कृषि क्षेत्रलाई प्राथमिकता दिँदै कार्यक्रम अगाडि बढाईरहेको रूपन्देहीको सैनामैना नगरपालिकाले आफ्नै पहलमा शित भण्डारण गृहको निर्माण अगाडि बढाएको छ।
व्यवसायीक कृषि उत्पादनतर्फ कृषकलाई प्रोत्साहन गर्न नगरपालिकाले कृषक लक्षित अनुदानका कार्यक्रम सञ्चालन गर्दै आएको छ । चालु आर्थिक वर्ष २०७७/७८ मा करिब ५ करोड १० लाख रुपैया कृषि क्षेत्रको लागि छुट्याएको नगरपालिकाले किसानले उत्पादन गरेको कृषि उत्पादनको भण्डारणको लागि शित भण्डारण गृह निर्माण शुरु गरेको हो ।
नगरपालिकाको वडा नं ३ मा मुर्गिया बजारदेखि उत्तरतर्फ रहेको नवनिर्मित साप्ताहिक हाटबजारसँगै निर्माण शुरु गरिएको शित भण्डारण गृहको नगरपालिकाका प्रमुख चित्र बहादुर कार्की र उपप्रमुख बिना रानाले संयुक्त रुपमा शिलान्यास गरे।
२०७७ चैत ९ गते ठेक्का सम्झौता भएको उक्त योजना २०७८ असार १५ गते भित्रै निर्माण सम्पन्न गर्ने गरि सम्झौता गरिएको छ। उक्त शितभण्डारण गृहको अनुमानित लागत १ करोड ९६ लाख छ।
पहिलो चरणमा भौतिक संरचना निर्माणको काम श्री लक्ष्मी एण्ड सुजल निर्माण सेवाले ६५ लाख ५१ हजारमा ठेक्का सम्झौता गरेको छ भने दोस्रो चरणमा इलेक्ट्रीकल, मेकानिकल र रेफ्रीजेरेसनको काम शुरू गरिने नगरपालिकाले जनाएको छ।
२३ मिटर लम्बाई, १५ मिटर चौडाई र ४८ मिटर उचाईमा निर्माण गरिने शितभण्डार गृह ५ सय मेट्रिक टन क्षमताको हुनेछ भने पूरै एयरलक सिष्टमको रहने नगरपालिकाका कृषि प्राविधिक प्रदिप गिरीले जानकारी दिए।
स्टिल स्ट्रक्चर प्रविधिमा निर्माण हुने शितभण्डारण गृहबाट सैनामैनाका ११ वटै वडाका कृषकहरूले लाभ लिनसक्ने नगरपालिकाको दावी छ।
कृषि उत्पादन र बजारिकरणलाई प्राथमिकतामा राखि बनाईएको नीति तथा कार्यक्रम अनुरुप शित भण्डारण गृह निर्माण गर्न लागिएको नगर प्रमुख चित्रबहादुर कार्कीले जानकारी दिए।
उनले ११ वटै वडामा आधुनिक प्रविधियुक्त र विषादीरहित अर्गानिक कृषि उपज कसरी उत्पादन गर्न सकिन्छ भन्ने उद्देश्यले आईपिएम कृषि पाठशाला सञ्चालन गरेको बताए। ‘आगामी दिनमा पनि आधुनिक स्रोत, विउ वितरण गर्ने र कृषकहरुलाई प्राविधिक ज्ञान दिंदै कृषिलाई आधुनिकिकरणमा जोड दिने गरि नगरपालिकाले कार्यक्रम अगाडि बढाएको छ,’ उनले भने।
खेतीयोग्य जमिन प्रयाप्त भएको कारण नगरपालिकाले उन्नत जातको विउ वितरण गरि उत्पादन वृद्धि गर्नेतर्फ पनि कृषकलाई सघाउँदै आएको छ। कृषिमा यान्त्रीकरणका लागि हालसम्म १ सय भन्दा बढि ट्याक्टर प्रदान गरिसकेको छ भने किसानहरुको माग अनुसार धान काट्ने र गहुँ काट्ने मेशिन, थ्रेसर, हाते ट्याक्टरलगायतका उपकरण प्रदान गरिसकेको जनाएको छ।
नगरप्रमुख कार्कीले अहिले मागमा आधारित अनुदान वितरण गरेको नगरपालिकाले किसानले मागे अनुरुपको सहयोग गर्दैै आएको दावी गरे। ‘अब धानको बिउ राख्ने सिजन आएको छ, किसानहरुले समयमै धानको उन्नत जातको विऊ प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले साढे १३ लाख भन्दा बढिको उन्नत जातको धानको बिउ उपलब्ध गराउँदै छौं,’ कार्कीले भने।
नगरप्रमुख कार्कीले आफ्नो खेतको प्रकृति अनुसार कुन जातको धान लगाउन चाहेको हो त्यसको विवरण नगरपालिकाको कृषिशाखामा उपलब्ध गराएको खण्डमा ५० प्रतिशत अनुदानमा बिउ उपलब्ध गराउने समेत जानकारी दिए। त्यस्तै बिउ उत्पादन गर्ने किसानलाई सहज होस् भनेर रामापुर क्षेत्रमा ५० लाख रुपैयाको बिउ भण्डारण केन्द्र समेत निर्माण गर्न लागिएको बताए।
थोरै जग्गा जमिन हुने किसानलाई पनि उन्नत जातको बिउको प्रयोग गरि कृषिलाई व्यवसायीकरण गर्न कार्कीको आग्रह छ। ‘सबैभन्दा धेरै व्यक्तिले रोजगारी पाउने र लाभ लिन सक्ने मात्र होईन, स्थानीय, प्रादेशिक र राष्ट्रिय अर्थतन्त्रलाई समेत बलियो बनाउने कृषि क्षेत्र भएकोले व्यवसायीक तरकारी, फलफुल तथा अन्न खेती तर्फ लाग्नुस्,’ उनको आग्रह छ।
नगरपालिकाले भूमी बैंकमार्फत प्रविधियुक्त कृषि, स्वरोजगारीमा बृद्धि सैनामैनाको आर्थिक समृद्धि भन्ने अभियान अनुसार भूमि बैंकको स्थापना गरि सामुहिक खेती, करार खेती र व्यवसायीक खेतीलाई प्रोत्साहन गर्दै आएको छ। नगरपालिकाले हालसम्म रामापुर, सालझण्डी तथा मूर्गियामा गरि तिनस्थानमा व्यवस्थित साप्ताहिक हाटबजार निर्माण गरि सञ्चालनमा ल्याएको छ।
सैनामैनाका गाउनगर कृषक समूहका अध्यक्ष शेर बहादुर केसीले नगरपालिकाले कृषि क्षेत्रमा ल्याएका नयाँनयाँ कार्यक्रमपछि कृषकहरु व्यवसायीक कृषितर्फ आकर्षित हुने गरेको बताए। केसीका अनुसार सैनामैना तरकारी, फलफूल, दुग्ध उत्पादन तथा मौरी पालन र पशुपालनमा समेत अगाडि छ।