गुणस्तरीय इँटा उत्पादन हुने जिल्लाको रुपमा परिचित चितवनको इँटा भट्टा चौतर्फी समस्याले घेरिएसँगै विस्थापन हुने स्थितिमा छ ।
विसं.२०२५ तिर जिल्लामा ४५ हजाराको हारहारीमा इँटा भट्टा रहेकामा हालसम्म आइपुग्दा १८ वटामा झरेको छ । हाल जिल्लाको रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा इँटा भट्टा छन् । इँटा उद्योग संघका जिल्लाअध्यक्ष नारायण सापकोटा गुणस्तरीय माटो अभाव, जनघनत्व वृद्धि, सहजरुपमा मजदूर नपाउनु, विभिन्न निकायलाई कर र चन्दाजस्ता समस्याका कारण उद्योग विस्थापित हुँदै गएको बताउँछन् । उहाँकाअनुसार नगरपालिका, जिल्ला समन्वय समिति र आन्तरिक राजस्व कार्यालयलाई फरक/फरक कर तिर्नुपर्ने बताउँछन् ।
जनघनत्व बढ्दै गएकाले स्थानीयवासीको दबाबमा बाटो, पुल, टोल, क्लब, विद्यालय, कुलोलगायतलाई चन्दा दिनुपर्ने बाध्यता पनि बढ्दै गएको छ । मजदूरलाई अग्रिम पैसा तिर्नुपर्ने हुन्छ भने कोइलालगायतका कच्चा पदार्थको मूल्य निरन्तर बढ्दै जाँदा थप समस्या भएको छ ।
इँटा उद्योग महासंघका सचिवसमेत रहेका सापकोटाकाअनुसार जिल्लामा आवश्यक पर्ने ७५ प्रतिशत इँटा यहाँको उत्पादनले धानेको छ । बाँकी इँटा तराईका जिल्लाबाट आउने गर्दछ । यहाँ आउने कम गुणस्तरका (‘बि’ ग्रेडका) इँटासँग जिल्लामा उत्पादित उच्च गुणस्तर (‘ए’ ग्रेडका) इँटासंग दाज्ने गरेकाले पनि समस्या आउने गरेको सापकोटाले बताए । यहाँका सबै व्यवसायी मूल्य अभिवृद्धि करमा दर्ता छन् ।
संघका पूर्व अध्यक्ष विनोद श्रेष्ठकाअनुसार बालुवा नमिसिएको चिम्ट्याइलो माटो इँटाका लागि आवश्यक पर्दछ । त्यस्तो माटो नहुँदा यसैवर्ष एक उद्योग जिल्लाबाट विस्थापित हुनुपरेको बताउँदै उनले अर्को एक उद्योग नोक्सान धान्न नसकेर बन्द भएको बताए ।
श्रेष्ठकाअनुसार एउटा उद्योग खोल्न कम्तीमा दुई करोड खर्च हुने गर्दछ । खर्च धान्न नसके र नै ती उद्याग बन्द भएका हुन् ।
समयमा नै समस्या निराकरण गर्न नसके सबै उद्योग विस्थापित हुनसक्ने श्रेष्ठको चिन्ता छ । कुनै मौसममा अस्वभाविक हावाहुरी र वर्षाका कारण सुकेका इँट्टा पूर्णरुपमा क्षति हुँदा पनि ठूलो नोक्सान हुने गरेको व्यवसायीहरू बताउँछन् । जिल्लामा रहेका भट्टामा कम्तीमा एक सय ५० भन्दा बढी मजदूर आवश्यक पर्दछ । सम्पूर्ण मजदूर बाहिरी जिल्लाबाट झिकाउनुपर्ने हुन्छ । रासस