महेशकुमार श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोलीले प्रधानमन्त्री सुशीला कार्कीसहित अर्थमन्त्री रामेश्वर खनाल तथा भौतिक पूर्वाधार, यातायात तथा उर्जा मन्त्री कुलमान घिसिङसँग भेटवार्ता गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार भएको भेटमा एनआरएनएको टोलीले अन्तरिम सरकारलाई बधाई तथा सफलताको शुभकामना व्यक्त गर्दै विभिन्न विषय समेटिएको ज्ञापन पत्र पनि बुझाएको हो ।
छलफलमा अध्यक्ष महेशकुमार श्रेष्ठले अहिले संघले हालै प्रदर्शनका क्रममा क्षतिग्रस्त ट्राफिक प्रहरीको कन्ट्रोल रुम पुनर्निर्माणमा काम गरिरहेको र थप अरू के गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिएका थिए ।
उक्त भेटमा प्रधानमन्त्री कार्कीले देश विकासमा एनआरएनहरूको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै अहिलेको कठिन परिस्थितिमा नेपालको पुनर्निर्माण मा सघाउन संसारभरिका नेपालीहरूलाई आग्रह गरिन्।
उनले नेपाल सरकार संघसंग सहकार्य गर्न तत्पर रहेको पनि बताइन्।
यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले गत भदौ २३–२४ मा जेन जीद्वारा आह्वान गरिएको आन्दोलनका क्रममा सरकारी तथा निजी संरचनाहरू ध्वस्त भएको बताउँदै अहिले तत्काल सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गर्ने मेसिन आवश्यक रहेको र त्यसका लागि सहयोग गर्न एनआरएनलाई आग्रह गरेका थिए।
अध्यक्ष श्रेष्ठले यस विषयमा कार्यसमितिको आगामी बैठकबाट निर्णय गर्ने बताएका थिए।
एनआरएनका पूर्व अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि आग्रह गर्दै सामाजिक सुरक्षा कोषको रकम देश विकासमा परिचालन गर्न आग्रह गरे।
उनले संसारभरिका एनआरएनहरू नेपालमा हालै भएको धनजनको क्षतिबाट दुखी भएको जनाउँदै पुनर्निर्माणमा हातेमालो गर्न तत्पर रहेको बताएका थिए।
उक्त भेटघाटमा एनआरएन अगुवाहरूले नेपालमा निजी क्षेत्र लगायत एनआरएनहरूको निजी सम्पत्ति तथा लगानीको सुरक्षा प्रत्याभूति गर्न पनि आग्रह गरेका थिए।