प्रायः साउन भदौमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप आउने गर्छन्। जसबाट ठूलो जनधनको क्षति हुन्छ।
साउन, भदौमा वर्षा धेरै हुन्छ। जमिन भिजेको हुन्छ। त्यसैले बाढी पहिरो जाने सम्भावना बढी हुन्छ। तर, यति बेला न पानी परेको छ न जमिन नै भिजेको हुन्छ। तर पनि पहिलो गएको छ।
यतिबेला जुम्लामा पहिरो गएको छ। पत्याउन पनि गाह्रो हुन सक्छ। विश्वास नलाग्न लाग्न सक्छ ।
जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. १० साविकको कार्तिक स्वामी गा.वि.स अन्तर्गतको बोहरागाउँस्थित पइरेट्टामा ठूलो पहिरो गएको छ। पहिरोले पुरै वडामा रहेको जीउलाको सिँचाइ प्रभावित भएको छ।
जेठमा धान रोपेका जीउलामा कार्तिकमा धान काटिसकेपछि मंसिरमा जौं छर्ने गरिन्छ। त्यसरी जौं छर्नुपूर्व खेतमा सिँचाई गर्नुपर्ने हुन्छ। तर, सिंचाइ गर्ने कुलो पहिरोले भत्काएको छ।
जुम्ली महिलाहरु खेतबारीमा मल बोक्दैछन्। खेतमा पानी लगाउने समय भइसकेको छ। जौं को बिउ पनि जोहो भइसकेको छ। तर, पहिरोले जौं बाली लाग्नेबारे अनिश्चितता बढेको छ।
पइरेट्टामा गएको पहिरोले झण्डै पैंतीस हेक्टर जमिन सिँचाइको लागि समस्या भएको जिल्ला कृषि विकास कार्यालयका कृषि अर्थ विज्ञ बालकराम देवकोटाले बताए।
पहिरोको असर बोहरा गाउँ, पीपल गाउँ, गैरा गाउँ, बारकोटेबाडा लगायतका गाउँका जीउलाहरु प्रभावित भएका छन्।
तत्काललाई जौं छर्न समस्या भएको छ। यदि पानी नलगाई जौं छरेमा पनि चैतमा सिँचाइ भएन भने जौं राम्रो हुँदैन।
त्यस्तै वैशाख अन्तिमसम्म कुलो बनेन भने रोपाईँसमेत प्रभावित हुने स्थानीय बताउँछन्।