर्दा सामान्य लाग्छ तर दु:ख गरेको उत्पादन उसले उपयोग गर्न पाउँदैन भने किसान निरुत्साहित हुन्छ' अधिकारीले भने 'पहाडी जिल्लाहरूमा बाँदरले तर्साएको छ, त्यसैले अहिले मकै खेती हरेक वर्ष कम हुँदै गएको छ,' कृषि उपजको सुरक्षा नै नभएपछि उसले गर्दैन।'