लेबनानकी ‘शक्तिशाली महिला’ लेफ्टिनेन्ट कर्णेल सुजेन हज होबेइसेले ट्वीट लाइक गरेकै कारण जागिर गुमाउनु परेको छ।
साइबर अपराध र बौद्धिक सम्पत्ति ब्यूरो प्रमुख सुजेनले साउदी अरेबियालाई व्यंग्य गरेको ट्वीट लाइक गरेकी समाचार संस्था अलअरेबियाले जनाएको छ। उक्त ट्वीट साउदीका महिलालाई गाडी चलाउन अनुमति दिनेसँग सम्बन्धित थियो।
लेबनानका चारबेल खलिलले साउदीमा महिलालाई गाडी चलाउन अनुमति दिने प्रक्रिया पूरा हुन नसकेको र उनीहरुलाई कहीँ कैद गरेर मात्र चलाउन अनुमति छ भन्ने भावको व्यंग्यात्मक ट्वीट गरेका थिए। अरबी भाषामा लेखिएको उक्त ट्वीट सुजेनले लाइक गरेकी थिइन्।
लेबनानकै सबभन्दा शक्तिशाली महिला मानिने लेफ्टिनेन्ट कर्णेल सुजेनलाई लेबनानीहरूले ट्वीट अनलाइक र एकाउन्ट डिएक्टिभेट गर्न भने। तर, एक ट्वीटर प्रयोगकर्ताले यसको स्क्रिन सट लिएर फैलाइसकेका थिए, जसकारण सुजेनले जागिर गुमाइन्।
लेबनानको स्थानीय पत्रिका अल नहरका अनुसार यो घटना उनका विरोधीहरुले गरेका हुन्। सन् २०१२ देखि नै सुजेन यो पदमा रहेकी र उनलाई त्यसमा रहेको हेर्न नचाहनेहरुले नकारात्मक सन्देश फैलाएका उक्त पत्रिकाले जनाएको छ।