पोर्चुगलको तापक्रम ४३ डिग्री थियो। घडीले रातको एघार बजाउँदै थियो। पोर्चुगलको राजधानी लिस्वनको केन्द्र कायसुद्रेको टाइमआउट सभाहल खचाखच दर्शकले भरिएको थियो। माझी दाई पोखरा फेवातालको... गीत बाहिरसम्मै गुञ्जियो।
डिस्कोबारमा गुञ्जेका स्थानीय संगीतलाई माथ दिने गरि नेपाली संगीतको आवाज कानसम्म स्पर्ष हुँदा लाग्यो म नेपालको कुनै स्थानमा छु।
मैले आधाघण्टाको समय लिएको थिए। लोक गायक मिलन लामा स्टेज सकेर ड्रेसिङ रूममा गए। त्यो भीडभाड छिचोल्दै केही समयपछि म पुगेँ। मिलन दाईलाई एयरपोर्टेमा लिन आउने वाचा गरेको थियो तर समय मिलेन।
थकित मुद्रामा जुस पिउँदै गरेका लामाले युरोपको यो गल्लीमा भौतारिँदै गरेको मलाई देखेर अचम्म माने अनि बोले-भौगोलिक सीमाले यो आत्मियतालाई कहाँ छेक्दो रहेछ र? उनको पहिरन उनको बोली र आँखाको भावमा नेपालीपनको मिठो आवास भयो। कुनै गाउँको कुनै चौतारीमा बसेर कुराकानी गरे जस्तो लाग्यो। सामान्य भेटघाटको मात्र थियो यो बसाई।
उनको र मेरो एउटा संयोग। मैले पहिलो अन्तर्वार्ता लिने व्यक्ति मिलन लामा थिए। उनले पहिलो अन्तर्वार्ता दिने व्यक्ति म थिएँ। म भर्खरै पत्रकारिता सिक्दै थिएँ उनी लोकगायक बन्दै थिए।
चितवनको पर्यटकीय नगरी सौराहाको कुनै होटलमा लोकदोहरी गाउने। स्थानीय कार्यक्रममा, स्कुलमा लोकगीत गाउने मिलन लामा फोनिक्स साईकलको पाइडल घुमाउँदै दैनिक १५ किलोमिटर सौराहा जाने आउने गर्थे।
पर्यटकलाई घुमाउने, नेपाली लोकसंस्कृतिको बारेमा अवगत गराउने लोक गायक लामाको जीवन त्यही फोनिक्स साईकलको पाइडल जस्तै आरोह अवरोह छिचल्दै निरन्तर हिडीरह्यो। कहिले कृष्ण भीरमा पुगे, कहिले फेवातालमा त कहिले रोल्पा रुकुम पुगे।
चितवनको मोहना, सौराहा, भरतपुर, पर्सा, टाँडीका हरेक गल्ली गल्लीमा कहिले दोहरी, कहिले भैलो भट्याउँदै हिँडे। कृष्णभीरमा जाम... बोलको पहिलो लोक एल्बमले उनलाई अव्वल दर्जाको गायकको रुपमा परिचीत बनायो।
त्यसपछि पेशागतरूपमा आफूलाई परिस्कृत गरे। पहिलो एल्बमबाटै अगाडि बढेको उनको लोकगायकको यात्रा निरन्तर छ। कहिलै पछाडि फर्कनु परेन। दुई चार जना साथी भाई जम्मा पारेर गीत सुनाउँदै हिड्ने मिलन लामाको प्रस्तुति हेर्न आज देश विदेशमा हजारौंको भीड लाग्नेगर्छ।
‘त्यही हजारौं भिडबाट निस्कने ‘वान्स मोर मिलन’ भन्ने शव्दनै हो मैले कमाएको’, उनी भन्छन्, ‘कलाकारको लागि यो भन्दा ठूलो उपहार अरू केही हुँदैन।’
