उद्योग मन्त्रालयले मुलुकका ७५३ स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने गृहकार्य गरिरहेको छ।
सरकारले देशमा रोजगारी वृद्धि गरी युवा जनशक्तिलाई विदेशिनबाट रोक्न यस्तो ग्रामको विकास गर्न लागिएको हो। हरेक तहमा ससाना घरेलु उद्योग स्थापनाका लागि उचित वातावरणको व्यवस्थापन गर्न ती ग्रामको विकास गर्ने अवधारणा ल्याइएको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए।
उक्त ग्राम स्थापनाका लागि १ सयदेखि २ सय रोपनी क्षेत्रफलको जमिनको व्यवस्था तथा बिजुली, बाटो, पानीलगायतका पूर्वाधार मन्त्रालयले तयार गर्नेछ।
उद्योगी र व्यवसायीले सञ्चालन गर्न खोजेका उद्योगका बारे स्थानीय तहमा पेश गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले ती ग्राममा स्थान उपलब्ध गराउने छ।
के कस्तो उद्योग तथा व्यवसाय कुन स्थानीय तहमा उपयुक्त हुन्छ, त्यसको आधारमा ग्रामको विकास गरिन्छ। त्यसैगरी, मन्त्रालयले मझौला तथा ठूला उद्योग सञ्चालनका लागि १४ औद्योगिक क्षेत्र निर्माण गर्ने प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए।
यसका लागि एक हजार रोपनीभन्दा धेरै क्षेत्रफल आवश्यक हुन्छ। शहर बजार तथा त्यस वरपर क्षेत्रमा भएका उद्योगलाई समेत उक्त स्थानमा प्रतिस्थापन गर्न सकिने योजना छ।