गत २१ जुलाईमा 'युएई'मा रहेका उज्यालो अनलाइनका पत्रकार 'उमाकान्त पान्डे'ले युएईको आबुधाबीमा भिजिट भिसामा आई अलपत्र परेका १९ जना नेपालीको खबर बाहिर ल्याए। उक्त खबर प्रकाशित भए लगत्तै युएईमा यो घटना चर्चाको बिषय बन्यो।
भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीको खबर यो मात्रै पहिलो थिएन। पटकपटक यस्ता खबरहरु बाहिर आए, पत्रकारले लेखे,पाठकले पढे अनि सेलाएर विलीन भए। तर यो पटकको खबरले भने युएईमा सुतेर निदायको जस्तै देखिने नेपाली दूतावासलाई समेत ब्युझाईदियो। कानमा तेल हालेर अनि आँखामा कालो पट्टी बाँधेर सुतेको दूतावासलाई ब्युझाएकै कारण मजदुरका समस्या बाहिर ल्याउने पत्रकारलाई पित पत्रकारीताले सम्बोधन गर्दै दूतावासले निद्रामै एकपेज लामो बिज्ञप्ति जारी गर्यो। त्यो पनि नाम,मिति र चलानी,दर्ता संख्या बिनै।
यसरी नेपालीहरु ठगिएको खबर प्रकाशित गरेर दूतावास र सरकारको ध्यानाकर्षण गराउदा उल्टो पत्रकारहरुलाई आक्षेप लगाउदै बिज्ञप्ति निकालेको कारण अहिले युएईमा रहेका पत्रकार र नेपाली दूतावासबिच जुहारी चलेको छ।
नेपाली ठग्ने दलाललाई कारबाही गर्नुको साटो उल्टो तिनै ठगी दलालका बिरुद्ध समाचार लेख्ने पत्रकारलाई कारबाही गर्ने धम्की दिने दूतावासका कार्यबाहक राजदुतको अभिव्यक्तिले सबैलाई चकीत तुल्याएको छ।
युएईमा काम लगाउने भन्दै अवैध ढंगले मानव तस्करीको शैलीमा कामदार ल्याएर अलपत्र पार्ने साजन भनिने प्रेम पाण्डेलाई कारवाही गर्न माग गर्दै युएईस्थित राजनैतिक दलका प्रतिनिधिहरु केहि दिन अगाडी दूतावास सम्म पुगे।
दूतावासको हलमा छलफल चल्दैगर्दा राजदूत नेत्र बहादुर टण्डनले पीडक पाण्डेलाई कारबाही गर्दा पीडितहरुको उद्धार हुन कठिन हुने अभिव्यक्ति दिए। विभिन्न समयमा तारे होटलहरुमा भोज भतेर सहितको कार्यक्रम गर्न हज्जारौं रुपैयाँ खर्चिन सक्ने दूतावासले ‘पाण्डेलाई कारवाही गरे उनले ल्याएका नेपालीहरुको बिचल्ली हुने र थप जटिलता हुने भएकोले दलाल पान्डेलाई कारबाही गर्न सकिदैन भन्ने जस्तो गैरजिम्मेवार अभिव्यक्ति दिएर सबैलाई लज्जित बनायो।'
दूतावाससंग यौटा दलाललाई कारवाही गर्ने वजेटसम्म छैन, यौटा नेपालीको लासलाई नेपाल पठाउने दुई तीन लाख रुपैयाँसम्म छैन भने, आबुधाबीको त्यो यौटा घरको धुरीमा नेपाली झन्डा टाँगेर किन बसिरहेको छ नेपाली दूतावास? घरदेश छोडेर परदेश आएका नेपालीहरुलाई दुखपर्दा सहायता गर्न खोलिएको राजदूतावास नामको त्यान्द्रोले यदि दुखमा परेका नेपालीको पक्षमा उभिन सक्दैन, गरिव नेपालीको रगत र पसिना चुस्ने दलालहरु देखेर खुट्टा कमाउछ भने, देशको ढुकुटी रित्याउदै किन पालिरहेको छ सरकारले यी बेकामे कर्मचारीहरुलाई?