नेपाली ढाका टोपी शिरमा लगाएका लामाले टोपी झिक्दै पसिना पुछ्दै भने, ‘कलाकार कुनै रंग, जात, भौगोलीक हुँदैन, नेपाली भएर नेपालको मौलिक भाकालाई संसारभर परीचित गराउन पाउँदा गर्वले छाति ढक्क फुल्छ।’
दर्शक, स्रोताको मायाँले मिलनलाई गायक मिलन बनाएको हो। उनले थपे, ‘मेरो पेशालाई आधार बनाएर अझै गरिब निमुखाको सहयोग गर्न पाउँ सबैभन्दा आत्मसन्तुष्टी त्यही हो।’
देश विदेशमा गाएर संकलन गरेको र सहयोगी हातबाट पाएको आर्थिक सहयोगलाई दिनदुखीको आँगनसम्म पुर्याउने काम गरेका छन् लामाले। कहिले मुसहर बस्तीमा पुग्छन् कहिले चेपाङडाँडामा त कहिले बाढीपहिरो पीडितको आँगनसम्म सहयोग लिएर जान्छन्।
जहाँजहाँ पुग्छन् त्यहीको विषय बस्तुलाई उठान गरेर शव्द मार्फत गीत रचना गर्न पनि खप्पीस छन् उनी।
आफैं ट्याक्टर लिएर एकपाथि धान चामल, एक सरो कपडा, एक थान कम्मलको लागि गाउँघर, बजारसम्म आफैं पुग्छन्। बाढी पीडितलाई सहयोगको लागि अन्न माग्न जाँदा लोकगीत गाउँनैपर्ने भीडबाट आवाज आउँछ केही लाइन गाएर उनिहरूलाई खुसी पारेपछि बल्ल सहयोग पाएको अनुभव सुनाउँछन्।
उनलाई गीत गाउन ठूलो भिडभाड चाहिँदैन २,४ जना साथीहरु जम्मा भए पुग्छ। गीत गाउनुमात्र होइन समाजमा भएका घटनाहरुलाई टपप्कटिपेर शव्द कोर्दै संगीत भर्छन्।
कहिले सन्तान विदेशमा भएका आमावुवाको कथा मार्मिक रुपमा प्रस्तुत गर्छन् त कहिले विदेशमा बस्ने नेपालीप्रति समर्पित गर्दै लोकभाकामा सजाउँछन्।
‘आखिर जीवन हो चलाउनैपर्छ। तर, अरुलाई सहयोग गरेर चलाएको जीवनको पाइडल फोनिक्स साईकलको जस्तो हुँदैन खुसीले भरीएको हुन्छ आत्मसन्तुष्टिले भरिएको हुन्छ’, मुसुक्क हाँस्दै उनले भने।
मुसहर बस्तीमा उनकै सहयोगका कारण बिजुली बत्ती बल्यो, बाढी पीडितले एक छाक भए पनि खान पाए, चेपाङहरूले आँड छोप्ने कपडा पाए। अहिले चितवनको गडैलीमा १ सय घर बनाउने लक्ष्य लिएर अभियन्ताको रुपमा हिँडेका लामा भन्छन्, ‘संगीतले मलाई चिनायो अब यही संगीतको माध्यमबाट समाज सेवा गर्नुछ।’
अमेरीका, युरोप, जापान, अस्ट्रेलियालगायत दर्जनौं देशमा घुमिसकेका लामालाई मैले भने-विदेशमा स्थायी बसोवास गर्न मन लागेन?
‘म त राष्ट्रप्रेमी मान्छे हुँ, मलाई मेरै देशको माटोको सुगन्ध मनपर्छ’, उनले भने, ‘नेपाल छोड्नै सकिनँ। तर कुनै पश्चताप छैन खुसी छु।’
मिलन लामासँग कुराकानी गर्दै गर्दा गायक राजु लामाको प्रवेश भयो। एकछिन हाम्रो कुराकानीलाई बिट मार्यौं। छुटिने बेला भयो। मैले भने, ‘दाई तपाईँको सामाजिक अभियान निरन्तर रहोस्। मेरो कामना।
बाहिरसम्म आएर मिलन लामा बोले, ‘तपाईँको निष्टाको पत्रकारिता युरोपका यो गल्लीमा विलय नहोस्।