सम्पत्ति मूल्यांकन गर्ने मूल्यांकनकर्ताहरूको संगठन नेपाल भ्यालूयर्स एशोसिएशनले मूल्यांकन नीति अस्पष्ट भएको भन्दै नीतिगत सुधार गर्नुपर्ने माग गरेको छ ।
आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एशोसिएशनले नीतिगत अस्पष्टताका कारण मूल्यांकनकर्ता इन्जिनियरहरूले समस्या भोग्नुपरेको उल्लेख गर्दै त्यसतर्फ गम्भीर बन्न सम्बन्धित निकायलाई आग्रह गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै एशोसिएशनका अध्यक्ष ऋषि कोइरालाले सम्पत्ति मूल्यांकनका विषयमा भएका अस्पष्टता र अपारदर्शितालाई समाप्त गर्नका लागि एशोसिएशन र नेपाल बैंकर्स एशोसिएशनबीच सहमति भएपनि त्यसअनुसार काम हुन नसकेको बताए। बैंकर्स एशोसिएशनले समस्या समाधानका लागि कुनै निचोड निकाल्न नसकेको कोइरालाको भनाई छ ।
त्यस्तै बैंकहरूको नियमन निकाय नेपाल राष्ट्र बैंकले पनि समस्या समाधानका लागि कुनै चासो नदिएको गुनासो कोइरालाको छ। नेपाल राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले भने सम्पत्ति मूल्यांकनको विषय पूर्ण रुपमा राष्ट्र बैंकले नियमन गर्ने व्यवस्था नभएको जानकारी दिएका छन्।
पत्रकार सम्मेलानमा बोल्दै पौडेलले भ्यालूयर्स एशोसिएशन र बैंकर्स एशोसिएशनबीच समन्वय गरेर समस्या समाधान गर्न सल्लाह दिए । बैंक र मूल्यांकन कर्ताबीचको समस्या भएकाले राष्ट्र बैंकको प्रत्यक्ष भूमिका केही पनि हुन नसक्ने पौडेलको तर्क छ । ‘सबै कुरा राष्ट्र बैंकले हेर्न सक्दैन। असल अभ्यास पनि हुनुपर्छ’ पौडेलले भने ।
नेपाल भ्यालूयर्स एशोसिएशनले सरोकारवाला संस्थाको मूल्याकन नीतिमा अस्पष्टता, अपारदर्शिता तथा एकरुपता नहुँदा मूल्यांकनकर्तालाई अनावश्यक रुपमा कालो सूचीमा राख्ने, ठगी तथा बैंकिङ कसुर जस्ता जघन्य फौजदारी अभियोगमा अनुसन्धान तथा एकतर्फी कारबाही गर्ने गरिएकोप्रति आपत्ति जनाएको छ ।
एशोसिएशनले मूल्यांकनकर्ता इन्जिनियरहरूलाई लगाएका झुटा मुद्दा फिर्ता लिन आग्रह गरेको छ।
एशोसिएशनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मूल्यांकनकर्ता इन्जिनियरहरू विशुद्ध प्राविधिक जनशक्ति हुँदा हुँदै पनि ऋणसँग सम्बन्धित कागजातको शुद्धता प्रमाणिकरण गर्नेदेखि लिएर एकतर्फी रुपमा बैंक तथा वित्तीय संस्थाले तयार पारेका ऋणको धन जमानी सरहका सम्झौता पत्रहरूको संशोधन तथा खारेजी गर्नको लागि यस एशोसिएशन जोडदार माग गर्दछ।’
एशोसिएशनले यही कात्तिक २८ देखि ३० गतेसम्म मुलुकभर सम्पूर्ण मूल्यांकन कार्य नगर्न मूल्यांकनकर्ताहरूलाई अपिल गरेको छ ।