आउँदो महिना लण्डनमा युरोपस्तरीय नेपाली नृत्य तथा गायन प्रतियोगिता हुने भएको छ ।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को बेलायत र युरोप शाखाको संयुक्त आयोजनामा अप्रिल २१ र २२ मा प्रतियोगितामा गर्ने तयारी छ।
इनास युरोप महादेशस्तरीय छैठौं नृत्य तथा तेस्रो गायन प्रतियोगितामा बेलायतसहित युरोपका विभिन्न १० देशबाट आउने ३ दर्जन बढी प्रतियोगीले भाग लिनेछन् ।
आयोजकले बुधबार लण्डनको एभरेष्ट इन रेष्टुरेन्टमा एक प्रेस मिट गरी कार्यक्रमबारे जानकारी गराएका छन्। प्रतियोगितामा बेलायतबाहेक डेनमार्क, जर्मनी, पोल्याण्ड, बेल्जियम, नेदरल्याण्ड, फिनल्याण्ड, स्विजरल्याण्ड, इटाली र स्पेनबाट प्रतियोगी आउने बताइएको छ।
प्रतियोगितामा नृत्य तथा गायन दुवै विधामा पहिलो हुनेले ७ सय १ युरो, दोस्रो हुनेले ५ सय १ युरो र तेस्रो हुनेले ३ सय १ युरोको नगद पुरस्कार पाउनेछन् । त्यसबाहेक ट्रफी, प्रमाणपत्र पनि प्रदान गरिनेछ।
गायनका विजेतालाई एउटा गीत रेकर्ड गराउने अवसरका साथै नृत्यका विजेतालाई एक म्युजिक भिडियोमा अभिनयको मौका पनि दिने आयोजकले बताए। दुवै विधामा सर्वोत्कृष्ट हुने विजेतालाई इनास सद्भावना दूत घोषणा पनि गरिनेछ ।
प्रतियोगिताका लागि नेपालबाट समेत कैयौं कलाकारहरु लण्डन आउने तयारी छ।
अप्रिल २२ तारिखका दिन दिउँसो ३ बजे प्लमस्टिडको एशिएन कम्युनिटी सेन्टरमा प्रतियोगिता आयोजना हुँदैछ।
पत्रकार सममेलनमा आयोजक इनास बेलायतका अध्यक्ष रजनी सुनुवार, प्रमुख संरक्षक तथा ग्लोबल महासचिव मनिष श्रेष्ठ, ग्लोबल सल्लाहकार दिपक श्रेष्ठ, इनास बेलायतका सल्लाहकार यादव भण्डारी, इनास बेलायतका उपाध्यक्ष तथा प्रमोदराज न्यौपाने, महासचिव सञ्जय कंडेल, कोषाध्यक्ष दिपक थापा लगायतले कार्यक्रमबारे जानकारी गराएका थिए। उनीहरुले प्रतियोगिता सफल बनाउन बेलायतबासी सम्पुर्ण नेपालीमा अपील समेत गरेका छन ।