रामपुरका बद्री लम्साल अध्ययनको लागि जापानमा थिए। ७ वर्षदेखि जापान रहेका उनको अध्ययन पूरा हुँदै थियो कोरोना महामारी सुरू भयो।
विश्वका अधिकांश मुलुकसँगै जापान पनि प्रभावित भयो।
अध्ययन पूरा गरेपछि उतै रोजगारी गर्ने योजनामा रहेका बद्री घर आउनुपर्यो। असारमा उनी घर फर्किए।
यहाँ त झन् कोरोनाको कारण आर्थिक अवस्था पनि थिलोथिलो थियो। यहीँका मानिसले रोजगारी पाएका थिएनन्। उनी पनि रामपुरस्थित घरमा कामविहीन भएर बस्न थाले।
रोजगारीकै क्रममा ५ वर्ष कोरिया बसेका रामपुरकै सन्तोष देवकोटा पनि एक वर्ष पहिले घर फर्किएका थिए। त्यसपछि गएनन्। सन्तोषले स्वदेशमै कुनै व्यवसाय गर्ने योजना बनाउँदै थिए, कोरोना सुरू भयो।
कोरोना नियन्त्रणको लागि सरकारले लकडाउन घोषणा गरेपछि सन्तोष मात्र होइन उनको योजना पनि उनीभित्रै ‘लक’ भएर बस्यो।
रामपुर-६ मा सन्तोष र बद्री जस्तै रोजगारी वा अध्ययनको लागि भए पनि विदेश गएकाहरूको समूह ठूलै छ।
अधिकांश युवाहरू रोजगारीको लागि विदेशमै रहे पनि केही युवाहरू स्वदेशमै केही व्यवसाय गर्ने योजना बनाउँदै घर फर्किएका थिए।
रामपुर नगरपालिका-६ का वडा सदस्य यमबहादुर भुजेल पनि रोजगारीको लागि ९ वर्ष मलेसिया बसेर चार वर्षअघि स्वदेश फर्किएका थिए।
घर फर्किएर तीन वर्षदेखि जनप्रतिनिधि भएर काम गर्न थाले पनि उनको आम्दानीको राम्रो स्रोत भने जुट्न सकेको थिएन।
विदेशमा रहँदा त्यहाँको दुःख र स्वदेशको माया कस्तो रहन्छ भन्ने अनुभव बटुलेका भुजेलले वडा र गाउँ डुल्दा कृषि क्षेत्रको समस्या र सम्भावनासँग नजिक हुने मौका पाए।
रोजगारीबाट फर्किएका युवाहरूसँग भेटघाट हुँदा उनीहरूले कृषिमै केही काम गर्ने योजना बनाउन थाले। बद्री, सन्तोष र यमबहादुर जस्तै २० जना युवाहरू सामूहिक कृषि व्यवसाय गर्ने योजनामा सहमत भए।
तीनै युवा मिलेर गठन भयो ‘ट्वाण्टी-ट्वाण्टी समूह'।
अध्यक्षको जिम्मेवारी समूहले सन्तोषलाई दियो। ‘सन् २०२० मा २० जना युवाहरूको सहभागितामा गठन गरिएको समूहको नाम पनि ट्वाण्टी-ट्वाण्टी राखौं भन्नेमा सहमत भयौं,’ समूहको नामबारे यमबहादुर भन्छन्।
कृषिमै काम गर्ने भनेर समूह गठन गरिए पनि तत्काल के गर्ने भन्नेमा उनीहरू निर्णयमा पुगिसकेका थिएनन्। रामपुर तरकारी तथा फलफूल उत्पादनको लागि पकेट क्षेत्रको रूपमा पाल्पामा मात्र होइन छिमेकी जिल्लाहरूमा समेत चर्चित छ।
त्यहाँको हावापानी, खुकुलो र उर्वर माटो सहितको भिरालो जमिन अन्नबाली सँगै तरकारी तथा फलफूल उत्पादनको लागि राम्रो मानिन्छ।
स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर गएपछि रामपुर नगरपालिकाले कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, युवा उद्यम कार्यक्रम तथा योजनामार्फत युवाहरूलाई कृषिमा लाग्न प्रेरित गर्दै आएको थियो।
