फिदिम नगरपालिका ३ लालीखर्ककी ४० वर्षीया यामकुमारी राईको दिनचर्या निकै व्यस्त छ। उनी आफ्नो घर व्यवहारको सबै काम भ्याएर पनि मासिक रुपमा ३५ हजार बढी आम्दानी गर्छिन्।
उनीजस्तै निर्मला राई, सुकरानी राई, माया राई, सुस्मिता राईलगायत त्यस क्षेत्रका थुप्रै महिलाहरु घरमै नेपाली हाते कागज बनाएर मासिक रुपमा ३० हजार रुपैँया भन्दा बढी कमाउँछन्।
निर्मला राइले दैनिक ४ सय देखि ५ सय सम्म नेपाली कागज बनाउँछिन्। उनले बनाएको कागज प्रतिगोटा दुई रुपैयाँ पचास पैसामा व्यापारीहरुले घरमै आएर खरीद गर्ने गर्छन्। उनले मासिक ४० हजार रुपैँया भन्दा बढी आम्दानी गर्ने गरेको बताइन्।
उनीजस्तै त्यस क्षेत्रका महिलाहरुको दिनचर्या लोक्ताबाट बनेको हातेकागज निर्माण गर्नु हो। लेकाली क्षेत्रका महिलाहरुको आर्थिक समृद्धिको आधार हाते कागज बनेको छ। अर्गेलीको लोक्तालाई प्रशोधन गरी कागज उत्पादन गरेर महिलाहरु आर्थिक रुपमा समृद्ध बन्दै गएका हुन्।
बारीको कान्ला र जंगलमा भएको लोक्ता निकाल्ने र त्यसलाई पकाएपछि कुटेर लेदोबाट कागज उत्पादन गर्ने गरेको राइले बताइन्।
कागज बनाउन काठबाट बनाइएको फ्रेममा प्रशोधित कच्चा पदार्थ लगाउने र घाम लागेको बेला करिव २० मिनेटमै सुकेर कागज तयार हुने गरेको निर्मलाले बताइन्।
उनी घरको काम सकेर पनि दिनहुँ ४ सय वटा कागज बनाउन भ्याउँछिन्। ‘पुरुषहरु प्राय बाहिरको काम गर्छन् कागज बनाउने काममा पुरुषहरुको कुनै पनि संलग्नता छैन।’ उनले भनिन्। घरखर्च, छोराछोरी पढाइ, औषधि उपचार, पाहुना सबै यसैबाट चल्ने गरेको राई महिलाहरु बताउँछन्।
यस क्षेत्रमा पुरुषको तुलनामा महिलाहरु नै बढी कमाउने गरेको राइको भनाई छ। नेपाली हाते कागजको माग राम्रो भएपछि बारीका कान्लामा ‘अर्गेली’ लगाइएको र त्यसले राम्रो प्रतिफल दिएको राई सुनाउँछिन्।
लोक्तालाई आधुनिक प्रविधिबाट प्रशोधन गरेर जापानमा पनि पठाउने गरेको किसानहरु बताउँछन्। यद्यपी लालिखर्क क्षेत्रका महिलाहरुले लोक्ताभन्दा कागज प्रशोधन गरी बेच्दा बढी फाइदा हुने गरेको बताउँछन्।
फिदिम नगरपालिकाको लालिखर्क, सुम्निमा चोकदेखि कान्छि दोकान क्षेत्रका करिव डेढ सय महिलाहरु कागज उत्पादनमा सक्रिय छन्। उनीहरु झण्डै ५ दशक देखि निरन्तररुपमा कागज उत्पादन गर्दै आर्थिक रुपमा सबल बन्दै आएको बताउँछन्।
उत्पादित कागज सरकारी कार्यालयका काममा बढि प्रयोग हुने गरेको छ। उत्पादित कागजलाई यामकुमारी राईले इटहरी, विराटनगर, पोखरा, बुटवलदेखि काठमाडौंसम्म निर्यात गरिँदै आएको बताइन्। मासिक ५ लाख पाना कागजहरु यस क्षेत्रबाट संकलन गरेर पठाउने गरेको यामकुमारीको भनाइ छ।
असोजदेखि जेठसम्म उत्पादन बढी हुने राईले बताइन्। यो समयमा घाम बढी लाग्ने भएकाले फ्रेममा लगाएको कागज सुकेर छिटो तयार हुने तर असारदेखि भदौ अन्तिमसम्म घाम नलाग्ने हुँदा कागज उत्पादनमा कमी आउने उनीहरु बताउँछन्।
जिल्लाको दाजुभाई जडिबुटी सहकारी संस्थाका अध्यक्ष होमराज थाम्सुहाङले अर्गेली खेती गरेर प्रसोधित लोक्ता जापान पठाउने काममा समेत लागेको बताए।
उनले आफु संलग्न भएको संस्था मार्फत फालेलुङ गाउँपालिकाको सिदिन, प्राङबुङ, मेमेङसँगै रानिटारको सुकेटार क्षेत्रमा अर्गेली रोपणमा किसानलाई प्रेरित गर्दै आएको जानकारी दिए।
उनले कागजसँगै गुणस्तरिय लोक्ताको बजार राम्रो रहेको बताए। ‘लेकको खाली जमिनमा अर्गेली लगाउन किसानहरुलाई प्रेरित गरिनुपर्छ, यसको राम्रो सम्भावना छ’ उनले भने, ‘हजारौँलाई स्वदेशमै रोजगार सिर्जना गर्न सकिन्छ, म आफैले १५ जना जतिलाई रोजगारी दिएको छु।’
किसानहरुका अनुसार अर्गेलीलाई स्याहार गर्नु पर्दैन। एक पटक रोपेपछि बर्षौसम्म काट्दै लोक्ता निकाल्न मिल्छ।
जिल्ला घरेलु तथा साना उद्योग विकास समिति पाँचथको तथ्याङक अनुसार पाँचथर जिल्लामा काम गर्ने गरी १९ वटा उद्योगहरु स्थापना भएका छन्। जसको वार्षिक उत्पादन क्षमता ७४ लाख ४० हजार पाना कागज उत्पादन रहेको तथ्याङ्कले देखाएको छ। तर दर्ता भए अनुरुप उद्योगहरुले काम नगरेको किसान बताउँछन्।
कार्यालयका उद्योग अधिकृत इश्वरी अधिकारीका अनुसार जिल्लामा हातेकागजको सम्भावना राम्रो रहेको र यसको दिगोपन र बजारीकरणमा सरोकारवालाहरुको ध्यान जान जरुरी छ।