वर्षा सकिएसँगै काठमाडौं महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रमा पर्ने भित्री सडकका खाल्डाखुल्डी पुर्ने काम सुरू गरेको छ।
वर्षाको समयमा खाल्डाखुल्डी पुर्दा दीर्घकालीन नहुने हुनाले कामपाले हिउँदको समयमा सडकका खाल्डाखुल्डी पुरेर कालोपत्रे गर्ने कामलाई तीव्रता दिन थालेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले बताए।
अहिले नरदेवी, कोटेश्वरलगायतका स्थानमा सडक निर्माण गर्ने, खाल्डाखुल्डी पुर्ने काममा महानगर सक्रिय बनेको पनि प्रमुख शाक्यले जानकारी दिए।कामपाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने आठ मिटरभन्दा कम चौडाइका सडक विस्तार र स्तरोन्नतिका लागि भनेर ८० करोड रुपैयाँ बजेट छुट्याएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए।
८० करोड रुपैयाँमध्ये २५ करोड रुपैयाँ साना सडकको खाल्डा पुर्नको लागि र ५५ करोड रुपैयाँ काठमाडौंका अन्य सडक निर्माणको लागि खर्च गरिने ढकालले बताए। कामपाका अनुसार मंसिर पहिलो सातादेखि खाल्डाखुल्डी पुर्ने काम सकेर कालोपत्रे गर्न सुरू गर्ने योजना रहेको छ।
सडक निर्माणको काम वर्षाको समयमा भन्दा हिउँदमा सहज हुने भएको हुनाले पनि अहिले काम सुरू गरेको कामपाको भनाइ रहेको छ ।
सोमबार प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाको वडा नम्बर ३२ का विभिन्न स्थानमा भइरहेको सडक निर्माणको अवलोकन गर्दै सेतीओपी मार्ग कामनपा–३२ मा भइरहेको सडक निर्माणबारे जानकारी लिँदै इञ्जिनियरलाई छिटोभन्दा छिटो तथा प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए।