सम्पादकीय नोट: हामीले केटाकेटीहरूका लेख शृंखला सुरू गरेका छौं। आफ्ना नानीबाबुले नेपाली भाषामा लेखेका अनुभव, कथा, कविता, निबन्ध लगायत सिर्जनात्मक रचना तल दिइएको इमेल ठेगानामा पठाउनुहोस्, हामी प्रकाशित गर्नेछौं।
...
विश्वमा मानव सभ्यतालाई चुनौती दिएर विकराल रूप लिँदै गएको कोभिड-१९ भाइरसले गर्दा अधिकांश व्यक्तिको दैनिक जीवनमा मनोवैज्ञानिक, शारीरिक र समाजिक उत्साह खस्कँदै गएको छ। बालबालिका, युवा र प्रौढ सबै यो रोगको सन्त्रासबाट कतै न कतै ग्रसित भइरहेका छन्।
सहरमा अत्यधिक जनघनत्व हुने भएकाले यो रोगको संक्रमण पनि सहरमा छिटो हुन्छ भन्ने आकलन गरिएको छ। सरकारले गरेको बन्दाबन्दीको कारण सहरी जीवनयापन सबैका निम्ति कष्टकर हुँदै गएकाले सहरका विद्यालयहरूमा अध्ययन गर्ने अधिकांश विद्यार्थीहरू संक्रमणबाट जोगिन आफ्नो रैथाने परिवेश र गाउँठाउँमा फर्किएका छन्।
लकडाउनको समयमा धेरै जना विद्यार्थीहरू इन्टरनेटको पहुँचमा नहुन सक्छन्। जसले गर्दा हामीजस्ता विद्यार्थीहरू अनलाइन शिक्षाबाट वञ्चित हुनुपरेको छ। हामी विद्यार्थीको शैक्षिक सफलतादेखि सामाजिक सीप र मानसिक स्वास्थ्यसम्मलाई नराम्रोसँग प्रभावित पार्दै गएको यस महामारीको समयमा त्रसित हुनुभन्दा सचेत हुनु हाम्रो लागि अपरिहार्य छ।
युनेस्काेका अनुसार विश्वका १९० देशका १.६ विलियन विद्यार्थीहरूको शिक्षण सिकाइमा अहिले बाधा आइपरेको छ। जसमध्ये ९० प्रतिशतभन्दा बढी स्कुले छात्रछात्रा छन्। यस लेख लेख्दासम्म हाम्रो देशमा पनि विद्यालय सञ्चालन गर्ने सम्बन्धी ठोस योजना नभएकाले अहिलेको विद्यालय जाने पुस्ताको भविष्य अन्धकारमय हुनसक्छ कि भन्ने सम्भावना प्रबल हुँदै गएको छ।
त्यही पनि हामी विद्यार्थी पहुँच र सम्भव भएसम्म इन्टरनेटमार्फत अनलाइन शिक्षण सिकाइ तथा विद्युतीय श्रव्य र श्रव्य-दृश्य सामग्रीबाट शिक्षण सिकाइको सुविधा लिनुपर्छ। यसकाे पहुँच नभएपछि मानसिक तनाव र मनोवैज्ञानिक रूपमा ग्रसित हुनुभन्दा आफूभित्रको आन्तरिक क्षमता प्रस्फुटन गर्नतिर हामी आत्मजागृत होऔं। अरूलाई पनि प्रेरित गरौं। इन्टरनेटद्वारा अनलाइन शिक्षण सिकाइमा पाठ्यक्रमका विषयवस्तु पढ्न वा सिक्न वञ्चित हुँदा हतास नबनौँ। त्यसको सट्टा आफ्नो मनभित्र तीव्र इच्छाशक्ति जगाएर हामी आफ्नो वरिपरिको वातावरणमा रहेका जैविक वस्तुहरूको अध्ययन गर्न सक्छौं।
एउटा तथ्याङ्कले झण्डै १३ प्रतिशत किशोर अवस्थाका मानिसलाई विद्यालयबाटै मानसिक स्वास्थ्य सुरक्षा प्राप्त भइरहेको भन्ने देखाउँछ। तसर्थ, यो दरलाई बढ्न नदिन हामीले घरमा भएका सफल व्यक्तिका जीवनी, प्रेरणादायी कथा, उपन्यास र कविताका पुस्तकहरू पढ्न सक्छौँ।
भर्खरै मात्र बेलायतमा गरिएको एक अध्ययनका अनुसार गरिब परिवारको तुलनामा धनी परिवारका विद्यार्थीहरू ३० प्रतिशतभन्दा बढी समय घरमै शिक्षण आर्जनमा खर्चिएका छन्। यस्तो अवस्थामा नेपालका अधिकांश अभिभावकको प्रति व्यक्ति आयलाई आधार मान्ने हो भने हामीसामु शिक्षामा खर्चिने समयलाई लिएर एउटा गम्भिर प्रश्न खडा भएको छ।
त्यही पनि माथि भनिएजस्तै ज्ञान र मनोरञ्जनले भरिएका विभिन्न पुस्तकको अध्ययन एउटा सार्थक सहारा बन्न सक्छ। यदि त्यस्ता पुस्तकहरू हामीसँग उपलब्ध छैनन् भने अघिल्लो कक्षाका पाठ्यपुस्तक अध्ययन गर्ने गराउने तर्फ हाम्रा अभिभावकहरूले आफ्ना बालबालिकालाई समय दिन सक्नुभयो भने मात्र पनि बिर्सिएका कुराहरू पुनःस्मरण हुन्छ जसले हाम्रो दिमागको पुनरावृत्ति गर्ने क्षमतालाई वृद्धि गर्छ।
