शनिबार राति आएको वर्षाले सुर्खेतको रामघाटस्थित किसानहरूको बालीमा क्षति पुर्याएको छ।
वर्षाका कारण भेरीगंगा नगरपालिका ११ रामघाटस्थित पात्ले खोलामा आएको बाढीले स्थानीय ८२ घरपरिवारले लगाएको गहुँ बालीमा क्षति पुर्याएको हो।
बाढीका कारण स्थानीय लक्ष्मी कामीको घर भत्किएको छ। अन्य पाँच जनाको घरमा सामान्य क्षति पुगेको छ। करिब ११५ रोपनी जग्गामा लगाएको गहँबाली, मसुरो, चना, आलुलगायतका अन्य बालीहरू बाढीले बगाएको पीडित टिका रानाले बताइन्।
वर्षभरि खान पुग्ने गहुँबाली बाढीले एकैपटक बगाएपछि आफूहरू चिन्तामा रहेको उनले बताइन्।
उक्त बाढीले लाखौँ रुपैयाँ बराबरको खाद्यान्न बगाएर लगेपछि कृषक चिन्तित देखिएका छन्। अब उक्त ठाउँका पीडित किसानहरू राहतका लागि प्रदेश सरकारको आशा गर्न थालेको कृषक सुरज खड्काले बताए।
बाढीले स्थानीय भीमा विकका १५० ओटा कुखुरासमेत बगाएको छ।
यस्तै, बाढीले खानेपानी आयोजनाको २ सय मिटर पाइपसँगै पुल निर्माणका लागि जम्मा पारिएको सामग्रीहरू समेत बगाएर लगेको भेरीगंगा ११ का वडाअध्यक्ष टिकाराम सुवेदीले जानकारी दिए।
यसैगरी, बाढीले पुर्याएको क्षतिको अनुगमन गर्न रामाघाट पुगेका कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा योजना मन्त्री खड्क खत्रीले पीडित किसानलाई राहत उपलब्ध गराउन पहल गर्ने आश्वासन दिएका छन्। मन्त्री खत्रीले अबका दिनमा बाढीबाट हुने क्षति रोक्न योजनाहरू निर्माण गर्न पहल गर्ने समेत बताए।