तमु धी यूकेले प्रत्येक बर्ष लन्डनमा आयोजना गर्दै आईरहेको नेपाली मेला झन्डै दश हजार मान्छेहरुको सहभागितामा सम्पन्न भएको छ। लन्डन केम्पटन पार्कमा आयोजित नेपाली मेलामा नेपालको पूर्व देखी पश्चिम सम्मको संस्कृती, परम्परा र भेषभुषा झल्काऊने बिभिन्न नाच गान झाँकीहरुमा दर्जनौँ संघ संस्थाहरुले आ आफ्नो प्रस्तुतीहरु दिएका थिए। हुलका हुल सांस्कृतिक झाँकीहरु लावा लस्कर सहित मैदानमा उत्रिदाको सांस्कृतिक तरंग र दृश्यावलोकनमा नेपाली बाहेकका विदेशी पाहुनाहरु समेत अचम्ममा दंग देखिन्थे।
यसका अलावा रेस कोर्सको खुला मैदान परिसरमा चना चट्पट, सेलरोटी, मोमो लगायतका नेपाली स्वाद पस्किने थुप्रै स्टलहरुमा मान्छेहरुको आकर्षण देखिन्थ्यो। मेलामा बिभिन्न नेपाली सामाग्री तथा सेवा प्रदायक हरुले व्यवसायीक स्टल समेत राखेका थिए।
मेलामा परिवार सहित मनोरंजनमा रमाउने हरुको उल्लेख्य उपस्थिती रहेको थियो। "यता लन्डनमा त नेपालै नेपाल रहेछ", नेपाल बाट पारिवारिक भेटघाटमा बेलायत आएका एक वृद्दको जोडीले मेला कस्तो मान्नु भयो भन्ने प्रश्नमा प्रतिक्रिया दिए। नेपाली सांस्कृतिक माहोलमा सिंगारिएको केम्पटन पार्क नेपालमय देखिन्थ्यो।
नेपालका बाढी पिडितलाई आयोजकको दश लाख सहयोगसोही कार्यक्रमका बिच आयोजक तमु धी युकेका अध्यक्ष ज्ञाम गुरुङ तथा कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागी नेपाली राजदुत दुर्गा बहादुर सुवेदीले १० लाख रुपैयाँको चेक एन आर एनए आई सी सी अध्यक्ष शेष घलेलाई हस्तान्तरण गरे।
नेपालमा बाढी पिडित सहयोगार्थ हस्तान्तरित उक्त रकम बुझ्दै एन आर एनए अध्यक्ष शेष घलेले एन आर एनएको अलावा कुनै एउटा संस्था बाट प्राप्त एकल सहयोग यो सबै भन्दा ठुलो रहेको बताए। अध्यक्ष घलेले एन आर एनले गरेको बाढी पडित राहत कार्यक्रम बारेको जानकारी समेत दिए। नेपालको कला संस्कृतीको जगेर्ना साथै परोपकारी कार्यमा तमु धी यूकेको क्रियाकलाप सराहनीय रहेको भन्दै अध्यक्ष घलेले भने "विश्वका नेपाली हरुले पनि यसलाई सिक्नु पर्छ"।
कार्यक्रममा एन आर एन यूके अध्यक्ष मुछेत्र गुरुंगले एन आर एन कप तथा राजदुत सुवेदीले एम्ब्यासडर कप प्रदान गरेका थिए। कार्यक्रममा बोल्दै राजदुत सुवेदीले नेपालको बहुसांस्कृतिक सभ्यताको पहिचान मेलाले दिन सकेको बताए।
संस्थाका महासचिव कृष्ण गुरुंगले संचालन गरेको कार्यक्रममा दर्जनौ विदेश कुटनैतिक नियोगका प्रतिनिधी,बेलायती सांसद तथा स्थानीय मेयर लगायत विशिष्ट व्यक्तिहरु उपस्थित थिए। कार्यक्रममा एन आर एन यूकेका पूर्व अध्यक्ष सुर्य गुरुङ, योगेन क्षेत्री, वर्तमान पदाधिकारी, आई सी सी सल्लाहकार डम्मर घले, विश्व आदर्श पण्डित, यूरोप संयोजक कुल आचार्य लगायत सिंगो एन आर एन पंक्तिको उपस्थिती रहेको थियो।
कार्यक्रममा उपाध्यक्ष हितकाजी गुरुङले सहभागीहरु लाई स्वागत गरे। आफ्नो मन्तव्यमा तमु धी यूकेका अध्यक्ष ज्ञाम गुरुङले मेलाको बिगत देखी वर्तमान सम्मको चर्चा गर्दै र नेपाल झल्काउने पर्वको भावी कार्ययोजना लगायतका बिषयमा बोलेका थिए।
कार्यक्रममा सगरमाथा आरोहण गर्ने पांच जना गोर्खा तथा चार जना एभरेस्ट म्याराथुन धावकलाइ सम्मान गरिएको थियो।
झाँकी प्रदर्शनीहरुलाई दिईएको प्रतिस्प्रधात्मक प्रस्तुतीमा लमजुंग समाज यूकेले पहिलो स्थान प्राप्त गरेको थियो।