विभिन्न समयमा अबैधानिक तवरले नेपाल तथा दोस्रो मुलुकहुँदै नेपालीलाई भिजिट भिसामा 'युएई' ल्याई अलपत्र पार्ने, ठग्ने ५१ जना दलालहरुको सूची युएईस्थित नेपाली दूतावासले सार्बजनिक गरेको छ।
पछिल्लो समय खाडी मुलुक 'युएई' मा नेपालीहरु पर्यटक तथा घरेलु कामदार भिसामा आउने र अलपत्र पर्ने क्रम बढ्दै गएपछि दूतावासले पीडित ब्यक्ति र विभिन्न समयमा दूतावासलाई प्राप्त उजुरीका आधारमा नेपाल तथा युएईमा रहेका दलालहरुको सूची सार्बजनिक गरेको हो।
सूचीमा परेका दलालसँग सचेत र सजग रहन युएईस्थित नेपाली दूतावासले सम्बन्धीत सबैमा अनुरोध समेत गरेको छ। सोमबार जारी प्रेस वक्तव्यमा दूतावासले दलाललाई कारबाहीका लागि सहयोग गर्न समेत सबैमा आग्रह गरेको छ।
मंगलबार 'सेतोपाटी' सँगको कुराकानीमा युएईका लागि नेपाली कार्यवाहक राजदूत 'नेत्रबहादुर टण्डन' ले दलालसँग मिलेर ठगी कार्यमा संलग्न ट्राभल एजेन्सीलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने बताए। 'दूतावासले युएईमा अलपत्र नेपालीको समस्या जतिसक्दो चाँडो समाधान गर्ने प्रयास गरिरहेको छ, साथै विभिन्न एजेन्टसँग मिलेमतो गर्दै नेपालीलाई अलपत्र पार्ने ट्राभल एजेन्सी र दलाललाई कारबाहीको लागि कानुनी प्रक्रिया समेत अगाडि बढाईरहेका छौ,’ राजदुत टण्डनले भने, ‘मानव तस्करबिरुद्ध सबैजना एकजुट भइ दूतावासलाई सहयोग गर्न युएईका विभिन्न नेपाली संस्था र संगठन हरुलाई आग्रह गर्छु।'
'युएई' ले नेपालीलाई भिजिट भिसा सहजै दिने भएकाले दलालहरुले त्यसको गलत फाइदा उठाउँदै आईरहेका छन्। नेपालीसँग मोटो रकम असुल गर्ने र भिजिटमा युएई पुर्याई राम्रो काममा लगाई आकर्षक तलब दिने जस्ता विभिन्न प्रलोभन देखाएर सेटिङ मार्फत युएई ल्याई नेपालीहरुलाई अलपत्र पार्ने गरेका छन्।
एक देखि तीन महिनासम्मको भिजिट भिसामा 'युएई' ल्याउने अनि भिसाको म्याद समाप्त भैसक्दा पनि अवैधानिक बनाएर राख्नाले सयौं नेपालीहरु बिचल्लीमा पर्ने गरेका छन्।
भिजिट भिसामा युएई आउने जो कोहीले पनि आफ्नो भिसाको म्याद समाप्त हुनुभन्दा एक दिन अगाडि युएई छोडिसक्नुपर्छ, अथवा पुनःनयाँ भिसा लगाएमा मात्रै वैधानिक तरिकाले युएईमा आफ्नो भिसाको म्याद छउन्जेल बस्न सकिन्छ। तर, दलालमार्फत युएई आउने नेपाली आफ्नो भिसाको म्याद समाप्त हुँदा समेत युएई नछोड्नाले यहाँको अध्यागमन बिभागले उनीहरुलाई कालो सूचीमा राख्छ।
यसरी भिसाको म्याद सकिएर अबैधानिक बनेका नेपालीहरुले भिसाको म्याद सकिएको पहिलो दिनको युएई दिराम ३०० र दोस्रो दिन देखि प्रत्येक दिनको १०० दिराम जरीवाना थप तिर्नुपर्ने हुन्छ। यसरी भिसा सकिएर आफू जतिदिन अवैधानिक रुपमा बसेको हो भने त्यो पुरै दिनको जरिवाना तिरेपछि र साथमा प्लेन टिकट भएपछि मात्र स्वदेश फर्कन पाईन्छ।
जरिवाना तिर्ने र प्लेन टिकट काट्ने पैसा आफूसँग नहुनाले सयौं नेपालीहरु युएईमा अलपत्र परि भोकभोकै बस्न बाध्य छन्।
यसरी दलालले युएई पुर्याएर अलपत्र पारेका ३३ जना महिला र ३८ जना पुरूष गरि ७१ जना नेपालीको गएको डेढ महिनामा दूतावासले उद्धार गरिसकेको छ।