सुर्खेतको बराहताल गाउँपालिका–५ मा पर्ने सुनद्वारी गाउँ कृषिका माध्यमबाट आत्मनिर्भर बनेको गाउँ हो।
यहाँ ८३ वटा घरधुरी छन्। प्रत्येक घरमा २ भन्दा बढी भैंसी छन्। यो गाउँका मानिसले गर्ने मुख्य आम्दानीको स्रोतमध्ये भैंसीपालन एक हो। गाउँका प्रत्येक परिवारले कम्तिमा मासिक २२ हजार रुपैयाँको दूध बेच्ने गरेका छन्।
सुनद्वारीका कृषकहरुले गाउँमा गरिने कृषिमा यान्त्रीकरण गर्ने सपना बुनेका छन्। गाउँका केही कृषकले सरकारी अनुदानमा समेत भैंसी पालेका छन्। गाउँमा रहेको ‘सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूह’का अध्यक्ष रत्नलाल सुवेदीले गाउँको कृषिमा यान्त्रीकरण गर्ने प्रयासमा आफूहरु लागेको बताए।
‘गाउँमा गरिने कृषि क्षेत्रमा यान्त्रीकरण गरी मेसिनबाट खेती लगाउनेदेखि भित्र्याउनेसम्मको काम गर्छौं,’ अध्यक्ष सुवेदीले भने, ‘गोरुले गर्ने काम मेसिनले गर्छ, गोरु पाल्नुको सट्टा भैंसी पाल्छौं, दूध बेचेर आम्दानी गर्छौं।’ अबको २ वर्षभित्र गाउँको कृषिलाई यान्त्रीकरण गर्ने योजनामा समूह लागेको उनले बताए।
यान्त्रीकरणका लागि प्रदेश सरकारदेखि स्थानीय सरकारसम्म प्रस्ताव गरेको अध्यक्ष सुवेदीले बताए। प्रशस्त पशुपालनबाट मलको अभाव भोग्नु नपरेको बताउँदै उनले गोरुको ठाउँमा भैंसी पाल्न थालेमा मल उत्पादनमा थप वृद्धि हुने बताए।
‘गाउँमा सबैले भैंसी पालेका छन्, यसले गर्दा मलको अभाव खासै हुँदैन,’ सुवेदीले भने, ‘अझैं पनि गोरुको सट्टा भैंसी पाल्ने हो भने मल उत्पादनमा झन् वृद्धि हुन्छ, यसका लागि गोरुको ठाउँमा मेसिनले काम गर्नेगरी गाउँलाई यान्त्रीकरण गर्न हामी प्रयास गरिरहेका छौं।’
समूहका सचिव गोविन्द पौडेलले कृषकको योजना अनुसार कृषि यन्त्रको पर्याप्तताका लागि स्थानीयसँगै प्रदेश सरकारको विशेष सहयोग खाँचो रहेको बताए। ‘हामीले बनाएको योजना अनुसार नजिकमा रहने प्रदेश र स्थानीय सरकारको सहयोग अपरिहार्य छ’ पौडेलले भने।
उनी आफैंले पनि ७ वटा भैंसी पालेका छन्। स्नातकसम्मको अध्ययन पूरा गरी रोजगारीका लागि मलेसिया गएका पौडेलले स्वदेश फर्किएर कृषि पेशालाई व्यावसायिक बनाउन लागेका हुन्। उनी मलेसियाबाट १ वर्षअघि मात्र घर फर्किएका हुन्।
व्यवसायिक रुपमा भैंसीपालन गरेका पौडेलले मासिक ६० हजार रुपैयाँसम्म आम्दानी हुने गरेको बताए। सरकारी अनुदानसहित उनले भैंसीपालनमा १३ लाख रुपैयाँ लगानी गरेका छन्।
‘आफ्नो लगानी थोरै भएपनि सरकारी अनुदानको सहयोगले भैंसीपालन सुरु गरेको छु,’ उनले भने, ‘मासिक ८४ हजार रुपैयाँसम्मको दूध बिक्री हुन्छ, खर्च कटाएर ६० हजार रुपैयाँ बचत हुन्छ।’
दूधबाटै गाउँमा भित्रिन्छ मासिक ५ लाख
सुनद्वारी गाउँमा दूध बेचेवापत मासिक ५ लाख रुपैयाँसम्म भित्रिने गरेको छ। गाउँमा रहेको चिस्यान केन्द्रमा कृषकहरुले दूध जम्मा गर्छन्। फ्याटका आधारमा दूधको पैसा पाउने कृषकले लिटरको १०५ रुपैयाँसम्म मूल्य पाउने गरेका छन्।
‘पछिल्लो समय लकडाउनले केही समस्या पारेको छ, नत्र गाउँमा प्रति महिना ५ लाख रुपैयाँसम्म दूधबाट भित्रिन्छ,’ सुनद्वारी दुग्ध उत्पादन तथा वितरण कृषक समूहका अध्यक्ष पौडेलले भने, ‘कृषिबाट आत्मनिर्भर बनेको यो गाउँमा धेरै भैंसी पाल्ने कृषकहरुका लागि जनशक्ति पाउन भने समस्या छ।’
उक्त कृषक समूहमा आवद्ध ४७ जना कृषकलाई पशुपंक्षी तथा कृषि निर्देशनालयको तर्फबाट अनुदानमा भैंसी वितरण गरिएको छ। अध्यक्ष सुवेदीका अनुसार आर्थिक वर्ष ०७५/७६ र ०७६/७७ मा गरी ११० वटा भैंसी वितरण गरिएको छ।
०७६/७७ मा प्रदेश सरकारको १ लाख रुपैयाँ अनुदान र कृषकको ३२ हजार रुपैयाँ लगानीमा गरी १ लाख ३२ हजार बराबरको भैंसी वितरण गरिएको थियो।
समूहमा आवद्ध कृषक विमला चालिसेले दूध उत्पादनबाट हुने आम्दानीले आफूहरु सन्तुष्ट रहेको बताइन्। उनी गाउँमा कृषि यन्त्रको पहुँच पुगेमा अझ भैंसी थप्ने योजनामा आफू रहेको बताउँछिन्। ‘अहिले त बारी जोत्नका लागि गोरु चाहिन्छ र पालेका छौं, त्यस्तो सामग्री भएको भए गोरुको ठाउँमा पनि भैंसी थपेर पाल्थ्यौं।’