सेभ द चिलड्रेन र युनिसेफले सन् २०२० को अन्त्यसम्ममा कोभिड-१९ को महामारीले ८६ मिलियनभन्दा बढीको घरमा गरिबी निम्तिने बताएकाे छ। याे अघिल्लो वर्षको तुलनामा १५ प्रतिशतले बढी हुनेछ भन्ने आकलन गरेका छन्। यसरी निम्तने गरिबीका कारण हाम्रो जस्तो विकासोन्मुख मुलुकमा कुनै न कुनै रूपमा छोराछोरीको बीचमा गरिने भेदभाव बढ्न सक्ने देखिन्छ। यसले गर्दा विशेषगरी कक्षा १०–१२ मा अध्ययनरत छात्रा बालविवाहको शिकार बन्न सक्ने खतरा छ। त्यसैगरी, अन्य कक्षामा अध्ययन गर्ने विद्यार्थी समेतले विद्यालय छोड्ने पनि उच्च हुने अनुमान गर्न सकिन्छ।
अहिले विद्यार्थीहरूको खस्किरहेको मानसिक स्वास्थ्यलाई सक्दो उद्धारको निम्ति हाम्रा शिक्षकहरूको भूमिका महत्वपूर्ण रहन्छ। शिक्षक र शैक्षिक संस्थाले हरेक विद्यार्थीको मानसिक स्वास्थ्य सुधार गर्नेतर्फ बेलैमा ठोस योजना बनाउनुपर्ने देखिन्छ।
हरेक समस्यामा सकारात्मक पक्षका साथसाथै समाधान पनि रहेको हुन्छ भनेझैँ कोभिड १९ को महामारीका कारण भएको बन्दाबन्दीको समयलाई पनि हामीले उचित सदुपयोग गर्न सक्छौं। घरमा भाइबहिनी हुने बालबालिकाको सामाजिक सीप विकास हुने दर एक्लै हुनेको भन्दा छिटो हुन्छ। त्यसैले, आ-आफ्ना भाइबहिनी बीच विभिन्न मनोरञ्जनात्मक गतिविधिमा संलग्न हुनु पनि सृजनात्मक अभिवृद्धिका लागि श्रेयस्कर हुन्छ।
एक्लै हुने बालबालिकाको लागि उनीहरूका अभिभावकले आफ्ना छिमेक वा नातेदारका बालबालिकासँग सुरक्षित रूपमा समय व्यतित गर्ने व्यस्था मिलाउनु उपयुक्त हुन्छ।
अहिलेको व्यस्त जीवनशैलीमा यस्तो समय मिल्नु अन्यन्तै ठूलो कुरा हो। जो छोराछोरी आफ्ना अभिभावकसँग बोल्न र मनका कुरा राख्न हिच्किचाउनु हुन्थ्यो, अभिभावकको व्यस्तताका कारण आफूले समय नपाएर निराशायुक्त जीवन व्यतित गर्नुहुन्थ्यो, उहाँहरूले अहिलेको समयमा बाबुआमा वा अभिभावकको अमूल्य समय पाउनु भएको छ। यसरी हामी जस्ता विद्यार्थीले आफ्ना अभिभावकबाट माया, स्नेह र ज्ञानगुणका कुराहरु प्राप्त गर्न सक्छौँ। जुन हाम्रो जीवनकालका कैयौँ मोडमा लडेको बेला उठ्ने बैसाखीजस्तै सहारा बन्न सक्छन्।
सधैं पढाइको तनाव, शिक्षकको लेक्चर, गृहकार्य र नोट लेखाइको प्रेसरबाट गुज्रिरहेका हाम्रा दिनचर्याहरू अहिले तनावमुक्त भएर प्रकृतिसँग नजिक हुन पाएका छन्। विद्यालयको पाठ्यपुस्तकमा मकै, धान जस्ता बालीनाली र तरकारीहरू रोप्ने, गोड्ने, मल विषादीको उचित प्रयोग गर्ने र उब्जने प्रक्रियाका बारेमा गरिएको अध्ययन अहिले अभिभावकका साथमा प्रयोगात्मक रूपमा गर्ने मौका पाइएको छ। जुन चराचुरूङ्गीहरूको आकार, बनावट, वासस्थान र चारो हाम्रो अघिल्लो पुस्तालाई थाहा छ। ती चराचुरूङ्गी जस्तैः ढुकुर, धनेस, कोकले र अन्य जीवजन्तुको बारेमा हामीले उपयुक्त जानकारी लिने मौका पाएका छौं। यसलाई पनि सिकाइको एउटा पाटो मान्न सकिन्छ।
जुन समयमा हामी विद्यार्थीहरू बिहानै तयार भएर ट्युसन जाने गर्थ्यौं, त्यस समयमा अहिले हामी याेग र ध्यान गर्न सक्छौं। दिनदिनै बसको यात्राबाट विद्यालय पुग्ने, कोलाहाल धुवाँ-धुलो सहितको दैनिक जीवन प्रक्रियाबाट शरीरमा पर्ने गम्भीर असर न्यूनीकरण गर्न हामीले अहिलेको समयमा उचित निद्रा, स्वस्थ भोजन ग्रहण, उपयुक्त मनोरञ्जन र आफ्नो सृजनात्मकतालाई प्रस्फुटन गरौँ र कोभिड-१९ विरूद्धको महायुद्धमा हामी विद्यार्थी बालबालिका पनि विजयको एउटा हतियार बनौँ।
(स्मृती बस्नेत गोरखा स्कुल तुलसीपुर, दाङमा अध्ययनरत छिन्।)
लेख पठाउने इमेल: (नेपालीमा लेखिएका लेख मात्र प्रकाशन हुनेछन्)