चार वर्षअघि तत्कालीन माओवादीका अन्तर्राष्ट्रिय ब्यूरो प्रमुख दिनानाथ शर्माले ‘अब युरोपमा शासन सत्ता कव्जा गर्नुपर्छ’, भने। तत्कालिन भातृसंगठनको एक कार्यक्रममा बोल्दै शर्माले भनेको यो शव्द आफैंमा हाँस्यष्पद थियो।
कोही नेता आउँछन् गफ दिन्छन्। हामी पत्याउँछौ। युरोपका उच्च नेताहरुको निमन्त्रणामा आएको भन्छन्। त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्छन्। निर्धक्क भन्छन्, ‘नेपालको पछिल्लो अवस्थाबारे महत्वपूर्ण छफफल भयो।’
तत्कालीन माओवादीका अर्का नेता मोहन वैद्यले नेपालको आर्थिक विकास कसरी सम्भव छ?, भनेर छलफल गर्न आएकोसम्म भन्न भ्याए।
कोपेनहेगन सम्मेलनमा आएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले पत्रकारसँगको अनौपचारिक भेटघाटमा नेपाललाई यस्तै बनाउने भनेछन्।
युरोप यात्राको क्रममा नेपाली कांग्रेसका युवा नेता गगन थापा पनि विवादमा मुछिए। युरोपको एक कार्यक्रममा नेपाली झण्डा माथि मदिरा राखेको भन्दै उनको आलोचना भयो।
केही समय अघि बावुराम भट्टराईले आफू नेतृत्वको पार्टीले युरोपियन स्तरमा नेपालको विकास गर्छ भन्दै युरोप आएको औपचारिकता निभाए।
यी त केही उदाहरण मात्र हुन्। मदिरा खाने महंगा समान किन्न लगाउने। पार्टीसँग सम्बन्धित केही मानिसको अगाडि विपक्षी पार्टीको विरोध गर्ने। युरोपमा सत्ता कव्जा गर्ने भनि कार्यकर्तालाई उक्साउने। बस यत्ति हो नेपालबाट आउने नेताहरुको काम। अहिलेसम्मको चिनारी।
नेता बोलाउन तछाड मछाड गर्ने, टिकट काटिदिने, अझै भएसम्म आफ्नै खर्चमा दारूपानीको व्यवस्था गराउने नभए महंगो होटलमा बास बस्ने व्यस्था मिलाउन तम्सने इमान्दार कार्यकर्ता युरोपमा छन्। के भयो र, मेसो मिलेसम्म नेताहरु आउँदा हुन्छ। नेपालमा जे सुकै विपत्ती परोस्।
प्रायः दुई तीन महिनाको फरकमा नेपालबाट पार्टीका नेताहरु यो वा त्यो वहानामा युरोप आएकै हुन्छन्। अझै सक्रमणकालमा ‘र’ को एजेन्टलाई देशबाहिर भेट्न आउने नेपाली नेताको बारेमा चर्चा परिचर्चा नभएको होइन। अहिले वस्तुगत यथार्थ त्यो छैन।
यति लेखिसके पछि एउटा प्रश्न स्वाभाविक उठ्छ नेताको विदेश भ्रमण भातृ संगठनको विस्तार वा मात्र भ्रमण? के विदेशमा राजनीतिक दलको भातृ संगठन आवश्यक छ? समस्याले झेलिएका नेपालीको आवाज नेताले बोल्छन्? या बोलिहाले भने पनि कार्यन्वयन हुन्छ? अहँ केही गर्दैनन्। संठगन बनाउने, नेता बन्ने, सार्वजनिक कार्यक्रममा खादा ओड्ने, नेपालका नेतासँग सेल्फी खिच्ने। नजिक छु भनेर चिनाउन खोज्ने। यति हो भन्दा मलाई केही अप्ठेरो महशुस हुँदैन।
हिजो एमाले, माओवादी एक नहुँदा ती दलका नेताहरू आएकै थिए। पार्टी एक भएको छ फेरि भातृसंगठनको कार्यक्रममा नआउलान् भन्न सकिदैन।
यतिबेला पोर्चुगलमा युरोपका नेपाली कांग्रेस कार्यकर्ता भेला हुँदैछ। युरोपका बिभिन्न देशका उनीहरूलाई दसैं आए जस्तो भएको छ।
नेपालबाट विमनेन्द्र निधि, गगन थापा, प्रदिप पौडेललगायतका नेताहरु आउँदैछन्। अहिले प्रचारप्रसारको काम भइरहेको छ।
आउने नेतालाई यहाँका व्यापारीले आ-आफ्नो तरिकाले टिकटको व्यवस्था गरेका छन्। कोहीले टिकटको व्यवस्था गरेका छन्। कोहीले होटल मिलाएका छन्। कसैले पोर्चुगल घुमाउने जिम्मा लिएका छन्। कोही नेपाल लैजाने कोशेली किनिदिने भएका छन्।
यो कांग्रेसको मात्र होइन अन्य पार्टीका नेता आउँदा पनि यसरी नै व्यवस्थापन हुन्छ।
