काठमाडौं उपत्यकामा ८ देखि १० घन्टासम्म भारी वर्षा हुने सम्भावना मौसमविदहरूले औंल्याएका छन्।
बंगालको खाडीबाट भारत हुँदै नेपाल प्रवेश गरेको मौसमी प्रणालीका कारण काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा अत्यधिक वर्षा हुन सक्ने सम्भावना मौसमविदहरूले औंल्याएका हुन्।
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सह–प्राध्यापक विनोद पोखरेलले शुक्रबार दिउँसोबाट दिनभरि हल्कादेखि मध्यम वर्षा हुने र शनिबार दिउँसोबाट भारीदेखि अतिभारी वर्षा हुन सक्ने बताएका छन्।
बागमती, मधेस र कोशी प्रदेशका धेरै स्थान वर्षाबाट प्रभावित हुने तथा लुम्बिनी र गण्डकीका केही स्थानमा पनि अति भारी वर्षा हुन सक्ने उनले उल्लेख गरेका छन्।
'बागमती र मधेसका केही स्थानमा ३०० मिलिमिटरभन्दा बढी पानी पर्न सक्छ,' उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्।
उनले शनिबार राति सचेत रहन सुझाव दिँदै सकेसम्म शनिबार र आइतबार यात्रा नगर्न भनेका छन्।
उनले सामाजिक सञ्जाल 'एक्स' (ट्विटर) मा लेखेका छन्, 'पानी त आज दिउँसोबाट सुरू हुन्छ तर आज दिनभरि हल्कादेखि मध्यम वर्षा मात्र छ। भारीदेखि अति भारी वर्षा भोलि दिउँसोबाट सुरू हुने र भोलि राति भने सचेत हुनुपर्ने छ। सकेसम्म भोलि दिउँसोदेखि आइतबारसम्म यात्रा नगर्न सुझाव छ। काठमाडौं उपत्यकामा ८-१२ घन्टासम्म भारी वर्षाको सम्भावना छ।'
जल तथा मौसम विज्ञान विभागले पनि मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ अर्थात् बिहीबार रहे पनि मनसुन पुन: सक्रिय भएको उल्लेख गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुनी वायुको प्रभाव, स्थानीय प्रणाली र बंगालको खाडीबाट उत्पन्न प्रणालीका कारण शुक्रबार अपराह्नदेखि केही दिन अति भारी वर्षा हुन सक्ने जानकारी दिए।
शनिबार र आइतबार बढी वर्षा हुने जानकारी दिँदै सोमबारबाट भने क्रमशः सुधार हुँदै जाने उनले बताए।
'त्यसपछि पश्चिम वायुको प्रभाव कसरी आउँछ, त्यसले मनसुन बाहिरिने कुरा निर्धारण गर्छ,' उनले भने।
यसबीच काठमाडौं जिल्ला प्रशासन कार्यालयले रातको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले यही असोज १७ देखि २० गते सम्म काठमाडौं लगायत जिल्लामा भारी वर्षा हुने र त्यसबाट जोखिमयुक्त स्थानहरूमा बाढी, पहिरो, भू–क्षय जस्ता विपद्जन्य घटना हुनसक्ने सम्भावना देखाएकाले रातको समय यात्रा नगर्न काठमाडौं जिल्ला प्रशासन कार्यालयले भनेको छ।
प्रशासन कार्यालयले भनेको छ —
- असोज १७ देखि २० गतेसम्म आ-आफ्नो स्थानमा रही सतर्कता र सावधानी अपनाउनू
- अत्यन्त जरूरी नभई सकेसम्म उक्त अवधिमा लामो दुरीको यात्रा नगर्नू
- काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं प्रवेश गर्नेहरूले रातको समय यात्रा नगर्नू