चाडपर्व नजिकिएसँगै बुधबार इलाममा बजार अनुगमन गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय इलामको अगुवाइमा इलाम नगरपालिका, जिल्ला प्रहरी कार्यालय इलाम, इलाम उद्योग वाणिज्य संघ, करदाता सेवा कार्यालय इलाम, कृषि विकास कार्यालय इलामको टोलीले जिल्ला सदरमुकाम अनुगमन गरेको हो ।
अनुगमन टोलीले इलाम बजारका मिठाइ पसल, फलफूल तथा तरकारी, होटल, किराना र माछा पसल गरी जम्मा १७ वटा पसलमा अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा अधिकांश पसलमा उपभोक्ताको स्वास्थ्यमा अत्यन्तै हानी गर्ने म्याद गुज्रिएका सामानदेखि मूल्यसूची नराखिएका पलसहरू भेटिए ।
चाडपर्व नजिकिँएसँगै बजारमा बढी किनमेल हुने र यसै समयमा व्यवसायीले कालोबजारी साथै मिसावट गर्ने भएकाले अनुगमन गरिएको अनुगमन टोलीमा रहेका आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका संयोजक शेबहादुर देवानले बताए। अनुगमनका क्रममा सबैभन्दा बढी पेय पदार्थ म्याद गुज्रिएको पाइएको छ ।
सत्रवटा पसलमध्ये छवटा पसल दर्ता नगरी चलेका र पान नम्बर नलिइ चलेको पाइएको थियो । ती पसल सञ्चालकलाई १५ दिनभित्र करदाता सेवा कार्यालयमा बोलाइएको छ ।
सबैभन्दा बढी कोकाकोला म्याद गुज्रिएको भेटेपछि व्यापारीहरूले तीन दिनअघिमात्र कोकाकोला आफ्नो पसलमा झरेको बताएका थिए । कम्पनीले तीन दिनअघि मात्र पसलमा झारेको सामानमा यस्तो त्रुटि पाइएको व्यापारीको भनाइ छ । रासस