रासायनिक मल नपाएर पिरोलिएका किसानहरुलाई यसवर्ष नियमित रुपमा परिरहेको वर्षाले भने राहत दिएको छ।
धान रोपिसकेपछि अहिलेसम्म दुईपटक रासायनिक मल राख्न समय भईसके पनि किसानहरुले एकपटक पनि मल राख्न पाएका छैनन्। तर, धानको बिउ राख्ने बेला जेठ महिनादेखि नै नियमित वर्षा भएपछि रुपन्देहीमा यसवर्ष धान खेती राम्रो देखिएको छ। धानको विउ राख्ने र रोप्ने
समयमा प्रयाप्त पानी परेपछि खेतमा धांजा फाट्न नपाएको सियारीका किसान अर्जुन चौधरीले बताए।अहिले रुपन्देहीको अधिकांश खेतीयोग्य जमिन हरियो धानले मनमोहक बनेको छ।
सयौं विगाहका प्लटहरुमा हुर्किईरहेको धानले समथर खेत हरियो कार्पेट विछ्याएजस्तै आकर्षक बनेका छन।
लगातार पानी परिरहेपछि धानखेतीमा उम्रिने झार समेत कम उम्रिएको किसानहरु बताउँछन्। मायांदेवीकी गोलेनी बरईले अघिल्ला वर्षभन्दा यसवर्ष खेतमा झार कम उम्रिएको बताईन्।
तर यूरिया मल राख्न नपाउंदा भने धान गांजिएदै गएपनि राम्रोसंग पसाउंदैन कि भन्ने चिन्ता किसानमा रहेको छ। मायांदेवीकै शंकर चौधरीले धान पसाउने समयसम्म रासायनिक मल पाईयो भने यसवर्ष धानको उत्पादन बढ्ने बताए।
रुपन्देहीको मर्चवार क्षेत्र संगै सियारी, मायांदेवी, लुम्बिनी, देबदह, तिलोत्तमा, सैनामैना धान उत्पादनको लागि उर्वर भूमि मानिन्छ। त्यो संगै बुटवलको मोतिपुर, तामनगर, नयाँगाउँ लगायतका क्षेत्रमा समेत धानको उत्पादन राम्रो हुन्छ।
तर जिल्लाको उत्तरी र पूर्वी क्षेत्रका खेतहरुमा केही सिंचाईको सुविधा पुगेपनि धानको भण्डार मानिने दक्षिणी मर्चवार क्षेत्रमा सिंचाईको सुविधा नपुग्दा किसानहरुले आकाशे पानी र बोरिङको पानी तानेर धान रोप्नुपर्ने बाध्यता थियो।
यसवर्ष भने दैनिक जसो पानी परिरहेकोले सिंचाईको कुनै समस्या नभएको किसानहरु बताउँछन्।
रुपन्देहीमा तिनाउ, दानव, कञ्चन, रोहिणी, डण्डालगायतका खोला तथा नदीबाट साना ठूला गरि झण्डै दुई दर्जन बढी सिंचाई आयोजना संचालनमा छन्। तर त्यसबाट सबै किसानको खेतमा सिंचाईको सुविधा पुुग्न सकेको छैन।
रुपन्देहीमा करिब ७० हजार हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएको छ।
यसवर्ष प्रयाप्त पानी परेका कारण सतप्रतिशत खेतमा धान रोपाई भएको कृषि निर्देशनालयले जनाएको छ।
निर्देशनालयका सूचना अधिकारी कामना अधिकारीले रुपन्देहीमा गतसाता नै सबै खेतमा रोपाई सकिएको जानकारी दिईन्।
रुपन्देहीमा मात्र नभई यसवर्ष प्रदेश ५ को पाल्पा बाहेक सबै जिल्लामा सतप्रतिशत धान रोपाई सकिएको अधिकारीले जानकारी दिईन्। रुपन्देहीसंगै कपिलवस्तु, बांके, दाङ, बर्दिया, नवलपरासीलगायतका जिल्लाहरु प्रदेश ५ मा धान उत्पादनको हिसाबले राम्रा जिल्लाहरुमा गनिन्छन्।
नेपालमा १५ लाख ५२ हजार ४ सय ६९ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुने गर्दछ। जसमध्ये प्रदेश नं. ५ मा मात्रै ५ लाख ३९ हजार २ सय ६३ हेक्टरमा धान खेती हुने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जानकारी दिएको छ।
उत्पादनको हिसाबले पनि प्रदेश ५ मा नेपालको कुल उत्पादनको २४ प्रतिशत धान उत्पादन हुन्छ। नेपालमा कुल ५२ लाख ३० हजार भन्दा बढी धान उत्पादन हुनेमा प्रदेश ५ मा १२ लाख ७४ हजार भन्दा बढी मेट्रिक टन धान उत्पादन हुने मन्त्रालयले जनाएको छ।