लाखौं कामदार यो प्रश्नको जवाफ खोजिरहेका छन्।
देशमा रोजगार छैन, परिवारको जोहो टार्न लाखौं नेपालीको अन्तिम विकल्प यहीँ वैदेशिक रोजगार बनेको छ। तर यै बिदेशमा दुख गरेर दुईचार पैसा कमाउछु भन्ने ठूलो सपनाको भारी बोकेर आएका नेपालीहरु बिदेशमा समेत आफ्नै देशका भनिनेहबाट लुटिन्छन्,कुटिन्छन्।
आजपनि हज्जारौं नेपलीहरु बिदेशमा अलपत्र छन्। कैयौं रात भोकै सुतेका छन्। भोकै उठेका छन्। नेपालबाट जहाज चढेर आउँदा मनभरी बोकि ल्याएका सुनौला सपनाहरु बिदेशको बिमानिस्थलमा अवतरण गरेकै दिनबाट लुटिएका छन्, खोसिएका छन्।
खै सरकार?
खै सपना लुटिएर अलपत्र परेकाहरुलाई उद्दार गर्नभनी पठाएका मान्छेहरु?
सरकारी रासन खाएर बसेकाहरुको आँखा खुलोस् भनेर जोखिम मोलेरै पटकपटक दुखमा परेका नेपालीको आवाज बोल्ने र लेख्ने गरेका 'युएई'का पत्रकारहरुको पक्षमा अहिले यो घटनालाई लिएर युएईमै रहेका विभिन्न नेपाली संघसंगठनहरु उभिरहदा, बिदेशीएका लाखौं नेपालीको अभिभावक भनिने गरेको 'नेपाली दूतावास' किन तिनै दलालहरुको पक्षमा उभिन खोजेको छ?
दूतावासका राजदुतले किन सुन्न चाहादैनन् अलपत्र नेपालीको कुरा? ठगीका सबै प्रमाणहरु टेबलमै तेर्याईदिदा पनि किन कारबाही गरिदैन दलालहरुलाई? नेपालीलाई कुट्दै गरेको अडियो आवाज अनि धम्की दिदै 'मारेर बालुवामा पुरिदिने त्रास देखाएका प्रमाणहरु देखाउदा र सुनाउदा समेत किन अटेसमटेस गर्दैनन् दूतावासका कर्मचारी?'
के छ दलाल र दूतावासका कर्मचारी बिचको कनेक्सन? होईन भने यसरी खुल्ला रुपमा 'मैले दलालहरुलाई कारबाही गर्न सक्दिन भनेर तपाई यौटा राजदूत जस्तो ब्यक्तिले भनिरहदा नागरिकले तपाईमाथी शंकाको नजर लगाउन पाउने कि नपाउने?'
यदि यो तस्कर कार्यमा दूतावास समेत सामेल छैन भने ति दलालहरुलाई कारबाही गर्ने तपाईलाई केले छेकेको छ राजदुत ज्यू? तपाईलाई नेपाल सरकारले तलब दिएर यहाँ रहेका नेपालीको समस्या समाधान गर्न पठाएको होकि तिनै दलालहरुको नेपाली ठग्ने धन्दालाई प्रोत्साहन गर्न पठाएको हो?यसरी खुल्ला रुपमा तपाईले 'दलालहरुलाई कारबाही गर्न सक्दिन भन्दैगर्दा, ती दलाल जसले दूतावास मेरो गोजिमा छ भन्ने गर्छन्,उनीहरुको दलाली मनोबल बढ्छ कि घट्छ?'
यदि अनुचित कार्य गर्नेलाई कारवाही गर्न सक्नुहुन्न भने कुन नैतिकताले तपाई देशले दिएको सेवा सुबिधा उपभोग गर्दै कार्यबाहाक राजदूतको पद मात्र ओगटेर दूतावासमा बस्नुहुन्छ? सोझा नेपाली ठग्ने र अलपत्र पार्ने यौटा दलाललाई कारबाही गरेर डिपोट गर्न नसक्ने तपाई र तपाईले सम्हालेको दूतावासबाट हामी युएईमा रहेका लाखौं नेपालीले कस्तो खालको सहयोगको अपेक्षा गर्ने हो?
छ कुनै जवाफ राजदुत ज्यू?
फोटो:गुन्द्रुक पोष्ट