अन्तर्राष्ट्रिय नेपाली समाज (ईनास) को आयोजनामा युरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता लण्डनमा सम्पन्न भएको छ।
ईनास छैठौं एकल नृत्य तथा तेस्रो गायन प्रतियोगितामा नृत्यतर्फ जर्मनीकी सरू श्रेष्ठ र गायनतर्फ बेलायतका शुस्रुत तिमिल्सिना विजेता भए।
बेलायतसहित युरोपका जर्मनी, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्डलगायतका देशबाट नृत्यमा १० र गायनमा ५ प्रतिस्पर्धी सहभागी थिए।
नृत्यमा बेल्जियमकी निकिता सापकोटा पहिलो रनरअप र बेलायतकी काजोल गुरूङ दोस्रो रनरअप तथा गायनतर्फ बेलायतका निमान तामाङ पहिलो रनरअप र जर्मनीका सुरज सापकोटा दोस्रो रनरअप बने।
दुवै विधाका प्रतियोगीहरुले दुई दुई चरणमा आफ्ना प्रस्तुति गरेका थिए। निर्णायकको भूमिकामा नृत्य विधामा सनम बैराग, शारदा शर्मा र वर्षा खड्का तथा गायन विधामा मधु क्षेत्री,शर्मिला वर्देवा र पर्शुराम रिजाल थिए।
दुवै विधाका विजेतालाई ७ सय १ युरोको नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो। दोस्रो र तेस्रो हुनेले क्रमश ५ सय १ युरो र ३ सय १ युरो नगदसहित प्रमाणपत्र र ट्रफी पाए।
दुवै विधामा पहिलो हुनेहरुलाई आउँदो १ वर्षको लागि ईनास सद्भावना दूत घोषणा गरिएको छ। गायनका विजेतााई एउटा गीत रेकर्ड गराउने र नृत्यकी विजेतालाई सोहि गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर दिइने भएको छ।
विजेता कलाकारहरुलाई कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी, विशेष अतिथीहरु एनआरएन आइसिसी पूर्व अध्यक्ष जिवा लामिछाने, एनआरएन संस्थापक रामप्रताप थापा, एनआरएन आइसिसी उपाध्यक्षहरु कुमार पन्त र कुल आचाय, ईनास ग्लोबलका अध्यक्ष पुष्प बरुवाल, उपाध्यक्ष कमला दाहाल, महासचिव मनिषकुमार श्रेष्ठ, युरोपका संयोजक अर्जुन काफले, बेलायत संयोजक रजनी सुनुवारलगायतबाट पुरस्कार वितरण गराइएको थियो ।
प्रवासमा रहेर नेपाली कला, संगीतको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै गायिका सितु खरेल र निर्देशक सञ्चारकर्मी कुशल श्रेष्ठलाई पनि ईनासले विशेष सम्मान गरेको छ ।
कार्यक्रम सञ्चालन ईनास यूके महासचिव सञ्जयभक्त कँडेल र सोफिया महर्जन कार्कीले गरेका थिए ।