यसपाली जनसम्पर्क समितिको कार्यक्रममा करिब बीस हजार युरो खर्च हुने अनुमान गरिएको स्रोतले जानकारी दिएको छ। यो अनुमानित बिस हजार युरोले नेपालमा कति बाढी पीडितले त्रिपाल पाउँथे होलान्। कतिलाई कपडा पुग्थ्यो होला? त्यो अहिले नसोचौं। किनकि यहाँ नेपालबाट ठूला-ठूला नेता आउँदै छन्। पालैपालो गरि हरेक पार्टीका नेता युरोप आउँछन् खर्चको विवरण केहि तलमाथि होला तर धेरै फरक पर्दैन।
अर्को प्रसंग, लाखौ रूपैया दलालको हातमा थमाएर ५,६ महिनाको बाटोहुँदै युरोप छिरेका नेपाली युवाहरूका समस्याबारे कोही बोल्दैनन्। काम नपाएर रातदिन छट्पटाईरहेका उनीहरूको समस्याबारे कोही एक शव्द बोल्दैनन्। मालिकबाट पीडित भएका सार्वजनिक हुँदैनन्। यहाँको कागजको खोस्टोसँगै पीडितका आवाज दबिन्छन्।
सोसल, फाइनान्स, कन्ट्राक पेपरको लागि नेपाली चेली मानसिक रूपमा बेचिएका छन्। उनिहरूले न त कसैलाई भने न त कोही सुन्न नै चाहे।
पेपरको लागि हार गुहार गर्दै काम खोज्न जाँदा कन्ट्याक्ट दिए वापत युरोमा हिसाव खोजिन्छ। नेपालको ऋण तिर्न नसकेर आत्महत्या गर्नेको शवमा फूल चढाउन तछाड मछाड गर्नेले कहिलै बुझ्न खोजेनन् किन आत्महत्या गर्नेको संख्या बढ्यो।
पेपरका लागि भन्दै सस्तो कामदार राख्ने केही नेपाली व्यवसायीकै खर्चमा आएका नेताले यात नेपालीको पीडा सुन्न चाहेनन् यात उनीलाई यो समस्याका बारेमा जानकारी नै दिइएनन्। विडम्बना यही हो। युरोपको।
युरोप आउने नेतालाई अनुरोध। मलाई सम्झना छ। ३० मार्च २०१६ मा नेपालको परराष्ट्र मन्त्रालयले युरोपियन युनियनलाई नेपालको संविधान बारेमा गलत व्याख्या गरि विरोध नगर्न आग्रह गरेको थियो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मिलेर युनियनले संयुक्त विज्ञप्ति जारी गर्दै नेपालको संविधान अपूर्ण रहेको टिप्पणी गरेको थियो। यहाँनिर महत्वपूर्ण कुरा के छ भने युरोपमा रहेका नेपाली दूतावासले सम्बन्धीत देशको सरकारलाई नेपालको संविधानबारे स्पष्ट पार्न सकेनन् वा महत्व दिएनन्।
२ सय वर्ष लामो नेपालको कुटनीतिक सम्बन्धको लेवल के भइरहेको छ? कुटनीतिक स्टान्डर्ड कहाँ पुगेको छ कसैलाई चासो भएनन्।
राजनीतिक आडमा राजदूत भएकालाई अझ के को चासो? कुटनीतिक सम्बन्ध देशसँग मात्र होइन त्यहाँ बस्ने आफ्ना नागरिकको हक हितको लागि हुनुपर्छ।
युरोपमा बसेका नेपालीको सुरक्षाका लागि हाम्रा राजदुतले के गरेका छन्? तपाईँहरू युरोपको गल्लीमा भेटिने कुनै पनि नेपालीहरुलाई सोध्न सक्नुहुनेछ। राजनीतिक, सामाजिक, आर्थिक,जातीय रूपमा विभाजित युरोपको नेपाली समाजलाई एक सुत्रमा बाध्न तपाईँको भातृ संगठनमा रही गफ गर्ने नेताहरुले के पहल गरे?, त्यो सोध्न नबिर्सनुहोला।
तपाईँहरूसँग समुन्द्रमा गई सेल्फी खिच्ने आसेपासेलाई सोध्नु होला मानव तस्करी भइ युरोप आएका गरिबका छोराछोरीको बाच्न सक्ने रोजगारी दिलाउन के पहल भएको छ?
तपाईँलाई महंगो टिकट काटि महंगो ब्रान्डीसहित होटलको व्यवस्था गरिदिने इमान्दार कार्यकर्तालाई धक नमानी सोध्नुहोला खाना नपाएर युरोपको गल्लीमा भौतारिएका कति जना नेपालीलाई रोटी दिनुभयो?
अन्त्यमा, एक दशक लामो नेपालको पत्रकारिताको दौरानमा गगन थापा, दिनानाथ शर्मा, माधबकुमार नेपाल, मोहन वैद्य, बावुराम भट्टराई, प्रदिप पौडेल, विमलेन्द्र निधिलगायतका धेरै नेतासँग पटक पटक अन्तर्वार्ता भए। कयौं पटक प्रत्यक्ष सम्वाद भयो। देशको जटिल परिस्थितिको बारेमा गम्भीर बहस भए।
समयले मलाई यही युरोपको कुनै गल्लीमा भविश्य खोज्न डोहोर्यायो। देशमा दुःख पाएका, न्याय नपाएका, पीडित भएका, आवाज विहीनको पक्षमा तपाईँहरुसँग धेरै पल्ट सोधे। अब सोध्न मन लागेको छ- अरब, मलेसिया, कतार, युरोप, जापान, अमेरिका जहाँ भए पनि ज्यानको वाजी लगाएर आएका नेपालीको समस्यालाई कुटनीतिक तबरबाट समाधान गर्ने के पहल गर्नुभएको छ?