लुम्बिनी प्रदेश सरकारले पनि हरेक पालिकामा एउटा स्मार्ट कृषि कार्यक्रममार्फत किसानहरूलाई कृषितर्फ आकर्षित गर्नेगरी योजना अगाडि सारेको थियो।
प्रदेश सरकारले कोरोना महामारीपछि विदेश र स्वदेशमै पनि रोजगारी गुमाएर फर्किएका युवाहरूलाई लक्षित गरी कोभिड विशेष कृषि कार्यक्रम पनि अगाडि सारेको छ।
यही क्रममा रामपुर- ६ लाई लुम्बिनी प्रदेश सरकार र रामपुर नगरपालिकाले आलु ब्लक क्षेत्र घोषणा गर्यो।
आलुमा रामपुरलाई आत्मनिर्भर बनाउन किसानलाई अनुदानमा बिउ उपलब्ध गराउनेगरी बजेट विनियोजन गरेको थियो।
के गर्ने भनेर सोचिरहेको ट्वान्टी-ट्वान्टी समूहले आलु खेती गर्नेबारे छलफल थाल्यो। सबै सहमत भएपछि उनीहरूले झण्डै १ सय रोपनी क्षेत्रफलमा आलु खेतीको सुरूआत गरेका हुन्।
सिँचाइको सुविधा भए पनि युवाहरू विदेश पलायन भएका कारण कतिपय परिवारको खेतीयोग्य जमिन बाँझिएको छ।
ट्वाण्टी-ट्वाण्टी समूह त्यही बाँझो जमिन लिएर सामूहिक आलु खेती गर्न अग्रसर भयो।
२० जनाको ठूलो समूहले सानो क्षेत्रमा आलु खेती गरेर खासै उपलब्धी हुनसक्ने थिएन। त्यहाँको केही खेतमा हिउँदे खेती लगाइने भए पनि अधिकांश खेत भने धान काटेपछि बाँझै रहन्थ्यो।
उनीहरूले रामपुर-६ को करिब १ सय रोपनी जग्गामा सामूहिक आलु खेती लगाउने निर्णय गरे।
१ सय रोपनी खेतका लागि एक सय बोराभन्दा बढी आलुको बिउ चाहिन्थ्यो। समूहले बिउ उपलब्ध गराउने जिम्मा रामपुर नगरपालिका र स्थानीय विजयपुर कृषि सहकारीलाई दियो। नगरपालिकाले ५० प्रतिशत अनुदान सहयोगमा १ सय १० बोरा आलुको बिउ उपलब्ध गरायो।
बाँझो जमिन र बिउको व्यवस्था भएपछि ट्याक्टर लगाएर जोत्ने, मल छर्ने र आलु लगाउने काममा युवाहरू आफैं लागे। मंसिर ९ गतेदेखि सुरू गरिएको आलु लगाउने काम मंसिर १९ गते सम्पन्न गरेको सन्तोष बताउँछन्।
अहिले उनीहरू आफैं झार गोडमेल गर्ने, औषधि छर्ने र पानी लगाउने काममा सक्रिय छन्।
सिँचाइको पर्याप्त सुविधा भए पनि हिउँदमा अधिकांश खेत बाँझै रहने बारी अहिले आलु उम्रिएर हरियै बनेको छ। उनीहरूले ‘जनकदेव र काडिनर’ जातको आलुको लगाएका छन्।
स्प्रे ट्यांकी बोकेर औषधि छर्कने र झार गोड्ने काम पनि उनीहरू आफैं जुट्ने गरेका छन्।
‘आलुलाई रोगव्याधीले नसताओस् र सिँचाइको पनि अभाव नहोस् भनेर ४/५ जनाको समूह बनाएर रेखदेखको लागि पालो बाँड्ने गरेका छौं,’ सन्तोषले भने।
नगरपालिकाबाट बिउमा ५० प्रतिशत अनुदान उपलब्ध भए पनि १ सय रोपनी जग्गामा आलु लगाउँदा १० लाख रुपैयाँ लगानी भइसकेको उनीहरू बताउँछन्।
उनीहरूले आफूले लगाएको खेतीबाट ५० हजार किलो आलु उत्पादन हुने अपेक्षा राखेका छन्।
‘एक किलो राम्रो बिउबाट १० किलो आलु उत्पादन हुन्छ, यसरी हिसाब गर्दा पनि कम्तिमा ५० हजार किलो आलु उत्पादन होला भन्ने अनुमान गरेका छौं,’ सन्तोषले भने।
समूहका सदस्य बद्री लम्सालले आलु खेतीबाटै सबैको जीवनस्तर सुध्रिएला र अरू युवाहरूलाई पनि कृषिमा आकर्षित होलान् भन्ने आश पनि आफूहरूको रहेको बताए।
