उद्योग वाणिज्य संघ चितवनको ५१औँ साधारणसभा तथा ३५ औँ अधिवेशनले सहनलाल प्रधानको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।
गएराति सम्पन्न मतगणनामा निकटतम प्रतिद्वन्द्वी राजु श्रेष्ठलाई ३४३ मतले पछि पार्दै प्रधान अध्यक्षमा निर्वाचित भएका हुन्। प्रधानले एक हजार ४८९ मत ल्याउँदा श्रेष्ठले एक हजार १४६ मत प्राप्त गरे।
अधिवेशनमा प्रधान र श्रेष्ठको दुई प्यानलमा उम्मेदवारी परेको थियो। पदाधिकारी सबै प्रधान प्यानलका विजयी भएको संघका लेखा अधिकृत डम्मरराज गौतमले जानकारी दिए।
वरिष्ठ उपाध्यक्षमा चुननारायण श्रेष्ठ एक हजार ६१९ मतका साथ विजयी भएका छन्। वाणिज्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल, उद्योगतर्फको उपाध्यक्षमा सुमनकुमार श्रेष्ठ र वस्तुगततर्फको उपाध्यक्षमा चिरञ्जीवी सुवेदी निर्वाचित भएका निर्वाचन समितिले जनाएको छ।
अधिवेशनले उद्योगतर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, सोमप्रसाद काप्री, सिद्धार्थलाल चुके, कृष्णप्रसाद रिजाल, चन्द्रमणि सापकोटा, रोहितकुमार श्रेष्ठ निर्वाचित गरेको छ। रिजाल भने श्रेष्ठ प्यानलका हुन्।
वाणिज्यतर्फको सदस्यमा ईश्वरीप्रसाद खराल, राजेन्द्र ओली, ज्ञानुप्रसाद न्यौपाने, लक्ष्मी रिमाल पौडेल, तारानाथ पाठक, थिरप्रसाद धिताल निर्वाचित भए। धिताल श्रेष्ठ प्यानलका हुन्।
वस्तुगततर्फ शिव ओझा, विकाश थापा, दीपक पौडेल र किरण खनाल विजयी भएका छन्। महिला सदस्यमा भने रजनी मास्के निर्वाचित भएकी छन्। यअसघि नै यमबहादुर विक, शिरिष पन्त र रेशमलाल आचार्य निर्विरोध निर्वाचित भएका थिए।
संघमा निवर्तमान अध्यक्षसहित कूल २९ जनाको कार्यसमिति रहनेछ। निर्वाचनमा ४६ जनाको उम्मेदवारी परेको थियो। पुस ३० गतेदेखि अधिवेशन सुरू भएको थियो। संघको निर्वाचनमा दुई हजार ८५६ जना सहभागी थिए।