रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ टिकुलिगढस्थित लुम्बिनी एग्रो प्रोडक्टस् एण्ड रिसर्च सेन्टर प्रालीकाे भदौ महिनायता झण्डै ५० प्रतिशत दूध उत्पादन घटेको छ। २०६७ साल वैशाखदेखि गाईपालन सुरु गरेको प्रालीले दैनिक २२ सय लिटरसम्म दुध उत्पादन गर्दै आएको थियो।
करिब साढे ५ सय गाई पालिएको फर्ममा अहिले पनि लगभग दुई सय गाईहरु दुहुना छन्, एक सय बाच्छी छन्। केही गाई ब्याउने छन्।
पछिल्लो ६ महिनायता दुध खपत हुने होटल, रेष्टुरेनट तथा मिठाइ पसलहरु बन्द भएपछि दुधको बिक्री घट्यो। यसकारण उत्पादन पनि घटाइएको फर्म संचालक शशी पौडेलले बताए।
‘लकडाउन भन्दा अगाडि दैनिक २२ सय लिटर बढी दूध उत्पादन हुन्थ्यो, केही दिन दुध राम्रै खपत भयो तर, दुई महिनायता खपत घटेपछि उत्पादन पनि घटाएको छु।’ पौडेलले भने ।
दुहुनो गाईलाई मात्र नभएर गर्भवती गाईलाई पनि दैनिक पोषिलो दाना र घाँस खुवाइरहन्थे, पौडेल। हाल पोषिलो भन्दापनि पेट भर्नका लागि मात्रै दाना र घाँस खुवाउने गरिएको छ।
प्रालीले फर्ममा उत्पादित दूधबाट दूग्धजन्य पदार्थ उत्पादन गर्न डेरी उद्योग संचालन गरेपनि उत्पादित वस्तु बजारमा पुर्याउन नसक्दा उत्पादन रोकिएको हो।
‘डेरी प्लान्टबाट प्रशोधित दूध, दही, घीउ, मही, मिल्कसेक (बोतल दुध), पनिर, आइसक्रिम लगायतका परिकारहरु उत्पादन गर्न सकिने भएपनि कहाँ लगेर बिक्री गर्ने होटल रेष्टुरेण्ट डिपार्टमेन्टल स्टोर्स सबै बन्द छन्’,पौडेलले गुनासो गरे।
१० वर्ष पहिले अमेरिकन ब्रिडका जर्सी र होलस्टोन फ्रिजन जातका दुई सय ५० गाईबाट यो फर्म सुरु गरिएको थियो।
हाल फर्ममा रहेका सबै गाई त्यहीं जन्मिएर हुर्किएका हुन्। फर्ममा २० वटा भन्दा बढी गाई एकैपटकमा दुहुन मिल्नेगरी मेसिन जडान गरिएको छ।
नेपालकै ठूलो गाई फर्मको रुपमा स्थापित भएपछि यो फर्म हेर्नकै लागि देशका सबैजसो जिल्लाबाट मानिसहरु आउने गर्छन्।
दैनिक दुईसय जना भन्दा बढी व्यक्तिहरु फर्म अवलोकनको लागि पुग्ने गर्छन्।
कोरोनाका कारण गत चैत महिनादेखि भने अवलोकनका लागि मानिसहरु आउन सकेका छैनन्। त्यहाँ हाल जान चहानेलाई पनि रोक लगाइएको छ।
नेपालमै सबैभन्दा धेरै संख्यामा गाई, मेसिनबाटै दुध दुहुने प्रविधि, आफ्नै दुध चिस्यान मेसिन र फर्म संचालक पौडेल सरकारबाट उत्कृष्ट
किसानका रुपमा विकास रत्न पदक र जनसेवा श्री पदकबाट सम्मानित लगायतका कारणले यो फर्म देशभर चर्चित छ।
प्रालिले वार्षिक करिब ५ करोड रुपैयाँ बढीको दुध बिक्री गर्छ। अहिले उत्पादन घटाएपछि विक्री पनि स्वतःघटेको छ।
फर्ममा करिब ३० जनाले प्रत्यक्ष रोजगारी पाएका संचालक पौडेलले जानकारी दिए।
समाजशास्त्रमा स्नातकोत्तर गरेका पौडेल आफूलाई गाईको गोठालो भनेर चिनाउन पाउँदा मनमा सन्तुष्ट मिल्ने बताउँछन्।
सरकार र सरकारी कर्मचारीको व्यवहारप्रति भने उनी सन्तुष्ट छैनन्।
‘सरकारले कृषि क्षेत्रलाई संरक्षण र प्रवर्धन गर्ने विषयमा कुनै काम गर्न सकेको छैन, किसानले उत्पादन गरेको वस्तुको बिक्रीको जिम्मा सरकारले लिनसके मात्र किसानले उत्पादन बढाउने हो’, उनी भन्छन्।
दानाको लागि चाहिने कच्चापदार्थ र पराल बाहिरबाट ल्याउने भएपनि पौडेलले आफ्नै २५ बिघा जग्गामा मौसमअनुसारको घाँस उत्पादन गर्छन्।
‘दाना र पराल स्टोर गर्न सकिएपनि हरियो घाँस सधै किनेर ल्याउन सम्भव हुँदैन त्यसैले घाँस उत्पादनका लागि जग्गा किनेको हुँ’, पौडेलले भने। फर्ममा गाईको गोवरबाटै ग्यास र विद्युत् उत्पादन हुन्छ।
पौडेलले फर्म वरिपरि रहेको बस्तीमा समेत यहीं उत्पादित विद्युत् उपलब्ध गराउने योजना लिएका छन्।
कोरोना संक्रमणका कारण फर्ममा दुध उत्पादन मात्र होईन डेरीजन्य उत्पादन र गोबर ग्यांसबाट विद्युत उत्पादन पनि घटाईएको पौडेलले बताए।
प्लान्टमा दैनिक १५ सय किलोवाट विजुली उत्पादन गर्ने क्षमता भएपनि खपत नभएपछि विद्युत उत्पादन पनि कम गरिएको छ।
सरकारी विद्यालयको स्थायी शिक्षक, सञ्चार गृह, बैंक र रियल स्टेट व्यवसायमा समेत संलग्न रहेका पौडेल अमेरिका पुगेर फर्किएका हुन्।
गाई फर्म संचालनमा सफलता मिलेपछि अब एग्रो रिसोर्ट संचालन गर्ने आफ्नो लक्ष्य रहेको पौडेलले बताए।
‘अहिले डेरी प्लान्ट र खाद्य उद्योगलाई पूरै समय दिएर संचालन गर्ने तयारीमा छु, त्यसपछि नमूना एग्रो रिसोर्टको रुपमा फर्मलाई विकास गर्ने छु’, उनले भने।
उनले इजरायली कम्पनीसंगको साझेदारीमा दक्षिण एशियाकै नमुना एग्रो रिसोर्टको रुपमा फर्मलाई विकास गर्ने आफ्नो सपना रहेको बताए।