धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ८, दिगम्बरपुरका किसान सत्यनारायण कुशवाहा खेतमा बोडीको लहरा सुकाउने दबाई छर्कंदै भेटिए। बोडी अझै दुई साता राम्ररी फल्ने थियो तर बजार भाउ नपाउँदा निराश भएर उनी हरियो लहरा नै सुकाउन बाध्य भए।
‘चाहिने बेला मल पाइएन। इन्डियाबाट लुकाएर मलखाद ल्याएर खेती गरेको थिएँ। परिवारका सबैले दिनरात मेहनत गरेका थियौं। बोडीको रेट (दरभाउ) छ–सात रुपैयाँ (प्रतिकिलो) भयो,’ उनले भने, ‘घाटमा बेच्नुभन्दा यो हटाएर क्षतिपूर्तिका लागि अर्को खेती गर्छु।’
गएको वैशाखमा उनले काठमाडौंबाट बिउ किनेर तीन कट्ठा खेतमा बोडी रोपेका थिए।
सत्यनारायणका अनुसार दुई हजार रुपैयाँ प्रतिघण्टाका दरले चार हजार रुपैयाँ जोताइमा खर्च भयो। बिउ साढे एक हजार, कम्पोस्ट र रासायनिक मल डएपीमा १४ हजार रुपैयाँ खर्च भयो।
आफ्नो देशमा मल पाइएन। इन्डियाबाट ल्याउँदा बोर्डर (सीमाना) मा प्रहरीले घुस माग्यो। उनले त्यो पनि दिए। बिरूवा गोडमेल गरे। लहरा बढ्दै गएपछि मचान दिए।
मचान बनाउन १५ हजार रुपैयाँको बाँस किने। तारमा पाँच हजार रुपैयाँ लाग्यो, प्लास्टिक १५ किलो।
परिवारजनले गरेको मेहनत छोडेर मजदूरका लागि आठ हजार रुपैयाँ खर्च भयो। बोडीबाट खर्च आधा पनि उठेन।
आफ्नो मेहनतको हिसाब नै छैन।
सत्यनारायणले भने, ‘बिहान छ बजे काममा लाग्छु। एघार बजेसम्म काम गरेर खाना खान घर जान्छु। दुई घण्टा आराम गरेर फेरि काममै लाग्छु।’
उनको डेढ बिघा खेत छ। केही भागमा धान र गहुँ उब्जाउँछन्, धेरैमा बाह्रैमास विभिन्न तरकारी लगाउँछन्। खेतीपातीबाटै उनको सात जनाको परिवार चलेको छ।
खेतीबाट उन्नति नभएको निष्कर्ष निकालेर उनका एकभाइ छोरा विदेश गए।
‘अहिले नै हेर्नुस् न, किस्ताबाट ऋण लिएर खेती गर्यौं। घरका सबै जनाले दिनरात खेतमै काम गर्यौं। पैंतालिस हजार रुपैयाँ लगानी गरेर २४ हजारको बोडी बेचेँ। आफ्नो मेहनत कता हो,’ सत्यनारायणले भने, ‘यस्तै हाल देखेर छोरो विदेश गयो।’
उनी आफू र आफूजस्ता किसानको अवस्था देखेर हैरान छन्। किसानलाई हुनसम्म दुःख छ तर नेताहरू वास्ता गर्दैनन् भन्ने उनको निष्कर्ष छ।
‘हाम्रो त सधैं नियति नै यस्तै हो। नेताहरूलाई के छ र! कहिल्यै वैशाखको घाममा खेतमा काम गरेको भए पो पीडा बुझ्थे,’ सत्यनारायणले भने, ‘खाल्डाखुल्डी बाटोमा थोत्रो साइकलमा ६०–७० किलो मलखाद राखेर पुलिसलाई घुस दिँदै ल्याउनु परेको भए पो नेतालाई किसानको दुःख थाहा हुन्थ्यो।’
सत्यनारायणका अनुसार दिगम्बरपुर क्षेत्रमा ८० प्रतिशत परिवारको मुख्य काम खेतीपाती नै हो। यो ठाउँ तरकारी खेतीका लागि धनुषा जिल्लामै प्रख्यात छ।
तै पनि यहाँका किसान चाहिएको समयमा कहिल्यै मलखाद पाउँदैनन्। सिँचाइको सुविधा पनि छैन।
‘हामी पाँच सय मिटर पाइप ओछ्याएर खेतमा पानी पठाउँछौं। नेताका मान्छेले खेतमै बोरिङ पाउँछन्। हाम्रो लागि केही व्यवस्था छैन,’ सत्यनारायण भन्छन्, ‘यति कष्टले खेती गरे पनि बजारमा तरकारीको भाउ पाइँदैन।’
दिगम्बरपुरकै शिवु महतोले घिरौंला रोपेका थिए। राम्ररी फल्यो पनि तर भाउ नपाएपछि खेतमै छोडिदिएका छन्। उनले २० हजार रुपैयाँ लगानी गरेर दुई कट्ठा जमिनमा घिरौंला रोपेको बताए।
‘मेहनत गरेर मचान दियौं, लहरा हुर्कायौं, दबाई छर्कियौं तर बजारमा चार–पाँच रुपैयाँ (प्रतिकिलो) भाउ भयो,’ शिवुले भने, ‘बेचेर त बजारको खर्च पनि उठ्दैन। घिरौंला खेतमा यत्तिकै छोडिदिएका छौं।’
यहाँका किसानलाई वर्षातले झनै पिरोल्छ। डुबान भएपछि धेरैको बाली डुबेर सखाप हुन्छ। किसानले यसको क्षतिपूर्ति कतैबाट पनि पाउँदैनन्।
स्थानीय, प्रदेश र संघीय सरकारले यहाँका किसानका लागि कुनै पनि काम नगरेको सत्यनारायणको आरोप छ।
‘किसानलाई मन्डी चाहियो। त्यहाँ रेट खुल्छ अनि त्यही भाउमा सबै किसानले तरकारी बेच्न पाउँछन्,’ उनी भन्छन्, ‘अहिले बजारमा मनपरी छ। तरकारी बीस रुपैयाँ किलो बिकिरहेको हुन्छ तर व्यापारीले किन्दैन। केही बेरमै पाँच रुपैयाँ किलो भइहाल्छ।’
नगरपालिकाबाट धेरै आशा गरेको भए पनि कृषकको हितमा केही नभएको उनको गुनासो छ।
क्षीरेश्वरनाथ नगरपालिकाकाले चालु आर्थिक वर्षमा किसानका लागि ल्याएको योजनाबारे कृषि शाखा प्रमुख गंगाप्रसाद यादव पनि अनभिज्ञ छन्।
‘किसानका लागि के योजना छ, कति बजेट छ त्यो मलाई थाहा भएन,’ सेतोपाटीको जिज्ञासामा यादवले भने, ‘प्रमुख प्रशासकीय अधिकृतलाई सोध्नुहोस्, उहाँले जेजे भन्नू भन्नुहुन्छ, म त्यही बोलिदिन्छु।’
प्रमुख प्रशासकीय अधिकृत कुमार घिमिरे र नगर प्रमुख सुखदेव यादव भने सम्पर्कमा आउन चाहेनन्।