युएईको सारजाहमा दुई साताअघि तातोपानीले पोलेर गम्भीर घाईते भएकी मोरङ लेटाङकी सुस्मिता राईको उपचारमा आर्थिक अभाव भएको छ।
लेटाङको खेरूवा घर भई एक वर्षदेखि युएईको सारजाहमा कार्यरत १९ वर्षीय सुस्मिता राई गत पुस १८ गते ड्यूटी सकेर क्याम्पमा फर्किएपछि भान्सामा काम गर्ने क्रममा दुर्घटनावश उम्लिरहेको तातोपानीमा परेर गम्भीर घाइते भएकी थिईन्।
सारजाहको अल फला क्लिनिङ कम्पनीमा कार्यरत राई उच्च तापक्रममा उम्लिरहेको तातोपानी शरीरमा पोखिँदा उनको कम्मर मुनिको अधिकांश भाग नराम्ररी पोलेको थियो । पोलेर घाईते भएकी राईलाई साथीहरूले पुस १९ गते बिहान स्थानीय कुवेती अस्पताल लगेका थिए। अस्पतालले घाउ हेरेर तत्काल सर्जरी गर्नुपर्ने भन्दै अर्को अस्पतालमा रेफर गरेको थियो। अस्पतालले रेफर गरे पनि तत्काल उपचारका लागि आवश्यक रकम नभएपछि कुवेती अस्पतालमै सामान्य ड्रेसिङ गरेर उनलाई क्याम्प फर्काईएको थियो ।
उनिसँग मेडिकल ईन्सुरेन्स कार्ड नभएको र कम्पनीलेसमेत उपचारमा ध्यान नदिएकोले उनको उपचारमा कठिनाई भएको छ। आर्थिक समस्याले उपचारका लागि अस्पताल जान नसकेपछि उनी क्याम्पमै पीडा सहेर बसेकी छिन्। उनलाई थप उपचारका लागि कुवेती अस्पतालले अल कास्मी अस्पताल रेफर गरेको उनलाई हेरविचार गरेर बसेकी बिमला बम्जनले बताईन्। उनको घाउ निकै फैलिएकोले चाँडै अस्पताल लगेर उपचार गर्न डाक्टरले सुझाव दिएको बम्जनले बताईन्।
युएईका संघसंस्थाहरूलाई सहयोगको लागि अपिल परिवारको गर्जो टार्न बाध्यताले विदेशिएकी नेपाली चेलीको दुःखद स्थितिका बारेमा थाहा पाएपछि सारजाहमा रहेका नेपालीहरुले उपचारका लागि सहयोग गरिदिन अपिल गरेका छन्।
सारजाहमा कार्यरत खेमराज बजगाँई, बाबुराम सापकोटा, रामेश्वर भेट्वाल लगायतले गत आईतबार राई बसेको क्याम्पमै गएर उनको स्वास्थस्थिति बुझेका छ्न्। सोमबार उनिहरुकै पहलमा अल कास्मी अस्पताल लगियो। अस्पतालले घाउ ड्रेसिङ गरेर नियमित हेरविचार र अस्पताल ल्याउन सुझाव दिएको खेमराज बजगाईले बताए।
यतिबेला बजगाँई सहितको टोलीले उनको उपचारमा आर्थिक सहायता संकलन गर्न अभियान शुरु गरेका छन्। त्यसैगरी उनीसँगै कार्यरत सहकर्मीहरुले युएईमा क्रियाशिल नेपाली संघसंस्था, एनआरएनए, बौद्धिक वर्ग तथा समाजसेवीहरुलाई उनको उपचारमा सहयोग गर्न अपिल गरेका छन्।