कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य निर्धारणमा समिति तथा बजार व्यवस्थापनको कुनै भूमिका नरहने जनाएको छ।
शुक्रवार आयोजित कार्यक्रममा समितिका उप निर्देशक तथा सूचना अधिकारी विनय श्रेष्ठले बजारको माग र आपुर्तीको आधारमा मूल्य निर्धारण हुने गरेको दावी गरे।
‘तरकारी र फलफूललाई स्टोर गरेर कृत्रिम अभाव गर्न मिल्दैन, न त यसमा एकाधिकार र मिलेमतो नै हुन्छ’ उनले भने।
गुण, अवस्था, जात, स्रोत, समय, कारोवारको स्तर, भावी सम्भावना आदी कारणले एउटै बस्तुको मूल्य पनि फरक हुने गरेको श्रेष्ठले दावी गरे।
नेपालको खुला बजार अर्थनीतिका कारण माग र पुर्तीको आधारमा मात्र वस्तुको भाउ बढ्ने कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिका अध्यक्ष तथा कृषि विकास मन्त्रालयका सह–सचिव काशी राज दाहालले बताए।
बिचौलिकाको कारणले तरकारीको भाउ केही फरक पर्ने गरेको स्वीकार्दै दाहालले यसलाई नियन्त्रण गर्न आफुहरु तत्पर रहेको बताए।
देशको सबैभन्दा ठूलो र सरकारद्वारा संचालित यो तरकारी तथा फलफुल बजारमा सर्वसाधारणले प्रत्यक्ष फाइदा पाउनु पर्ने भन्दै दाहालले यसको लागि खुद्रा विक्रेताले सहजता प्रदान गरेको बताए।