रकम जम्मा गर्नेको सङ्ख्या बढाउने लक्ष्यका साथ व्यक्तिगत रूपमा समेत रकम जम्मा गर्न पाउने योजना सञ्चयकोषले अगाडि सारेको हो। कोष सञ्चालक समितिमा त्यससम्बन्धी प्रस्ताव पेश भइसकेको छ ।
कोषका निमित्त प्रशासक दीपक रौनियारले सञ्चालक समितिको बैठकले सो विषयमा आवश्यक निर्णय गरेपछि व्यक्तिगत रूपमा कोष जम्मा गर्न पाउने मार्ग प्रशस्त हुने जानकारी दिए।कोषमा हाल ६ लाखभन्दा बढीले कोष कट्टी गर्दै आएका छन्।
स्वरोजगार, अनौपचारिक क्षेत्रमा काम गरिरहेका नागरिक तथा निजी क्षेत्रमा कार्यरत कर्मचारीलाई समेत कोषमा सहभागी गराउने लक्ष्यका साथ नयाँ कार्ययोजना अगाडि ल्याउन लागिएको रौनियारको भनाइ छ। यसअघि नीजि क्षेत्रका संस्थाले पनि दश जनासम्मका कर्मचारीको रकम कोषमा जम्मा गर्दै आएका थिए । नयाँ व्यवस्थापछि व्यक्तिगत रूपमा रकम जम्मा गर्न सकिनेछ।
नागरिक लगानी कोषले दिएजस्तै सुविधा कोषले पनि दिन लागेको हो। कोषको कुल बचत रकमलाई सात खर्ब रुपैयाँ पुर्याउने लक्ष्यका साथ अनौपचारिक क्षेत्रमा काम गर्नेलाई समेत सहभागी गराउन लागिएको निमित्त प्रशासक रौनियारले बताए।
वैदेशिक रोजगारीमा रहेकालाई पनि सुविधा कोषले वैदेशिक रोजगारीमा रहेका नागरिकलाई समेत कोषको सदस्य बनाउने र रकम जम्मा गर्न प्रेरित गर्ने लक्ष्य राखेको छ। हाल औपचारिक र अनौपचारिक रूपमा गरी देशका करीब ४० लाख युवा वैदेशिक रोजगारीमा छन्।
वैदेशिक रोजगारीमा रहेका युवाले पठाउने विप्रेषणलाई बचत गर्न प्रेरित गर्ने लक्ष्यका साथ त्यस्तो योजना ल्याउन लागिएको हो। विप्रेषणबाट प्राप्त रकम अनावश्यक रूपमा खर्च भइरहेको र जताबाट आयो उतै जाने अवस्थाको अन्त्यका लागि त्यस्तो योजना अगाडि सारिएको रौनियार बताउँछन्।
विदेशबाट आउने रकमलाई सोझै कोषमा जम्मा गर्ने वा घरपरिवारका सदस्यले नजिकका कार्यालयबाट जम्मा गर्न सक्ने गरी सहज कार्यविधि बनाउने तयारी छ । बूढेसकालमा निवृत्तिभरणको रूपमा समेत उक्त कोषमा जम्मा गरिएको रकम खर्च गर्न सक्ने गरी योजना तयार पारिएको कोषले जनाएको छ।
जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले ‘रेमिट्यान्स हाइड्रो’को अवधारणा सोही प्रयोजनका लागि अगाडि सारेको हो। रेमिट्यान्स हाइड्रो कम्पनीमार्फत हाल ताप्लेजुङमा घुन्सा खोला जलविद्युत् आयोजना ७१.५ मेगावाट र सिंबुआ खोला ५३.७ मेगावाट क्षमताका आयोजना निर्माणको प्रक्रियामा अगाडि बढाउने योजना छ। वैदेशिक रोजगारमा रहेका नागरिकले कमाएको रकम सदुपयोग होस् भन्नेतर्फ कोषले ध्यान दिन थालेको छ।
विप्रेषणबाट प्राप्त रकम अनुत्पादनशील क्षेत्रमा बढी खर्च भइरहेको छ। त्यसलाई रोक्ने उपाय बचत गर्ने बानीको विकास गर्ने र लगानीका अवसर सिर्जना गर्ने लक्ष्यका साथ यस्तो अवधारणा ल्याइएको हो। जलविद्युत् लगानी तथा विकास कम्पनीको प्रमुख कार्यकारी अधिकृतको रूपमा रहँदा रौनियारले नै रेमिट्यान्स हाइड्रोको अवधारणा अगाडि सारेका थिए। सबै वर्ग तथा क्षेत्रका नागरिकलाई रकम जम्मा गर्न पाउने सहज व्यवस्था भएपछि कोषको कुल बचत सात खर्ब रुपैयाँ पुग्ने विश्वास लिइएको छ ।
नेपालको हालको कुल बजेट बराबरको पूँजी बनाउने लक्ष्यका साथ कोषले कार्ययोजना अगाडि सारेको रौनियारले बताए। आगामी दिनमा सबल र सक्षम आर्थिक संस्थाका रुपमा कोष अगाडि बढ्नुका साथै मुलुकको आन्तरिक लगानीमा विविध स्रोत तथा आयामका बारेमा सहज मार्ग निर्देश गर्नेछ । कोषले नेपाल वायु सेवा निगमलाई विमान खरीदमा मात्रै २० अर्ब रुपैयाँ लगानी गरिसकेको छ ।
यस्तै, माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी र मध्य भोटेकोशीमा समेत लगानी गरेको छ। यस्तै अन्य विविध परियोजनामा ३३ अर्ब रुपैयाँ लगानी गरेको छ। कोषले एक खर्ब ३७ अर्ब रुपैयाँ व्यक्तिगत तथा अन्य क्षेत्रमा लगानी गरेको छ। कुल ५४ अर्ब रुपैयाँ रकम भने विभिन्न बैंक तथा वित्तीय संस्थामा मौज्दात छ।