काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आज रत्नपार्कमा बायोग्यास प्लाण्टको शिलान्यास गरेका छन्।
५औँं विश्व चर्पी दिवसको अवसरमा रत्नपार्कको सार्वजनिक शौचालयबाट बायोग्यास उत्पादन गर्ने उद्देश्यका साथ प्रमुख शाक्यले आज बायोग्यास प्लाण्टको शिलान्यास गरेका हुन्। सार्वजनिक शौचालयबाट उत्सर्गन हुने फोहर पानीको उचित व्यवस्थापन र शौचालयलाई स्वच्छ बनाउनका लागि बायोग्यास प्लाट निर्माण गर्न लागिएको शाक्यको भनाइ छ ।
रत्नपार्कको बायोग्यास प्लाट एरोसान र गुठीको आर्थिक सहयोगमा निर्माण गर्न लागिएको हो। प्लाण्ट निर्माणका लागि ६ लाख रुपैयाँ खर्च हुने महानगरले जनाएको छ । रत्नपार्कको बायोग्यास प्लाण्टबाट उत्पादन हुने ग्यास खाना पकाउन र बत्ती बाल्न प्रयोग गर्ने बताइएको छ ।
सफा सहर बनाउने अभियानअन्तर्गत कामपाले सहरलाई हराभरा बनाउनका लागि दुबो, बिरुवा, फूल रोप्ने कार्य सुरू गरिसकेको र निजी सहकार्यमा तीन सय सार्वजनिक शौचालय निर्माण गर्ने उनले जानकारी दिए।
उक्त प्लाण्ट दुई महिनाभित्र बनाइसक्ने र प्लाण्टबाट मासिक रुपमा पाँच सिलिण्डरसम्म ग्यास उत्पादन हुने वातावरण व्यवस्थापन विभागका प्रमख रविनमान श्रेष्ठले जानकारी दिए। प्लाण्टबाट निस्केको लेदोलाई कम्पोष्ट मल बनाउने योजना रहेको छ ।