नेपालमा बढ्दै गएको कोरोनाको महामारीमा बिरामीको संख्या बढ्दै जाँदा अभाव हुँदै गएको अस्पतालको बेड, अक्सिजन र भेन्टिलेटरको समाचारले स्वदेस मात्र हैन बिदेशमा बस्ने नेपालीलाई पनि पिरोलेको देखिन्छ।
त्यसैले आफू बसेको देशबाट गर्न सकिने सहयोगको लागि प्रयास गरिरहेको समाचार प्राप्त भएको छ। विदेशस्थित दूतावास मात्र हैन संघ संस्था र व्यक्तिगत तवरले पनि आफ्नो सम्बन्धलाई सदुपयोग गर्दै मेडिकल सामाग्री व्यवस्थाको लागि लागिपरेका छन्।
यसै सिलसिलामा बेलायतमा रहेका बेजिङस्टक मल्टिकल्चरल फोरमका अध्यक्ष शिवजी श्रेष्ठले सो संस्थामार्फत मेडिकल सामग्रीको लागि पहल गरेका छन्।
२७ देशका सांस्कृतिक समुदाय समेटिएको सो संस्थाले ५ वर्ष अघि नेपालमा भुकम्प आएको बेला पनि सहयोग गरेको थियो।
त्यसैगरी सत्तारुढ पार्टीका सांसद पूर्बमन्त्री एवं बेलायती संसदका महिला तथा समानता छनोट समितिका सभापति मारिया मिलरलाई पत्र लेख्दै श्रेष्ठले नेपालमा बढ्दो बिकराल स्थितिमा बेलायती सरकारको तर्फबाट हुनसक्ने मेडिकल सामाग्री सहयोगको लागि पहल गरिदिन गरेको अनुरोधलाई तत्कालै जवाफ पठाउँदै आगामी शुक्रबार मिटिङको लागि निमन्त्रणा पाएको श्रेष्ठले बताए।
सांसद मारिया मिलर अध्यक्ष रहेको रिफरेन्स समितिमा सांसदद्वारा मनोनित सदस्य श्रेष्ठले सोहि समितिमा सदस्य रहेका ह्याम्प्सायर हस्पिटल फाउन्डेसन् ट्रष्टका सीइओसँग पनि यस बारेमा पनि आफ्ना कुरा राखेका छन्।
त्यसैगरी शिवजी श्रेष्ठको अनुरोधमा श्रेष्ठ सम्बद्ध बेलायतको प्रतिपक्षी लेबोर पार्टीका स्थानीय काउन्सिल लिडर एन्डी म्याकोर्मिकले काउन्सिल र पार्टीका सदस्यहरुलाई पनि नेपालमा बढ्दै गएको कोरोनाका बिरामीहरुलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर जस्ता सामाग्रीको लागि सहयोगको लागि पहल गरेका छन्।
आफूले गरेको पहलको सकारात्मक प्रतिक्रियाबाट उत्साहित श्रेष्ठले संसारभर रहेका नेपालीहरुले आफू रहेको देशका सरकार र अन्य सहयोगी संस्थाहरुलाई आफ्नो सम्बन्ध सदुपयोग गर्दै नेपालमा मेडिकल सामाग्री पठाउने कार्यमा लागि पर्न अनुरोध समेत गरेका छन्।
विषेशगरी बेलायती सांसदमार्फत बेलायती सरकारलाई ध्यानाकर्षण गराउन सके त्यसले सकारात्मक परिणाम ल्याउन सक्ने उनले बताए।
यसअघि पनि आफ्नो जन्मथलो ओखलढुंगाको जिल्ला अस्पतालमा भक्त श्रेष्ठसँग मिलेर शिवजी श्रेष्ठले अक्सिजन कन्सन्ट्रेटर मेसिन पठाएका थिए।