साल्ट ट्रेडिङ कर्पाेरेशनले सरकारबाट अनुदानित रासायनिक मलभन्दा सस्तो मूल्यमा गैरअनुदानित मल कृषकका खेतबारीमा पुर्याएको छ।
कर्पाेरेशनले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट नामक बहुतत्वयुक्त रासायनिक मल आफ्ना २८ विक्री केन्द्रमार्फत विक्री वितरणमा ल्याएको छ। ती मलले तेलहन, तरकारी तथा अन्य बालीका बिरुवाका लागि अति आवश्यक तथा सुक्ष्म तत्वको आपूर्ति बढाउन सहजता प्रदान गर्दछ।
सरकारले कृषि सामग्री कम्पनीलाई ७० प्रतिशत र सो कर्पाेरेशनलाई बाँकी ३० प्रतिशत अनुदान दिई यूरिया, डाइएमोनियम फस्फेट र म्यारेट अफ पोटास मल आयात गरी विक्री वितरण गर्न अनुमति दिएको छ।
कर्पाेरेशनद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा कर्पाेरेशनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले आम कृषकको माग तथा बालीको उत्पादकत्व वृद्धि गर्न गैर अनुदानमा कर्पाेरेशनले मल आयात गरेको जानकारी दिए।
नेपालमा वर्षेनी पाँचलाख मेट्रिक टन विभिन्न किसिमका रासायनिक मल आवश्यकता पर्दछ। तीमध्ये सरकारले पछिल्लो वर्ष तीनलाख मेट्रिक टनमा अनुदान दिने गर्दछ । कर्पाेरेशनले विसं २०६९ देखि अनुदानका मल विक्री वितरण गर्दै आएको थियो ।
उनले माटोको अम्लियपनलाई सिङ्गल सुपर फस्फेटमा भएको क्याल्सियम तत्वले ठीक पार्ने, एमोनियम सल्फेटले बिरुवाका लागि आवश्यक तत्व प्रदान गर्ने चर्चा गर्दै छोटो समयमा आम कृषकले मललाई रुचाएको बताए।
कर्पाेरेशनले ती दुई मल आयात गरी बिक्री वितरण गरेको तीन महिना मात्र भएको छ । यस अवधिमा करिब ३० हजार मेट्रिक टन खपत भइसकेको जनाएको छ ।
अर्काेतर्फ अनुदानित युरिया मलबाट ४६, डाइएमोनियम फस्फेटबाट १८ र म्यारेट अफ पोटासबाट ४६ प्रतिशत तत्व माटोको पौष्टिक सन्तुलन मिलाउन प्राप्त हुने गर्दछ । यसका अतिरिक्त अन्य १३ वटा तत्व पनि बिरुवाका लागि आवश्यक पर्छ । यी आवश्यक तत्व कर्पाेरेशनले विक्री वितरण गरेका मलबाट प्राप्त हुने प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले पत्रकार सम्मेलनमा बताए।
उनले रासायनिक मलको समुचित प्रयोगका बारेमा आम कृषकलाई उनीहरूकै घर आँगनमा पुगी जानकारी दिने सचेतना कार्यक्रम जारी रहेको बताए।
कर्पाेरेशनका व्यापार निर्देशक पंकज जोशीले सरकारले अनुदान दिएको मलभन्दा कर्पाेरेशनले आयात गरी विक्री वितरण गरेको मल सस्तो रहेको जानकारी दिए। उनले एमोनियम सल्फेट प्रतिकेजी १८ रुपैयाँ र सिङ्गल सुपर फस्फेट २६ रुपैयाँ ५० पैसामा विक्री वितरण भएको बताए।
कर्पाेरेशनका कृषिविज्ञ भगवानप्रसाद खतिवडाले एमोनियम सल्फेट र सिङ्गल सुपर फस्फेट मल विश्वबजारमा निस्केका पुरानो र विश्वसनीय मल रहेको चर्चा गरे।
उनले एमोनियम सल्फेटमा २१ प्रतिशत नाइट्रेजन तथा २४ प्रतिशत सल्फर हुने र सिङ्गल सुपर फस्फेटमा १६ प्रतिशत फस्फोरस, १२ प्रतिशत सल्फर र २१ प्रतिशत क्याल्सियम हुने जानकारी दिए।