गैरआवासीय नेपाली संघले लण्डनबाट १० अर्बको पूर्वाधार कोषको घोषणा गरेको छ। सोमबार एनआरएन यूकेले अल्डरसटमा आयोजना गरेको कार्यक्रममा एनआरएन अध्यक्ष भवन भट्टले सो कोषको घोषणा गरेका हुन्।
विश्वभर छरिएर रहेका एनआरएनहरुको सहभागिता रहने कोषको संयोजन संघले गर्ने उनले बताए। नेपालमा पूर्वाधार विकासको क्षेत्रमा सो कोषका माध्यमबाट गैरआवासीय नेपालीहरुले लगानी गर्नेछन्।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जिवी नेपालले सो कोषको घोषणा स्वागतयोग्य रहेको बताए। गैरआवासीय नेपाली संघको यो प्रोजेक्ट सफल बनाउन आफ्नो तर्फबाट हुने हरसम्भव सहयोगका लागि उनले प्रतिबद्धता गरे।
बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी, नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकाल लगायतले पनि एनआरएनले घोषणा गरेको कोषको स्वागत गर्दै आ आफ्नो क्षेत्रबाट सहयोग गर्ने बताए।
कार्यक्रममा परिस्थिती बस उपस्थित हुन नसकेको भन्दै एन आर एनका पूर्व अध्यक्ष तथा संरक्षक जीवा लामिछानेले स्काईप मार्फत सम्बोधन गरेका थिए।
कार्यक्रममा आइसिसीका उपाध्यक्ष कुमार पन्तले सामुहिक लगानीको अवधारणा माथि केन्द्रित रहेर आफ्नो मन्तब्य दिएका थिए।
कार्यक्रममा भाग लिन आई सी सी लगायत युरोप क्षेत्रका विभिन्न देशबाट आएका एन सी सी प्रतिनिधीहरुले सहभागिता जनाएका थिए।
एन आर एनए आई सी सीका उपाध्यक्ष कुल आचार्यले संचालन गरेको लगानी सम्बन्धी उक्त सेसनको बारेमा एन आर एनए सल्लाहकार डा. हेमराज शर्माले कार्यक्रमको खाका बारेमा ब्रिफिङ गरेका थिए। कार्यक्रमको अध्यक्षता एन आर एन यूकेका अध्यक्ष योग कुमार फगामीले गरेका थिए।