‘एउटै खेतीबाटै प्रशस्त आम्दानी हुन्छ भन्ने त सोचिएको पनि छैन तर हाम्रो काम देखेपछि गाउँका अरू युवाले पनि जग्गा बाँझो नछोड्लान् भन्ने हो,’ उनी भन्छन्।
स्थानीयको जग्गा आलु लगाउनको लागि मात्र लिएकोले यसपछि के गर्ने भन्नेमा पनि छलफल भइरहेको बद्रीले बताए।
‘आलु पछि कागती, एभोकाडो, किवी, मेवा, आँपको खेती सुरू गर्ने छलफल भइरहेको छ, भैंसी र बाख्रा पनि पाल्ने विषयमा छलफल भइरहेको छ,’ बद्रीले भने।
आलु खेतीको लागि हरेक वर्ष यो सँगै अरू जग्गा समेत थप गर्ने उनले बताए।
यस वर्ष १ सय रोपनीमा आलु लगाइएकोमा अर्को वर्ष ६ सय रोपनी पुर्याउने उनीहरूको योजना छ।
नगरपालिकाले पनि स्थानीय किसानलाई अनुदानमा बिउ उपलब्ध गराउँदै खेती लगाउन आग्रह गर्दै आएको छ।
ट्वाण्टी-ट्वाण्टी समूहले आलु खेती लगाउन नसक्ने किसानहरूको जग्गा लिएर भए पनि खेती गर्ने योजना बनाएको बताएको छ।
‘पहिलो चरणमा रामपुर उपत्यकालाई र त्यसपछि पूर्वी पाल्पालाई नै आलुमा आत्मनिर्भर बनाउने योजनाका साथ सामूहिक आलु खेतीमा लागेका हौं, आगामी वर्ष ६ सय रोपनी जग्गामा आलु लगाउने योजना बनाएका छौं, त्यसको लागि बिउ समेत हामी आफैं उत्पादन गर्छौं,’ यमबहादुर भन्छन्।
आलु खेतीमा सक्रिय युवाहरूको जोस जाँगरले अरू युवाहरूलाई पनि कृषि तथा पशुपालनमा उत्साहित बनाएको नगरपालिकाका प्रवक्ता हुमनाथ न्यौपानेले बताए।
रामपुर नगरपालिकाले यसवर्ष ५० प्रतिशत अनुदानमा ११ सय बोरा आलुको बिउ उपलब्ध गराएको प्रवक्ता न्यौपानेले जानकारी दिए।
किसानलाई उत्पादन गरेबापत प्रोत्साहन गर्ने नीति नभएका कारण उत्पादन बढ्न नसकेकाले नगरपालिकाले अनुदान उपलब्ध गराएको उनले बताए।
न्यौपानेका अनुसार यस वर्ष रामपुरका करिब १ सय कृषकहरूले १२ सय रोपनीभन्दा बढी क्षेत्रमा आलुखेती लगाएका छन्।
रामपुरमा मात्रै करिब १२ लाख किलो आलु उत्पादन गर्ने लक्ष्य लिइएको न्यौपाने बताउँछन्।
रामपुर नगरपालिकामात्र वर्षेनी करिब ७ करोड बराबरको आलु बाहिरबाट आयात हुँदै आएकोमा यस वर्ष उक्त आयातलाई प्रतिस्थापन गर्ने नगरपालिकाको योजना छ।
त्यही योजना अनुसार युवाहरूले रामपुर नगरपालिका, कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण जस्ता संस्थाहरूसँग सहकार्य गरी रामपुरलाई आलु पकेट क्षेत्रको रूपमा विकास गर्दै आएका छन्।
यो पकेट कार्यक्रमले शिक्षित युवाहरूलाई समेत कृषि क्षेत्रमा उत्साहित बनाएको छ।
कृषिमा युवाहरूको संलग्नता बढेपछि आधुनिक प्रविधिको प्रयोग हुन थालेको छ। कम समय र थोरै परिश्रममा खेती लगाउन सकिने भएपछि युवाहरू खेतीतर्फ आकर्षित भएका हुन्।
हावापानी र भौगोलिक भू–बनोटको हिसाबले जिल्लाको अर्गली, सर्देवा, माडी, जस्ता फाँटहरू आलु खेतीको लागि उपयुक्त क्षेत्र मानिन्छन्।